Comments Add Comment

कांग्रेसलाई भरतपुर महानगरको मेयर छान्न महाभारत, ३४ आकांक्षी केन्द्रमा सिफारिस 

११ बैशाख, चितवन । नेपाली कांग्रेस चितवनलाई भरतपुर महानगरपालिकाको मेयरको नाम छनौट गर्न महाभारत भएको छ । पार्टीबाट महानगरको मेयरमा झण्डै ३ दर्जन व्यक्तिहरुले आकांक्षा राखेपछि त्यसलाई ‘सर्ट लिस्टिङ’ गरेर केन्द्र पठाउन कांग्रेस चितवन असफल भएको छ ।

पार्टीभित्र उम्मेदवार चयनका बिषयमा तीब्र विवाद भएपछि क्षेत्रीय कमिटी मार्फत सिफारिस भएर आएका ३४ जना मेयरका आकांक्षी र १५ जना उपमेयरका आकांक्षीहरु सबैको नाम नै केन्द्रमा पठाउने निर्णय भएको पार्टी सचिव उत्तम जोशीले जानकारी दिए ।

‘हामीले जिल्लाबाट नै ‘सर्ट लिस्ट’ बनाएर केन्द्रमा पठाउने तयारी गरेका थियौं तर आकांक्षीहरूको तीब्र दवाव र बिवाद आउने देखिएपछि केन्द्रमा सबै नाम पठाउने निर्णय गर्‍यौं,’ जोशीले भने ।

कांग्रेस चितवनका अर्का एक नेताले कांग्रेस ठूलो पार्टी भएकाले यस्तो हुनु स्वाभाविक भएको प्रतिक्रिया दिए । उनले भने, ‘केही व्यक्तिको नाम मात्रै सिफारिस गर्दा त्यसभित्र नपर्ने व्यक्तिहरूले पख्लास् भनेर इगो लिने अवस्था आयो । त्यसैले माथि नै पठाइदिएपछि ढुक्क भयो । कांग्रेस ठूलो पार्टी हो यस्तो भइरहन्छ ।’

भरतपुरमा को-को छन् आकांक्षी ?

कांग्रेसबाट चितवन भरपुरको मेयरका लागि प्रा. डा. सूर्यकान्त घिमिरे, शंकर कँडेल, डा. ईश्वरीराज लौडारी, राजेन्द्र डोटेल, उद्धव लोहनी, ऋषिराज पाण्डे, बेलबहादुर गुरुङ, मिलनबाबु श्रेष्ठ, केशवराज कँडेलले जिल्ला पार्टीमा निवेदन दर्ता गराएका छन् । यसैगरी विजय भुसाल, टेकप्रसाद गुरुङ, जगनाथ पौडेल, कैलाश कोइराला, महेन्द्र श्रेष्ठ, टीकाराम न्यौपाने, उत्तम जोशी, दीर्घमान श्रेष्ठ, प्रकाश अधिकारी, बलराम पौडेल, सुबोध प्रधान, दिनेश कोइराला, भरत गरूङले पनि निवेदन दर्ता गराएका छन् । उनीहरु कोही पनि टसमस हुन मानेका छैनन् ।

यसैगरी उपमेयरमा १५ जनाले नाम दर्ता गराएका छन् । उपमेयरमा बिनु रायमाझी, सरिता केसी, पार्वती शाह, गीता गुरुङ, इन्दिराकुमारी सडौला, शान्ति परियार, रामकुमार श्रेष्ठ, भृकुटी पौडेल, पार्वती न्यौपाने र रेखा पोखरेलले निवेदन दर्ता गराएका छन् ।

प्रकाशशरणको पनि केही लागेन

भरतपुर महानगरको मेयर र उपमेयरका आकांक्षी बढी भएर उम्मेदवार छनौट गर्न मुस्किल भएपछि त्यसलाई सहजीकरण गर्न आएका कांग्रेसका नेता एवम् परराष्ट्रमन्त्री प्रकाशशरण महत पनि असफल भएर काठमाडौं फर्किएका छन् । महतले मेयर र उपमेयरको उम्मेदवार टुंग्याउने विषयमा चितवनका नेताहरुसँग बैठक राखेका थिए । पटक-पटक बैठक बसेर उम्मेदवार टुंग्याउन दबाव दिएपनि उनी असफल भए । शनिवार चितवन आएका महतले हिजो दिनभर प्रयास गरेका थिए ।

आकांक्षीको नाम ‘सर्टलिस्टिङ’ गर्न भगिरथ प्रयास गरेपनि असफल भएपछि नेता महत काठमाडौं फर्किएको कांग्रेस चितवनका जिल्ला उपसभापति कैलाश कोइरालाले बताए ।

रत्ननगर र खैरहनीबाट पाँच-पाँच जना सिफारिस

चितवनको दोस्रो ठूलो नगरपालिका रत्ननगरमा पनि कांग्रेस भित्र उत्तिकै किचलो छ । कांग्रेस रत्ननगर क्षेत्रीय समितिले मेयरको लागि पाँच जनाको नाम जिल्ला समितिमा सिफारिस गरेको छ । सिफारिस हुनेहरुमा रुपनराज घिमिरे, माधव अर्याल, सूर्य अर्याल, हरिभक्त घिमिरे र भरत खनाल रहेका छन् ।

रत्ननगरको उपमेयरमा विनिता पौडेल, निता ढकाल, सरस्वती पौडेल, शिला आचार्य र पम्फा भुसालको नाम सिफारिस भएको छ ।

त्यस्तै, कांग्रेसबाट खैरहनी नगरपालिकाको मेयरमा कुमार कार्की, शशी खनिया, महेन्द्रप्रसाद सुवेदी, अमृत मैनाली र राजेन्द्र चौधरीको नाम जिल्ला समितिमा सिफारिस भएको छ ।

आकांक्षी धेरै भएपछि खैरहनी र रत्ननगरमा पनि उम्मेदवारी टुंग्याउन नसकिएको उपसभापति कैलाश कोइरालाले जानकारी दिए ।

माडीमा खेम महतो र राप्तीमा किरणभुषण सिफारिस

कांग्रेसले माडी नगरपालिकाको मेयरमा खेम महतो र उपमेयरमा शिवमाया भट्टराईलाई उम्मेदवार बनाएको छ ।

राप्ती नगरपालिकामा किरणभुषण ओलीलाई मेयर र अनिता मैनालीलाई उपमेयर उम्मेदवार घोषणा गरेको छ । एकमात्र इच्छाकामना गाउँपालिकामा गीता गुरूङलाई उम्मेदवार बनाइएको छ ।

एमाले र माओवादीले भरतपुर महानगरको मेयर र उपमेयरको नाम छनौट गरी केन्द्रमा सिफारिस गरेर पठाइसकेका छन् । एमालेले विजय सुवेदी, देवी ज्ञवाली र केशवलाल श्रेष्ठ तथा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहालको नाम मेयरका लागि जिल्लाबाट सिफारिस गरेको छ ।

यो पनि पढ्नुहोस् 

भरतपुर महानगरको मेयरमा प्रचण्डपुत्री रेणु दाहालको उम्मेदवारी

भरतपुर महानगरको मेयरमा एमालेले सिफारिस गर्‍यो तीन उम्मेदवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment