१८ अप्रिल, क्यानवेरा । अष्ट्रेलियाले दक्ष बिदेशी कामदारका लागि दिँदै आएको अस्थायी प्रकृतिको भिसा ४५७ लाई बन्द गर्ने घोषणा गरेको छ । अष्ट्रेलियाका प्रधनमन्त्री माल्कम टर्नबुलले मुलुकमा बिद्यमान बेरोजगारी समस्या समाधानका लागि ‘विवादास्पद ४५७ भिसा कार्यक्रम’ रद्ध गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री टर्नबुलले भनेका छन् कि बिदेशी कामदारलाई नियुक्त गर्नुअघि अष्ट्रेलियालीलाई प्राथमिकतामा राख्नुपर्छ । प्रधानमन्त्रीले स्थानीय स्तरमा रोजगारीको अवसर सृजनागर्नेतर्फ केन्द्रित रहनुपर्ने बताएका छन् ।
‘अष्ट्रेलिया आप्रवासीहरुको मुलुक हो र सधैं रहनेछ, तर हामीले राष्ट्रिय स्वार्थ अनुसारको आप्रवासी नीति बनाउनु आवश्यक छ ।’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री टर्नबुलले भने ।
‘यो निर्णय अष्ट्रेलियाली नागरिकहरुका लागि हो । यसले के देखाउँछ भने अष्ट्रेलियाको रोजगारी अवसरमा अष्ट्रेलियालीहरु पुर्ति गरिनेछ ।’ उनले थपे ।
सन् २०१६ को सेप्टेम्बरसम्म ४५७ भिसामा अष्ट्रेलियामा रहेका आप्रवासीको संख्या ९५ हजार ७५७ छ ।
अष्ट्रेलियाली सरकारको यो घोषणाले दक्ष कामदारको रूपमा यहाँ रहेका नेपालीहरू पनि प्रभावित हुनेछन् ।

कडा नयाँ भिषा नीति ल्याइने
प्रधानमन्त्री टर्नबुलले ४५७ भिषालार्इ प्रतिस्थापन गर्नेगरी नयाँ ब्यबसायिक भिषा नीति ल्याइने बताएका छन् । प्रधानमन्त्रीका अनुसार नयाँ वर्कर भिसा कार्यक्रम बिशिष्टि खालको हुने छ । जुनजुन सेक्टरलार्इ बिदेशी कामदार नभइ नहुने हो त्यसलार्इ मात्र लक्षित गरी कामदार भिसा नीति ल्याइने छ । नयाँ नीतिले ४५७ भिसाको दुरूपयोग रोक्ने तथा अँग्रेजी भाषा सर्तलार्इ समेत अझै कडाइ गर्ने बताइएको छ ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री टर्नबुलले भने, ‘उद्योगहरुको विकास र विस्तारका लागि दक्ष कामदार आवश्यक हुन्छ । त्यसैले ४५७ भिसालाई नयाँ अस्थाई भिसाले प्रतिस्थापन गरिनेछ, जुन राष्ट्रिय हित अनुकुल हुने गरी उत्कृष्ट जनशक्ति भर्ती गर्नका लागि विशेषरुपमा डिजाइन गरिएको हुनेछ ।’
‘अहिले रोजगारदाताहरु स्वदेशी कामदारलाई भन्दा विदेशीलाई काममा लगाउन सजिलो मान्छन् । तर नयाँ भिसा आएपछि अति आवश्यक ठाउँमा मात्रै विदेशी कामदारहरु राख्न सकिने परिस्थिति निर्माण हुनेछ ।’ उनले थपे ।
‘पेशाको सुची छोट्याएर दुई वर्षका लागि भिसा दिइनेछ,’ प्रधानमन्त्रीले भने । अहिलेको सुचीबाट २०० भन्दा बढि पेशा कटौति हुने उनले बताए ।
४५७ लार्इ रिप्लेस गर्न ल्याइने भिषा दुर्इखालको हुने डेली टेलिग्राफले जनाएको छ । एउटा दुर्इ बर्षे र अर्को चार बर्षे भिषा क्याटगोरी लागू गरिने छ । दुर्इ बर्ष काम गरेको अनुभव भएका बिदेशी मात्र यो भिसा अाबेदनका लागि योग्य मानिनेछन् ।
नयाँ चार वर्षको भिसाका लागि २ हजार ४ सय डलर तिर्नुपर्नेछ जबकि अहिले आवेदन शुल्क १ हजार ८ सय १० डलर मात्र छ । दुई वर्षको भिसाको लागि भने १ हजार १ सय ५० डलर शुल्क तोकिएको छ ।
नर्स लगायतका दक्ष जनशक्ति अष्ट्रेलियामै उपलब्ध भए पनि ४५७ को प्रयोग गरी बिदेशी नर्स ल्याइएको भन्दै यसलार्इ राजनीतिक मुद्दा बनाइएको थियो । नयाँ घोषणा अगावै टर्नबुल सरकारले ४५७ भिसा स्वीकृति दरलाई कम गरिसकेको थियो । केही महिना पहिले फास्टफुडलाई दिइने ४५७ भिषा पनि कडाई सुरु गरिएको थियो ।
प्रतिक्रिया 4