Comments Add Comment

नयाँ शक्तिदेखि पुराना पार्टीसम्मः थाहा नगरमा यस्ता छन् उम्मेदवार

५ बैशाख, हेटौडा । मकवानपुरको उत्तरी पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा चुनावी रौनक बढेको छ । २ वर्षअघि तत्कालीन दामन, पालुङ र बज्रबाराही गाविसलाई समेटेर नयाँ नगरपालिका घोषित भएको थाहामा पहिलो मेयर बन्न दौडधुप सुरु भइसकेको छ ।

३१ बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पुनर्संरचना अनुसार थाहामा आग्रा, चित्लाङ र टिष्टुङ थपिएपछि नगरको क्षेत्र वृहत भएको हो ।

थाहाको क्षेत्र बृहत भएसँगै सदाबहार होड गरेका दलदेखि आफ्नो एजेण्डा स्थापित गर्न साना दलका नेतासमेत चुनाव जित्न लागि परेका छन् ।

पर्यटकीय विकासका लागि सरकारले एक सहर, एक गन्तव्यको योजनामा समावेश गरेको थाहामा चुनाव नजिकिँदै गर्दा काँग्रेस, एमाले र माओवादीको चर्चा बढ्दै गएको छ ।

आफ्नो दलको उमेदवारलाई पहिलो मयेर र उपमेयरमा जिताउन केन्द्रमा पहुँच भएका नेता देखि हेटौंडा उपमहानगरपालिमा आकांक्षा राखेका नेतासम्म जुटिरहेका छन् ।

हालसम्मको अवस्था हेर्दा थाहामा एमाले र माओवादी बलियो देखिएको छ । सांगठनिक विस्तारमा थाहालाई केन्द्रमा राखेको एमाले थाहामा मेयर/उपमयेर दुबै जित्नेमा विश्वस्त छ । पार्टी एकिकरण अघि जनमोर्चाको पक्कड क्षेत्र रहेको थाहामा माओवादीले पनि रणनीतिक उपायहरु अबलम्बन गरिएको छ । पार्टी एकिकरण हुँदा जनमोर्चा मिसिएपछि माओवादी पनि मेयर जित्ने दाउमा छ ।

दोस्रो संविधानसभामा काँग्रेसका उमेदवार जयराम लामिछानेले उक्त क्षेत्रमा प्राप्त गरेको मतको आधारमा काँग्रेसले पनि बलियो देखिन्छ ।

हेटौंडामा बलियो दाबेदार देखिए पनि थाहामा राप्रपा कमजोर छ । राप्रपाको सांगठनिक विस्तार कमजोर हुँदा चुनावमा असर पर्न सक्ने नेताहरुले आँकलन गरेका छन् ।

काँग्रेसको तर्फबाट थाहा नगरको मेयरका लागि धेरैले दाबेदारी गरिरहेका छन् । काँग्रेसमा हालसम्म जयराम लामिछाने, खड्ग गोपाली, भरत लामा, भीमबहादुर भोम्जन र इश्वर पौडेलको बढी चर्चा छ । आकांक्षीहरु मध्ये जयराम लामिछाने र खड्ग गोपालीलाई बलियो दाबेदारको रुपमा हेरिएको छ ।

०७० को संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. २ का उमेदवार लामिछानेले तेस्रो स्थानमा चित्त बुझाएका थिए । नेपाल निर्माण व्यवसायी महासंघको निवर्तमान अध्यक्षसमेत रहेका उनी थाहाको परिचित व्यक्ति हुन् । निर्माण व्यवसायी संघ मकवानपुरको पूर्वअध्यक्ष समेत रहेका निर्माण व्यवसायी गोपाली पनि मेयरका लागि बलिया दाबेदारकै रुपमा चिनिएको छ ।

थाहा नगर विकास समितिको अध्यक्ष भइसकेका उनी चुनावी मैदान होमिन तयार रहेको बताउँछन् । आकांक्षी मध्ये लामा महाधिवेशन प्रतिनिधी, भोम्जन जिल्ला कमिटी सदस्य र पौडेल नगर विकासको बर्तमान अध्यक्ष हुन् ।

एमालेमा पाँचजना आकांक्षी

नेकपा एमालेमा थाहाको मेयरका लागि विष्णु ढकाल, अच्यूत ढकाल, केदार बल, राजु नापित र बिष्णुहरि ढकालको नाम चर्चामा छ । आकाँक्षी मध्ये ढकालको सम्भावना बढी रहेको जिल्ला नेताहरु बताउँछन् ।

थाहाको पुरानो स्थानीय बासिन्दा बिष्णु ढकाल लामो समयदेखि थाहामै रहेर पार्टीमा आबद्ध भएका छन् । हाल जिल्ला सदस्य समेत रहेको बिष्णु ढकाल स्थानीय जनतामाझ परिचित छन् । अर्का आकांक्षी बलामी नगर कमिटी सदस्य हुन् । मेयरका लागि आकाँक्षा राखेका मास्के जिल्ला सल्लाहकार हुन् ।

माओवादीबाट ३ जनाको चर्चा

नेकपा माओवादी केन्द्रबाट हालसम्म ३ जनाको नाम बढी चर्चामा छ । हेटौंडा उपमहानगर भन्दा थाहामा बलियो देखिएको माओवादीमा बिष्णु विष्ट, लवसेर विष्ट र अरुण रायमाझीले आकाँक्षा राखेका छन् ।

आकाँक्षी मध्ये बिष्णु पार्टीको केन्द्रीय सदस्य हुन् । स्थानीय क्षेत्रमा चहलपहल बढाइरहेका बिष्णु जनतामाझ परिचित व्यक्ति हुन् ।

कवानपुर उद्योग वाणिज्य संघको उपाध्यक्षसमेत रहेका लवसेर निर्माण व्यवसायी हुन् । पार्टीमा त्यति सक्रिय नभए पनि लवसेर पनि थाहा नगरबासीमाझ परिचित व्यक्ति हुन् । यस क्षेत्रमा दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पराजित भएका थिए ।

राप्रपामा कम आकांक्षी

राष्ट्रिय प्रजातन्त्र पार्टीमा हालसम्म दुई जना मात्रै आकांक्षा राखेका छन् । पार्टीको जिल्ला स्रोतले जनाए अुसार राप्रपामा हरेराम कार्की र शम्भुभक्त श्रेष्ठको नाम बढी चर्चामा छ ।

पार्टीको नगर अध्यक्ष समेत रहेका कार्की जिल्लाको राजनीतिमा सक्रिय व्यक्ति हुन् । पार्टीमा सक्रिय रहेका श्रेष्ठको पनि टिकट पाउने सम्भावना उत्तिकै रहेको पार्टीका नेताहरु बताउँ छन् । राप्रपाका जिल्ला नेताहरुका अनुसार हेटौंडाका आकाँक्षी सबै बलिया भएकोले उपमहानगरको मेयरमा सहमति भएपछि थाहाको सहजै टुङ्ग्याउने गृहकार्य भइ रहेको छ ।

नयाँ शक्तिबाट रायमाझी

नयाँ शक्तिले थाहा नगरपालिकामा ज्योति रायमाझीलाई उमेदवारको रुपमा अगाडि सारेको छ । नयाँ शक्तिले जनमोर्चाका पुराना नेता तथा माओवादीबाट नयाँ शक्तिमा आएका रायमाझीलाई उमेदवारको रुपमा अगाडि सार्न लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment