Comments Add Comment

भरतपुर महानगरका उम्मेदवार को कस्ता ?

१९, बैशाख, चितवन । भरतपुर महानगरपालिका देशकै मध्यभागमा रहेको र सम्भावना बोकेको महानगरपालिकाका हो । यहाँ आज प्रमुख राजनीतिक पार्टीका मेयर र उपमेयरका आकांक्षीहरुले उम्मेदवारी दर्ता गराए ।

स्थानीय चुनावका लागि प्रमुख दलहरुले उठाएका उम्मेदवारहरुको पृष्ठभूमिका विषयमा धेरैलाई जिज्ञासा छ । त्यसैले अनलाइनखबरले यी उम्मेदवारहरुको संक्षिप्त ‘बायोग्राफी’ तयार गरेको छ ।

मेयर- दिनेश कोइराला, नेपाली कांग्रेस

दिनेश कोइराला नेपाली कांग्रेसका युवा नेता हुन् । ०२८ साल बैशाख १९ गते साविक गीतानगर गाविस-६ -हाल महानगरपालिका वडा नः ६) मा जन्मिएका कोइराला सालीन स्वाभावका छन् र युवा वर्गलाई आर्कषित गर्ने क्षमता राख्छन् ।

कोइरालाले ०४२ सालबाट राजनीति शुरु गरेका हुन् । ०४२ सालमा अरुणोदय विद्यालय गीतानगरबाट विद्यार्थी राजनीति शुरु गरेका कोइराला ०५० सालमा बालकुमारी कलेज नारायणगढको नेविसंघ सभापति, ०५३ मा सोही कलेजको स्ववियू सभापति, २०५६ मा नेविसंघको केन्द्रीय सदस्य, ०५८ मा कांग्रेस चितवनको प्रवक्ता तथा दुई पटकसम्म कांग्रेस महासमिति सदस्य भएर काम गरिसकेका छन् ।

स्नातकसम्मको अध्ययन पूरा गरेका कोइराला सन् २००८ मा नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष, हाल वीपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्य रहेका छन् ।
कांग्रेस चितवनको जिल्ला सभापतिमा उठेर निकटतम प्रतिद्वन्द्वीका रुपमा पराजित भएका कोइरालाले भरतपुर महानगरपालिकाबाट कांग्रेसका ३३ आकांक्षीलाई पछार्दै मेयरको टिकट पाएका हुन् ।

उपमेयर- पार्वती शाह

नेपाल महिला संघ चितवनको वहालवाला अध्यक्ष हुन् पार्वती शाह । ०२४ साउन ५ गते चितवनको साविक गुञ्जनगर गाविस-५ मा उनको जन्म भएको हो ।

शाहले ०४८ सालबाट कांग्रेसको विद्यार्थी संगठन नेविसंघमा आवद्ध भएर राजनीति शुरु गरेकी थिइन् । प्रमाणपत्र तहसम्म अध्ययन गरेकी उनी विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि सक्रिय रहँदै आएकी छिन् । तरुण दलको राजनीति गर्दै तरुण दल वडा अध्यक्ष, नगर अध्यक्ष, जिल्ला सदस्य, नारायणी अञ्चल सम्पर्क समितिको सदस्य, तरुण दलको केन्द्रीय सदस्य भएर काम गरेकी शाह अविवाहित छिन् ।

मेयर- देवी ज्ञवाली, नेकपा एमाले

पर्वत जिल्लाको रानीपानीमा वि.स. २०१९ असार ११ गते देवी ज्ञवालीको जन्म भएको हो । हाल भरतपुर महानगरपालिका वडा नः ४ का स्थायी बासिन्दा ज्ञवालीले सानै उमेरदेखि वामपन्थी राजनीतिमा रहेर काम गर्दै आएका छन् ।

प्रवेशिका उर्त्तिण गरेका ज्ञवालीले ०३० सालमा पुष्पलाल समुहको बाल सांस्कृतिक समुहमा आवद्ध भएर विद्यार्थी राजनीति शुरु गरेका थिए । ०३२ सालमा चितवन झरेका ज्ञवाली ०३४ सालमा रेड गार्डको सदस्य, ०३५ सालमा वामपन्थीहरुको युवक संगठन युथ लिगको सचिव, ०३६ मा अनेरास्ववियु एकताको पाचौँ संस्थापक अध्यक्ष, ०३८ मा पार्टीको संगठित सदस्यता लिएर मकवानपुरको पूर्व भेग हेर्ने जिम्मेवारी पाएका थिए ।

०४६ मा बारा जिल्ला कमिटीको सचिव, ०४७ मा नेकपा माले चितवनको सचिव, ०५० मा एमाले नारायणी अञ्चल सचिव, ०५४ मा भरतपुर नगरपालिकाको उपमेयर र ०५९ देखि ०६१ सम्म चितवन जिल्ला पार्टी प्रमुख भएर उनले काम गरे । ०६२/०६३ मा भएको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका ज्ञवाली ०६४ मा भएको संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट एमाले उम्मेदवार बनेर पराजित भएका थिए ।

वुटवलमा ०६५ मा भएको आठौं महाधिबेशनबाट एमाले केन्द्रीय सदस्य निर्वाचित भएका ज्ञवाली ०७० मा भएको नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भए । उनी अहिले एमाले केन्द्रीय सल्लाहकार परिषदको सदस्य छन् । भरतपुर उपमहानगरपालिकालाई महानगरपालिका बनाउने क्रममा पार्टीको तर्फबाट उनले भूमिका खेलका थिए ।

उपमेयर- दिव्य शर्मा

झण्डै २० वर्ष विद्यालय निमावि सुन्दरवस्तीमा अध्यापन गराएकी दिव्य शर्मा विभिन्न सामाजिक संघसंस्थाहरुमा रहेर काम गरेकी नेतृ हुन् । सहकारी संघसंस्था, विद्यालय व्यवस्थापन समिति, वडा नागरिक मञ्चको संयोजक, सरस्वती आमा समूहको अध्यक्ष, अन्नपूर्ण कलेजको संस्थापक सदस्य रहेकी शर्मा पश्चिम चितवनको पार्वतीपुरमा जन्मिएकी हुन् ०३० जेष्ठ १४ गते जन्मिएकी हुन् ।

शर्माले मैयादेवी कन्या कलेज भरतपुरबाट बीएडसम्मको अध्ययन गरेकी छन् । ०५४ सालदेखि एमालेको राजनीतिमा सक्रिय दिव्य शर्मा एमाले भातृ संगठन अनेमसंघ पार्वतीपुर गाउँ कमिटी उपाध्यक्ष, एमाले चितवनको २ पटकसम्म जिल्ला कमिटी सदस्य, क्षेत्रीय सदस्य, जिल्ला सल्लाहकार भएर काम गरिसकेकी छन् । उनका श्रीमान पुण्यप्रसाद शर्माको निधन भैसकेको छ भने उनका १ छोरा र एक छोरी छन् ।

मेयर-रेणु दाहाल, माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालकी जेठी पुत्री हुन् रेणु दाहाल । प्रधानमन्त्री दाहालको चाहनाअनुसार भरतपुर महानगरपालिकामा माओवादी केन्द्रको तर्फबाट उनलाई उम्मेदवार बनाइएको हो ।

पश्चिम चितवनको साविक शारदानगर-८ भिमसेन नगरमा २०३३ असार २२ गते जन्मिएकी रेणुले एसएलसीसम्मको अध्ययन गरेकी छिन् । २०५२ सालदेखि माओवादी आन्दोलनमा लागेकी रेणु अनेमसंघ क्रान्तिकारी भारत प्रवास शाखा अध्यक्ष, युद्धकालमा नै माओवादी रोल्पा पार्टी सेक्रेटरी, सहइन्चार्ज, काठमाडौं जिल्ला कमिटीको सचिव भएर काम गरेकी छन् ।

हाल माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्य रहेकी रउनी अनेमसंघ क्रान्तिकारीकी महासचिव पनि हुन् । २०६४ मा भएको संविधानसभा निर्वाचनपछि समानुपातिक सांसदका रुपमा काम गरेकी दाहाल २०७० सालमा भएको संविधानसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्वर १ बाट काँग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएकी थिइन् । अनिलकुमार पाठकसँग विवाह गरेकी रेणुका १ छोरा र एक छोरी छन् ।

उपमेयर- सुरेन्द्र गुरूङ

सहिद परिवारका सुरेन्द्र गुरूङ माओवादीका पूर्णकालीन कार्यकर्ता हुन् । ०२९ असार २० गते भरतपुर महानगरपालिका- २० शारदानगरमा जन्मिएका गुरूङले प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् ।

खुसीराम पाख्रिनसँगै ०४५ मा जनवादी सांस्कृतिक अभियानमा लागेर उनले राजनीति शुरु गरेका थिए् । माओवादीको एरिया कमिटी सदस्य, ०६३ मा माओवादी जिल्ला कमिटी सदस्य, ०६५ मा पार्टी ताम्सालिङ राज्य समिति सदस्य हुँदै उनी हाल माओवादी महाधिवेशन आयोजक समिति सदस्य रहेका छन् । उनका १ छोरा र १ छोरी छन् ।

मेयर- बद्री तिमल्सिना, राप्रपा

पञ्चायतकालीन राजनीतिमा ०३६ सालदेखि आवद्ध भएका बद्री तिमिल्सिना राप्रपा र राप्रपा नेपालको गरी १५ बर्ष जिल्ला पार्टी अध्यक्ष बने । अहिले पनि उनी राप्रपाका जिल्ला अध्यक्ष हुन् ।

०२०, चैत २३ गते जन्मिएका उनले प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् । उनले जिल्ला बालकल्याण समितिको अध्यक्ष, भरतपुर अस्पतालको अध्यक्ष, राजाले गराएको स्थानीय चुनावबाट जिविस चितवनको उपसभापति भएर काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment