Comments Add Comment

पत्याउनुहुन्छ ? मोरङमा यस्तो विकट गाउँ छ

१८ बैशाख, बिराटनर । प्रदेश नम्बर एकको सम्भावित राजधानीका रुपमा लिइएको मोरङ जिल्ला सामान्यतः सुगम जिल्लाको रुपमा लिइन्छ । तर, यही जिल्लाका केही स्थानहरु यति पिछडिएका छन् कि यो मोरङ नै हो र भनेर पत्याउन मुस्किल पर्छ ।

मोरङको केराबारी गाउँपालिकाको उत्तरी क्षेत्र सिंहदेवीका जनताले अहिलेसम्म राज्य भएको महशुस गर्न सकेका छैनन् । सिंहदेवी पूरै गाविस अहिले केरावारी गाउपालिका वडा नम्वर २ मा परिणत भएको छ । यसको केन्द्र साविकको केरावारी गाविस कार्यालय हो ।

विषेशगरी केराबारी गाउँपालिका १ र २ नम्वर वडा धनकुटा जिल्लासँग सीमाना जोडिएको विकट पहाडी क्षेत्रमा पर्छ । सिंहदेवीभरि अहिलेसम्म प्रर्याप्त सञ्चार, विद्युत र यातायात, शिक्षा स्वस्थ्य जस्ता आधारभूत सुविधा पुग्न सकेको छैन । केही स्थानमा भने भर्खरैमात्र सडक, विद्युत पुगेको छ भने यातायातको सुविधावाट त्यस भेगका जनता अहिले पनि टाढै छन् ।

स्थानीयवासीका अनुसार पहाडी भू-वनोटले चारैतिर घेरिएको मोरङको सिंहदेवीमा उब्जनीका लागि खेती गर्ने स्थानको अभाव हुँदा त्यसक्षेत्रका बहुसंख्यक जनता मर्कामा छन् ।

‘धानखेतीका लागि जमिन छैन, यहाँ फल्ने मकै र कोदोले मुस्किलले तीन महिना टार्न धौ धौ हुन्छ । पेट भर्नका लागि ९ महिना अन्न नकिनी अरु विकल्प छैन ।’ केरावारी गाउँपालिकामा-२ सिंहदेवी संगम टोलका खगेन्द्र जमरकट्टेलले दुखेसो पोखे ।

उनका अनुसार पछिल्लो समय यहाँका धेरै युवाहरु वैदेशिक रोजगारीमा गएका छन् । स्थानीयले धेरै स्थानमा आफैंले पैसा उठाएर सडक निर्माण गरेका छन् ।

‘भौगोलिक विकटताले हामीले धेरै दुःख खेपेका छौं, राज्यले पनि हामीप्रति साहनुभूति देखाएन ।’ जमरकट्टेल गुनासो पोखे ।

एक घण्टाको पैदल दूरीमा रहेको लेचाङ्गोमा रहेको माध्यामिक बिद्यालय र उपस्वास्थ्य केन्द्र सिंहदेवीका बासिन्दाको शिक्षा र स्वास्थ्यको केन्द्र हो ।

त्यसैगरी उत्तिकै दूरी पार गरेपछि फाइवा निमावि विद्यालय रहेको छ । त्यसमापनि पाँचसम्म मात्र सरकारी दर्ता छ त्यसमाथि निजीस्तरमा शिक्षक राखेर आठ कक्षासम्मको पठन पाठन गरिँदै आएको छ ।

पुरै वडामा खानेपानीको समस्या छ । केराबारीमा रहेको गाउँपालिकाको केन्द्रमा आउँदा दिनभरको समय खर्चिनुपर्नेछ । गाउँपालिकाको केन्द्र पुग्न सिंहवेदीका बासिन्दालाई ३ घण्टा पैदल नहिँडी सुखै छैन ।

छैन चुनावको रौनक

सदरमुकाम बिराटनगरबाट करिव ६ घण्टाको सडक र पैदक यात्रापछि पुगिने सिंहदेवीका चुनावको कुनै चहल पलह देखिँदैन ।

न यहाँको निर्वाचन कार्यालयले निर्वाचन लक्षित गतिविधि संञ्चालन गरेको छ, न राजनीतिक दलहरु चुनावी प्रचार-प्रचारमा पुगेका छन् ।

स्थानीय बासिन्दाहरु चुनाव भन्दा पनि मेलापातमा नै व्यस्त देखिन्छन् । स्थानीय भोगेन्द्र लिम्वुले चुनाव हुने जानकारी पाए पनि गाउँमा चुनावको माहोल नदेखिएको बताए ।

‘चुनाव वैशाख ३१ गते हुन्छ भनेर सुनेको चाहीँ हो तर अहिलेसम्म कुनै नेता भोट माग्न आएका छैनन् ।’ उनले थपे, ‘आउने नेताहरुलाई यो पल्ट पनि गाउँको विकास गर्दैनौं भने भोट पनि हालिन्न भन्ने सोचमा छु । जसले गाउँको विकास गर्छ राम्रो मान्छे छानेर त्यसैलाई भोट हालिन्छ ।’

दलहरुले टिकट दिँदा पनि स्थानीय मानिसहरुलाई दिँदा उसले गाउँको बिकास गर्ने यहाँका जनताको चाहना छ ।

सिंहदेवीमा वहुसंख्यक आदिवासी जनजातिको बसोबास छ । १० वडा रहेको केरावारी गाउँपालिका मध्ये १, २ नम्वर वडामा सडक सञ्जालले जोडिन सकेको छैन । जिल्लालाई सुगम भनिए पनि यतिका वर्षसम्म सञ्चार, विद्युत र यातायातले जोड्न नसक्दा आफूहरुलाई मुलुकको दुरदराजको नागरिकको अनुभुति हुने गरेको स्थानीय दिपेन्द्र मगर बताउँछन् ।

‘कुनै समस्या पर्दा यातायातका लागि सडक चाहिने रहेछ । न यहाँ सडक सुविधा छ, न त बिजुली नै,’ मगरले दुःख पोखे ।

उनीपनि आसन्न निर्वाचनमा स्थानीय नै जनप्रतिधि चुनिएको अवस्थामा आफ्नै ठाउँको विकास हुनेमा आशावादी छन । दिपेन्द्र भन्छन, ‘हाम्रो क्षेत्रका डाँडा छिचोल्दै वस कुदाउने हाम्रो दुखमा मलमपर्टी लगाउन सक्ने व्यक्ति यो गाउँको लागि आवश्यक छ ।’

सदरमुकाम पुग्न कठिन

केराबारीदेखि सिंहदेवीसम्मको सडक निर्माणको काम धेरै अघिदेखि सुरु भए पनि अहिलेसम्म सिधा यातायात सञ्चालन भएको छैन ।

सिंहदेवीका स्थानीयलाई यो सडकको प्रयोग गदै बिराटनगर सदरमुकाम विराटनगर पुग्न गाडीको यात्रा जान मात्र कम्तिमा ६ घण्टा लाग्ने गरेको छ । ‘विराटनगर जान मात्र एक दिन त ठीक्क हुन्छ र्फकने त कुरै हुन्न एक दिनको वास विराटनगरमा नै हुन्छ ।’ सिंहदेवी हावेचौरीका दिपिल थापामगरले भने ।

दिलिपका अनुसार यदि सिंहदेवीवाट सिधा केरावारी जोड्ने सडक पूर्णरुपमा सञ्चालनमा आउन सकेमा २ घण्टामै सदरमुकाम बिराटनगर पुग्न सकिन्छ ।

सिंहदेवीका पूर्व गाविस अध्यक्ष डिल्ली शर्मा अधिकारीका अनुसार साविकको सिंहदेवी गाविस पूरै यातायातको सुविधावाट विमुख छ । वडावासीलाई पनि केरावारी गाउँपालिका कार्यालयमा काम लिएर जार्नुपर्दा अहिलेपनि तीन घण्टा पैदल हिँड्नुपर्छ ।

गाउँपािलकालाई छोएर जाने एकमात्र केरावारी-सिंहदेवी सडक पनि हालसम्म ट्रयाकमात्रै खोलिएको छ । यो सडक सार्वजनिक सवारीका साधान चल्ने अवस्थामा छैन ।

केरावारी गाउँपालिकाका कार्यकारी अधिकृत डम्वरवल्लभ वरालका अनुसार यस गाउँपालिकामा ११ किमि सडक मात्र हालसम्म कालोपत्र भएको छ । कुल सडक मध्ये ८६ किमि ग्राभेल र ९२ किमि सडक कच्ची अवस्थामा छ ।

केरावारी गाउँपालिकाको कुल जनसंख्या ३० हजार ४ सय ३१ छ । पहाडी इलाका भएकाले साविकको सिंहदेवी, याङशिला र पार्टीगाउ गाविसवासीको मुख्य आम्दानीको स्रोत अम्रिसो हो ।

हाल यी तिनवटै गाविस केरावारी गाउँपालिका अन्तर्गत पर्दछ । तराई मधेस भनेर चिनिने मोरङ जिल्लामा सिंहदेवी मात्रै एक्लो दुर्गम गाविस चाँहि होइन । मोरङका पाटीगाउँ, सिंहदेवी, भोगटेनी र वारंगी गाविस पनि यस्तै विकट पहाडी गाविस हुन् । त्यसैगरी याङशिला, केराबारी, लेटाङ र टाँडीलगायतका गाविसका केही वडाहरु पनि पहाडी क्षेत्रमा पर्दछन् ।

अहिले मोरङका उत्तरी क्षेत्रमा पर्ने याङशिला, पार्टीगाउँ, सिंहदेवी गाविस लेटाङ नगरपालिका १ नम्वर वडासहित केरावारी गाविस मिलेर केरावारी गाउँपालिका वनेको छ ।

त्यसैगरी अर्को मिक्लाजुङ गाउँपालिकामा रमिते खोला, टाँडी, जाते ३, ४ वडा मधुमल्ला १ देखि ६ सम्मको वडा मिलेर बनेको छ ।

त्यसैगरी लेटाङ नगरपालिकामा लेटाङ भोगटेनी नगरपालिका २ देखि ११ सम्मका वडा जाते ५, ६, ९, १०, ११ र १२ नम्वर वडा र वारङ्गी गाविस पुरै मिलेर बनेको छ । जसमा मिक्लाजुङ्ग गाउँपालिका र केराबारी गाउँपालिकाका उत्तरी क्षेत्र बढी विकट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment