Comments Add Comment

कांग्रेसको उम्मेदवार छनोट समितिबाट महाधिवेशन प्रतिनिधि हटाइयो

पुरानै सर्कुलर अनुसार उम्मेदवार छान्न निर्देशन

१२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवार सिफारिस समिति संशोधन गरेको छ । संशोधित समितिमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु राखिएको छैन ।

मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले उम्मेदवार सिफारिस समिति संशोधन गर्दै पुरानै सर्कुलर अनुसार सिफारिस गर्न परिपत्र गर्ने निर्णय गरेको छ ।

यसअघि कांग्रेसको उम्मेदवार सिफारिस समिति जम्बो आकारको थियो । समिति ठूलो हुँदा बिभिन्न मतहरु आउने हुँदा उम्मेदवार सिफारिस गर्न गाह्रो भएकाले संशोधनको माग उठेको थियो ।

बैठकपछि कांग्रेस महामन्त्री शशांक कोइरालाले भने, ‘आउँदो चुनावलाई मध्यनजर गरेर हामीले जिल्ला जिल्लामा पत्राचार गरेका थियौं, त्यसमा संशोधन गरेर पठाउने कुरा भयो ।’

उम्मेदवार सिफारिस सम्बन्धमा कांग्रेसले दुईवटा सर्कुलर पठाएको थियो । पहिलो सर्कुलरमा महासमिति सदस्य र  महाधिवेशन प्रतिनिधिहरु थिएनन् । तर, पछि दोस्रोपटक पठाइएको नयाँ सर्कुलरमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु समेत थपिएको थियो ।

नयाँ समितिमा क्षेत्रीय सभापति, क्षेत्रीय सभापतिको निकटतम प्रतिद्वन्द्वी जिल्ला सभापति, जिल्ला सभापतिको निर्वाचनका निकटतम प्रतिद्वन्द्वी, जिल्ला कार्यसमितिका सबै सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधि, सांसदहरु र सांसदका उम्मेदवारहरु समेत थिए ।

‘नयाँ समिति जम्बो आकारको भएकाले संशोधनको माग उठेको थियो,’ कांग्रेस नेता प्रकाशमान सिंहले भने, ‘अब पुरानै समितिअनुसार गर्न भनिएको छ ।’

स्थानीय नेतालाई राहत

पार्टीले पुरानो सर्कुलरअनुसार उम्मेदवार छनोट गर्न भनेपछि सिफारिस समितिबाट १०-१२ जना सदस्यहरु घट्छन् । यसो हुँदा स्थानीय स्तरमा क्रियाशील नेताहरूलाई निर्णय गर्न सहज हुने विश्वास गरिएको छ ।

दाङ क्षेत्रनम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद राजु खनालले भने, ‘पहिले समिति महाजम्बो हुँदा हैरान भएको थियो । उम्मेदवारका आकांक्षी नै सिफारिस समितिमा थिए । आफू-आफूमै लडाई हुने स्थिति थियो । अब भने अलि सजिलो हुन्छ होला ।’

नयाँ सिफारिस समिति जम्बो आकारको हुँदा कांग्रेसले अधिकांश स्थानमा उम्मेदवार छनोट गर्न सकेको छैन । कतिपय जिल्लाहरुले भने नयाँ समितिबाट उम्मेदवार छनोट गरेर पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment