+
+
Shares

देश अँध्यारो सुरुङमा फस्यो, निषेधको राजनीति छाडेर सहमति खोजौँ : लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी विद्रोहपछि पनि देश जनताको आकांक्षा पूरा गर्ने दिशामा अघि नबढेको भन्दै अनिश्चितताको अँध्यारो सुरुङमा प्रवेश गरेको बताए।
  • उनले निषेधको राजनीति छोडेर राजादेखि सबै राजनीतिक शक्तिसम्मलाई समेट्ने राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिए।
  • लिङ्देनले राप्रपाको मंसिर २६, २७ र २८ गते हुने महाधिवेशन कुनै बहानामा नरोकिने र पार्टी पुनर्निर्माणको अवसर हुने बताए।

२८ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी विद्रोहपछि पनि जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसकेको भन्दै मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गरेका छन्।

आइतबार राप्रपा काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले विद्रोह जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनतामा आशा जाग्ने काम हुन नसकेको बताए। ‘देशमा आशा जाग्नुको सट्टा अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको अवस्था छ। राजनीतिक तरलता र अनिश्चय झन् बढ्दै गएको छ,’ उनले भने।

अध्यक्ष लिङ्देनले लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले मुलुकलाई निकास दिन नसकेको भन्दै अब राजादेखि सबै राजनीतिक शक्तिसम्मलाई समेटेर राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिए।

देशले १० वर्षे सशस्त्र द्वन्द्वपछि गत वर्ष भदौ २३ र २४ गतेको विद्रोह तथा त्यसबाट भएको ठूलो क्षतिसमेत व्यहोरिसकेको स्मरण गराउँदै उनले अब थप द्वन्द्व र विद्रोह धान्न सक्ने अवस्था नरहेको बताए।

‘कुनै बेला राजाले राजनीतिक दलहरूलाई निषेध गरे होला, कुनै समय राजनीतिक दलहरूले राजालाई निषेध गरे होला, तर निषेधको राजनीतिले देशलाई कहाँ पुर्‍यायो हामी सबैलाई थाहा छ,’ लिङ्देनले भने, ‘त्यसकारण अब निषेधको राजनीति छोडेर सबै राजनीतिक शक्तिहरूदेखि राजासम्मको बीचमा एउटा राष्ट्रिय सहमति निर्माण गरेर देशलाई निकास दिने बेला आएको छ।’

आगामी ५ देखि १० वर्षभित्र नेपाललाई विकसित मुलुकको दाँजोमा पुर्‍याउने अभियानमा सबै दल र शक्तिहरू एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ। राष्ट्रिय सहमतिको एजेन्डालाई विश्वसनीय बनाउन राप्रपा आफैँ पनि सुध्रिएर एकताबद्ध हुनुपर्ने उनले बताए।

‘मंसिरको महाधिवेशन कुनै बहानामा रोकिँदैन’

अध्यक्ष लिङ्देनले राप्रपाको आगामी महाधिवेशन कुनै पनि बहानामा नरोकिने स्पष्ट पारेका छन्। मंसिर २६, २७ र २८ गते हुने महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्दै त्यसलाई पार्टी पुनर्निर्माणको अवसरका रूपमा उपयोग गर्नुपर्ने उनले बताए।

आफूबाटै सुधार सुरु गर्नुपर्ने भन्दै उनले नेतृत्वदेखि तल्लो तहसम्मका सबै नेता–कार्यकर्ता सच्चिएर नयाँ ढंगले अघि बढ्नुपर्ने बताए। ‘हामीले यो महाधिवेशनको बाटोबाट राष्ट्रिय प्रजातन्त्र पार्टी सुध्रियो र बदलियो भन्ने सन्देश आमजनतालाई दिनुपर्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?