Comments Add Comment

सरकारबाट बाहिरिने राप्रपाको निर्णय, संविधान संशोधनलाई भने समर्थन

१८ बैशाख, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाले सरकार छाड्ने निर्णय गरेको छ । सरकारबाट फिर्ता भएपनि संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा भने सहयोग गर्ने उसले बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको कार्यसम्पादन समिति बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव अनुचित, अनैतिक र न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै राप्रपाले यसको विपक्षमा उभिने निर्णय समेत गरेको छ ।

सरकारमा सहभागी भएको प्रमुख सत्ता घटकलाई समेत थाहा नदिई महाअभियोग प्रस्ताव दर्ता गर्नुले सरकारमा बसिरहनुको औचित्य समाप्त भएको बैठकपछि राप्रपा अध्यक्ष कमल थापाले पत्रकारहरुलाई बताए ।

भोलि आउनसक्ने फैसलालाई हेरेर गरिएको यो निर्णय अपरिपक्व र हतास मानसिकताको उपज भएको भन्दै राप्रपाले भनेको छ, ‘महाभियोग प्रस्तावको बिरोध गर्दै प्रचण्डको नेतृत्वमा गठित वर्तमान मन्त्रिपरिषदबाट राप्रपा अलग हुने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने बैठकले निर्णय गरेको छ ।’

राप्रपाले महाअभियोग प्रस्ताव फिर्ता लिन र मुलुकलाई अस्थिरता र संकटबाट जोगाउन कांग्रेस र माओवादीलाई आग्रह गरेको छ ।

संशोधनको पक्षमा उभिने

राप्रपाले सरकार छाडेपनि संविधान संशोधनलाई भने समर्थन गर्ने बताएको छ । संविधानको कार्यान्वयन तथा मधेसी मोर्चालाई सहभागी हुने वातावरण तयार गरी निर्धारित मितिमा स्थानीय चुनाव सुनिश्चित गर्न रचनात्मक सहयोग गर्ने उसले बताएको छ । उसले भनेको छ, ‘संसदमा पेश भएको संबिधान संशोधन विधेयकलाई राप्रपाले समर्थन गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment