१७ बैशाख, झापा । २ दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा झापाको कनकाई नगरपालिकाका दुई वडामा बाबुछोरी वडाध्यक्षका उम्मेदवार भएका छन् ।
नेकपा माओवादी केन्द्रले कनकाईका वडा नम्बर ३ र ४ मा बाबु छोरीलाई वडाध्यक्षको उम्मेदवार बनाएको हो ।
नगरपालिकाको वडा नं. ३ मा अम्बिका चापागाईं (सुवेदी) र वडा नं. ४ मा उनका पिता गोविन्दप्रसाद चापागाईंलाई वडाअध्यक्षको उम्मेदवार बनाइएको माओवादी केन्द्रका नगर ईञ्चार्ज गोपाल प्रसाईंले बताए ।
अर्को रोचक कुरा के छ भने गोविन्द २०५४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि सोही वडाबाट अध्यक्षमा निर्वाचित भएका थिए । त्यतिबेला एमालेबाट चुनाव जितेका उनी शान्ति प्रक्रिया सुरु भएपछि माअेावादीमा प्रबेश गरेका थिए ।
यता छोरी अम्बिका माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारीकी नगर उपाध्यक्ष हुन् । साथै, उनी अन्य विभिन्न संघसंस्थामा पनि आबद्ध छिन् ।
कनकाईको कुन वडामा को ?
माओवादीले कनकाई नगरको ८ वटा वडामा उम्मेदवार टुंगो लगाएको छ ।
पार्टीका अनुसार वडा नं. १ मा हरी राउत, ३ मा अम्बिका चापागाईं (सुवेदी), ४ मा गोविन्द चापागाईं, ५ मा प्रेमप्रसाद ओली, ६ मा दीर्घबहादुर थापा, ७ मा चन्द्रमान कन्दङ्वा, ८ मा युवराज मैनाली र वडा नं. ९ मा अजित कायस्थलाई वडाध्यक्ष पदमा उठाउने निर्णय भएको छ ।
वडा नं. २ मा भने छिटै उम्मेदवार टुंगो लगाइने बताइएको छ ।
मेयरमा घिमिरे र उपमेयरमा अधिकारीको चर्चा
माओवादी केन्द्रबाट कनकाई नगरमा मेयरका लागि कृष्ण घिमिरे र उपमेयरका लागि शान्ता अधिकारी झाको नाम चर्चामा छ । उनीहरु मेयर र उमेयरको उम्मेदवारका रुपमा लगभग निश्चित भएको पार्टी स्रोतले जनायो ।
घिमिरे पूर्व शिक्षक हुन् भने अधिकारी अनेमसंघ क्रान्तिकारीकी नगर अध्यक्ष हुन् ।
प्रतिक्रिया 4