+
+
Shares

सेयर बजारका लगानीकर्तामा ‘अन्योल’, बजार ३ प्रतिशतले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ६ गते १५:५७


६ बैशाख, काठमाडौं । दुई दिन लगातार घटेको सेयर बजारमा तेस्रो दिन नै ३ प्रतिशतको सुधार देखिएको छ । प्रमुख पाँच राजनीतिक दलहरु स्थानीय चुनाव गराउन कटिबद्ध रहेको खबर नै बजार वृद्धिको कारणको रुपमा देखिएको सेयर ब्रोकर सन्तोष मैनाली बताउछन् ।

‘राजनीतिक गतिविधिले नै बजारलाई डोर्याएको देखिएको छ, अहिले बजारका धेरै जसो लगानीकर्ताको मनोभाव हेर्दा उनीहरु अन्योलमा रहेको देखिएको छ,’ मैनालीले भने । बजार केही बढ्ने वित्तिकै किन्न थाल्ने र घट्न थाल्ने वित्तिकै बेच्ने लहर आउने गरेको अनुभव मैनालीको छ ।

बजारमा अल्पकालिन नाफाको लागि सट्टेवाजको रुपमा ‘खेल्ने’ प्रवृत्ति बढेको पनि यसलाई मान्न सकिने ब्रोकरहरुको भनाई छ ।  बुधवार वाणिज्य बैंकहरु मध्येबाट तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेको एनआइसी एसियाले पनि केही प्रभाव छाडेको छ । कर्जा योग्य लगानीको अभाव व्यहोरेको तेस्रो त्रैमाशमा पनि बैंकहरुको नाफामा उच्च वृद्धि देखिएपछि लगानीकर्ताहरु हौसिएका छन् । अन्य बैंकहरुको पनि नाफामा उच्च वृद्धि रहेको खबरहरु बजारमा सल्बलाउन थालेका छन् ।

यी कारण बैंकहरुको सामान्य बचतमा बढेको ब्याजदरले बजारमा देखिन सक्ने नकारात्मक असर तत्काललाई भने ओझेलमा पारेको छ । यता, बैंकहरुले कर्जाको ब्याजदरमा पनि वृद्धि गरेका छन् ।

बैंकहरुले कर्जा लगानी गर्न आधार लिने बेस रेट (आधार दर) बढिरहेको छ । ३ महिनाको अवधिमा एनआइसी एशियाको लगभग ३ प्रतिशतले नै बेस रेट वृद्धि भएर १० प्रतिशत पुगेकोे देखिन्छ । नयाँ ब्याजदर सार्वजनिक गरेका धेरैजसो वाणिज्य बैंकहरुले आफ्ना विशेष ग्राहकलाई समेत सेयरको धितोमा दिने कर्जाको ब्याज दर १३ प्रतिशत तोकेका छन् भने सर्वसाधारण ग्राहकले १५ प्रतिशत हाराहारी तिर्नुपर्ने अवस्था देखिएको छ । तर, बजारमा तत्काललाई भने यसको प्रभाव गौण नै देखिएको छ ।

अन्य संस्था मर्जर तथा एक्विजिशन गर्ने जानकारी गराएसँगै घटेको एभरेष्ट बैंकको सेयर मूल्यमा पनि ८० रुपैयाँको वृद्धि देखिएको छ । बैंकबाट बोनस र हकप्रद सेयर नपाइने सम्भावना  देखिएपछि मूल्य घट्ने क्रममा रहेको भएपनि बुधबार समग्र बजारमा भएको वृद्धिले बैंकको मूल्यमा पनि वृद्धि गराएको छ । बैंकले ७०/८० करोड रुपैयाँको संस्था मर्ज गर्ने पक्कापक्की भएको खबर बजारमा फैलिएपछि मूल्य बढेको हुनसक्ने देखिन्छ । ३३.३३ प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डमा दर्ता गरिसकेको बैंकले यही उक संस्था मर्ज गरेमा हकप्रद दिएर पनि चुक्तापुँजी ७ अर्ब हाराहारीमा मात्र पुग्ने भएकोले ८ अर्ब पुँजी पुर्याउन केही न केही लाभांश पाइने आशा लगानीकर्तामा बढेको छ ।

यता, तीन बर्षको एकैपटक लाभांश घोषणा गरेको राष्ट्रिय बीमा कम्पनीको कारोबार बढेको छ । प्रतिकित्ता २० हजार रुपैयाँ नाघेको कम्पनीको कुल ५ करोड रुपैयाँको सेयर किनबेच भयो ।

बुधवार नेप्से परिसूचक ५० अंकले बढेर १६६२ मा ‘बाउन्स ब्याक’ भएको छ । नेपाल टेलिकम सूचीकृत ‘अन्य’ समूहको परिसूचक बाहेक सबै समूहमा वृद्धि देखिएको छ । यस दिन १ अर्ब ७ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?