जागिर खोसिएपछि धेरै मानिसहरु निराश हुन्छन् । तर माइकल ब्लुम्बर्ग भएनन् । बरु उनले आफ्नै व्यवसाय सुरु गरे र अहिले विश्वकै दशौं धनाढ्यका रुपमा स्थापित छन् ।
ब्लुमबर्गले सन् १९८१ मा सालोमन ब्रदर्श सेक्युरिटिजको जागिर गुमाएका थिए । फिर्बाे कर्पाेरेसनले सालोमन ब्रदर्श सेक्युरिटिज खरिद गरेपछि उनको जागिर खुस्किएको थियो । त्यसपछि उनी अरु साथीहरु जस्तो नयाँ जागिरको खोजीमा भौतारिएर हिँडेनन् ।
जागिरबाट हटाइँदा उनलाई १ करोड अमेरीकी डलर उपदान प्राप्त भएको थियो । सो रकमलाई सदुपयोग गर्दै उनले सन् १९८१ मा ब्लुमबर्ग एलपि कम्पनी स्थापना गरे र आइटीसम्वन्धि आफ्नो सीपलाई त्यसमा खन्याए । त्यही कम्पनीले अन्ततः उनलाई बिश्वकै दशौ धनाढ्यको रुपमा स्थापित गरिदिएको छ ।
उनले आफ्ना साथी थोमस सेकुन्डा, डन्कान म्याक मिलन र चाल्र्स जेगारको सहयोगमा ब्लुमबर्ग खोलेका थिए । एउटा कोठाबाट उनले आफ्नो व्यवसाय सुरु गरेका थिए । स्टकमा लगानी गर्नेहरुका लागि सुचना दिनेगरी खोलिएको उनको ब्लुमबर्ग एलपीमा अहिले १५ हजार मानिसले काम गर्छन् । यसका अहिले ७३ वटा देशमा शाखा कार्यालयहरु रहेका छन् । ब्लुमबर्ग कम्पनीले बित्तीय सेवाका साथै सफ्टवेयरको समेत निर्माण गर्दछ ।
ब्लुमबर्गमा उनको अहिले ८८ प्रतिशत हिस्सा छ, जसको मूल्यांकन ४५ बिलियन अमेरकी डलर गरिएको छ ।
१९८१ तिर नै उनले ब्लुमबर्ग न्युजको सुरुवात गरे । सुरु गरेको दोस्रो वर्षमै उनको साइटमा १ लाख ५० हजार मानिसले सब्स्क्राइब गरे ।
तीन पटक मेयर
सन् २००१ सम्म उनी आफ्नो कम्पनीका सिइओ नै थिए । तर, पछि उनले सिइओ पदबाट राजीनामा दिएर राजनीतिमा लागे ।
राजनीतिक यात्राका सुरुवातमा उनले रिपब्लिकन पार्टिलाई समर्थन गरेका थिए । त्यसपछि उनी सन् २००२ को जनवरीमा न्युयोर्कको मेयरको रुपमा निर्वाचित भएका थिए ।
सन् २००५ मा उनी पुन मेयरको रुपमा निर्वाचित भए । दोस्रो पटक मेयरमा निर्वाचित भएपछि भने उनको पार्टीसँगको सम्बन्ध बिग्रदै गयो । जसका कारण उनले सन् २००८ मा रिपब्लिकन पार्टी नै छोडे । तर उनले राजनीति भने त्यागेनन् । उनले स्वतन्त्र उमेदवारको रुपमा मेयरमा पुनः उम्मेदवारी घोषणा गरे । सन् २००९ मा उनी स्वतन्त्र उम्मेदवारीबाटै फेरि मेयरमा बिजयी बने ।
उनले आफ्नो मेयरको तीन कार्यकालमा थप्रै राम्रा काम गरे । पब्लिक स्कुलको बिग्रँदै गरेको शिक्षामा उनले सुधार ल्याउन ठूलो प्रयास गरे र सफल पनि बने । साथै आर्थिक बृद्धि, औद्योगिक उत्पादनमा बृद्धिका साथै रोजगारी सिर्जनामा समेत उनी सफल बने ।
पुराना उद्योग र साना उद्योगलाई सहयोग गर्दै उनले तिनीहरुको आर्थिक स्थितिमा समेत सुधार ल्याउन पहल गरेका थिए ।
टिकेन वैवाहिक जीवन
ब्लुमबर्ग मध्यमस्तरीय परिवारमा जन्मेका हुन् । सन् १९४२ को फेबु्रअरी १४ मा ब्राइटनको इलिजाबेथ हस्पिटलमा जन्मेका ब्लुमबर्गका बुवा विलियम हेनरी ब्लुमबर्गले डेरीमा हिसाबकिताब राख्ने जागिर गर्थे । उनका बाजे भने रसियाबाट अमेरिका गएका थिए ।
ब्लुमबर्गले सन १९७५ मा सुसन ब्राउनसँग बिहे गरे । उनीहरुले इम्मा र जर्जिना गरि दुई छोरीलाई जन्म दिएका थिए । तर उनीहरुको बैबाहिक जीवन लामो समय टिकेन । १९९३ मा ब्लुमबर्गले सुसनसँग डिभोर्स गरे । अहिले उनी आफ्ना पार्टनर डायना टेलरसंग बस्छन् ।