११ बैशाख, काठमाडौं । सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदको आजको बैठकमा पेस गर्ने तयारी गरेको छ ।
यसअघि नै संसद् सचिवालयमा दर्ता भएको संशोधन विधेयकलाई सरकारले मधेसकेन्दि्रत दलसँग नयाँ समझदारी बनेपछि पेस गर्ने तयारी गरेको हो ।
सरकारले आइतबार पुरानै संशोधन विधेयकलाई पेस गर्ने योजना बनाएको भए पनि तयारी पूरा नभएपछि रोकिएको थियो । सोमबार अपराहृनका लागि तय गरिएको संसद् बैठकमा पुरानै संशोधन विधेयक पेस हुनेछ । यद्यपि सचिवालयको कार्यसूचीमा अहिलेसम्म नआएको स्रोतले जनाएको छ ।
सरकारले संविधान संशोधन प्रक्रियामा लाग्ने समय बचत गर्न पुरानो विधेयक संसदमा पेस गर्ने र प्रक्रियामा प्रवेश गराएर राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धनसँग भएको सहमतिअनुरुपको परिमार्जन गर्ने योजना बनाएको छ ।
सत्तारुढ दल तथा राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धनसँगको सहमतिअनुसार नयाँ विधेयक ल्याउँदा संविधान संशोधनको प्रक्रिया पाँच दिन लम्बिने संवैधानिक बाध्यताका कारण यसअघि कै विधेयक सदनमा पेस गर्ने लागिएको जानकारी सरकारले संसद सचिवालयलाई दिएको छ । संसद नियमावलीमा कुनै पनि विधेयक सदनमा पेस गर्नु ५ दिन अघि संसद सचिवालयमा दर्ता गराउनुपर्ने व्यवस्था छ ।
यसअघि सरकारले संसदमा पेस गरेको संविधान संशोधन विधेयक स्वयं मधेसी दलको असन्तुष्टि र प्रमुख विपक्षी दल एमालेसहितको विरोधका कारण अघि बढ्न सकेको थिएन ।
सरकार र मधेसी मोर्चाबीच नयाँ सहमति बनेपछि सरकारले फेरि पुरानो विधेयक अघि बढाउने तयारी गरेको हो । सरकारले विधेयक अघि बढाउने तयारी गरे पनि एमालेलगायतका दल संशोधनको विपक्षमा देखिएकाले अनुमोदन अन्योल छ ।
विधेयकको पक्षमा दुई तिहाई जुटाउन सरकारले प्रयास गरिरहेको छ । विधेयक फास्ट ट्रयाकबाट पारित गरिने कानुनमन्त्री अजयशंकर नायकले बताए ।
प्रतिक्रिया 4