Comments Add Comment

एक्स–रे मेसिन बिग्रँदा बिरामी मर्कामा

२० वैशाख, महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको एक्स–रे मेसिन समयमै मर्मत हुन नसकेपछि सेवाग्राही प्रभावित भएका छन् ।

करिब पाँच महिनाअगाडि बिग्रिएको सो एक्स–रे मेसिन मर्मतका लागि सरोकारवालापक्षले समयमै ध्यान नदिएपछि उपचार गराउनका लागि आउने दैनिक सयौँ बिरामी मर्कामा परेका हुन् ।

रु ३५ लाख मुल्य बराबरको सो एक्स–रे मेसिन मर्मतका लागि रु दुई–तीन लाख लाग्ने एक्स–रे फाँटका कर्मचारी बताउँछन् ।

अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयलाई पटक पटक जानकारी र ताकेता गर्दासमेत मेसिन मर्मतमा खासै ध्यान नदिएको नाम नबताउने सर्तमा ती कर्मचारीले बताए ।

हाल सञ्चालनमा रहेको पुरानो मेसिनले हात, खुट्टा र छातीको साधारण एक्स–रे मात्र गर्न सक्ने भएकाले अधिकांश विशेष किसिमका एक्स–रे बाहिरबाट गराउनु पर्ने बाध्यता रहेको पेटको एक्स–रे गराउन जलेश्वर अस्पताल पुगेकी ममता भगतले बताइन् । उनले हजारौँ रुपैयाँ एक्स–रेकै मासिक कमाई आउँदा पनि अस्पतालले मेसिन मर्मत गराउन ध्यान नदिएको दुखेसो पोखिन् ।

जलेश्वर अस्पतालमा दैनिक सयौँ बिरामी आउने गरेकामा पचासभन्दा बढीको एक्स–रेकै जाँच रहने गरेकामा नयाँ मेसिन नहुँदा आधाभन्दा बढी बाहिर जानु परेको अवस्था रहेको छ ।

विगत पाँच महिना देखि बिग्रिएको सो एक्स–रे मेसिन १५–२० दिन भित्रमै मर्मत गरी सञ्चालनमा ल्याउने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तथा जलेश्वर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा नागेन्द्रप्रसाद यादवले बताए ।

विसं २००३ मा त्रिचन्द्र अस्पतालको नामले ५० श्ययाको अञ्चल अस्पतालका रुपमा स्थापना भएकोमा राजनितिक चलखेलकै कारण हालको जलेश्वर अस्पताल ५० श्ययाबाट १५ श्ययामा झरेको हो । विसं २०३३ तिर तत्कालीन गृहमन्त्री भोजराज घिमिरेले जलेश्वरस्थित अञ्चल अस्पताललाई जनकपुर स्थानान्तरण गरी अस्पताललाई १५ श्ययामा झारेपछि अस्पतालको अवस्था बिग्रँदै गएको अस्पतालसम्बन्धी जानकारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment