Comments Add Comment

प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगमा प्रयोग भएको सांसदको हस्ताक्षर कीर्ते !

माओवादीकै सांसद भन्छन्- माओवादीले फेरि कीर्ते गर्‍यो

१७ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा प्रयोग भएको सांसदहरुको हस्ताक्षर ‘कीर्ते’ भएको पाइएको छ ।

प्रधानन्यायाधीश कार्कीविरुद्ध आइतबार सत्तारुढ माओवादी केन्द्र र कांग्रेसका २५९ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएको छ । महाअभियोग प्रस्तावको प्रस्तावक कांग्रेस नेता मीन विश्वकर्मा छन् भने समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत छन् ।

हस्ताक्षरकर्तालाई नै थाहा छैन

महाअभियोग प्रस्ताव दर्ताका लागि प्रयोग भएको केही हस्ताक्षर ‘र्कीर्ते’ भएको हस्ताक्षरकर्ताहरुले बताएका छन् । अधिवक्ता एवं कांग्रेस सांसद राधेश्याम अधिकारीले अनलाइनखबरसँग भने, ‘मैले महाअभियोग प्रस्तावमा हस्ताक्षर गरेको छैन ।’

तर, तपाईको नाम त १४७ औं नम्बर छ र हस्ताक्षर पनि छ त ? अनलाइनखबरको प्रश्नमा अधिकारीले भने, ‘त्यो हो भने कीर्ते हो, त्यसो हो भने म रिफ्यूज गर्छु ।’

महाअभियोग पत्रमा माओवादी सांसद शम्भुलाल श्रेष्ठको पनि हस्ताक्षर छ । तर, उनले पनि महाअभियोगबारे अनविज्ञता प्रकट गरे ।

हामीले सांसद श्रेष्ठलाई सोध्यौं- ‘तर, महाअभियोगपत्रमा तपाईको नाम र हस्ताक्षर ६२ औं नम्बर छ त ? हाम्रो प्रश्नमा श्रेष्ठले भने, ‘हो र ? यो माओवादी भन्ने पार्टीले फेरि कीर्ते गरेछ, मैले कहिल्यै हस्ताक्षर गरेको छैन ।’

श्रेष्ठले अघि भने- माओवादीले कीर्ते गर्ने चलन नै भएछ, विद्युतको ट्रान्सर्फमर दिने भनेर लोकमानकोमा सही धस्काए, आज पनि हस्ताक्षर दुरुपयोग गरेछन् ।’

महाअभियोगमा प्रधानमन्त्रीको पनि नाम !

महाअभियोग प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि नाम छ तर, उनको हस्ताक्षर छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको भने हस्ताक्षर नै छ ।

यस्तै पूर्वअर्थमन्त्री एवं कांग्रेस डा. रामशरण महतको पनि हस्ताक्षर छ । महामन्त्री शंशाक कोइराला र नेता डा. शेखर कोइरालाको पनि हस्ताक्षर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment