२१ बैशाख, काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेपमा सुधार हुन सकेको छैन् । गत फागुन २० गते २८ वाणिज्य बैंकसँग १९ अर्ब ४४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत बैशाख १५ गतेपनि बैंकहरु यही ‘पोजिशन’ मा छन् ।
यसबीच निक्षेपमा वृद्धि भएर १९ खर्ब ५३ अर्ब रुपैयाँसम्म पुगेको भएपनि निक्षेप पुनः घटेर १९ खर्ब ४४ अर्बमा सिमित भएको हो । बैंकहरुको कर्जा विस्तारमा भने क्रमिक वृद्धि देखिएको छ । फागुन २० गते १६ खर्ब ३३ अर्ब कर्जा लगानी गरेका बैंकहरुको त्यसको एक सातामा कर्जा लगानी घटेर १६ खर्ब २९ अर्ब पुगेको भएपनि त्यसयता कर्जा लगानीमा क्रमिक रुपमा वृद्धि भइरहेको छ । गत बैशाख १५ मा बैंकहरुको कर्जा लगानी १६ खर्ब ५८ अर्ब पुगेको छ ।
आधार समय फागुन २० को तुलनामा निक्षेपमा वृद्धिदर शुन्य देखिएपनि कर्जा लगानी भने २५ अर्ब रुपैयाँले बढेको देखिन्छ । बैंकहरुले कर्जा र निक्षेपको अनुपात मात्र हेर्ने हो भने यो अनुपात ८५ प्रतिशत पुगेको छ । बैंकहरुले कर्जा – पुँजी तथा निक्षेप (सीसीडी रेसियो) अनुपात भने ८० मा राख्नुपर्ने हुन्छ ।
तर, राष्ट्र बैंकले २०७४ असारसम्मको लागि उत्पादन मुलक क्षेत्रमा गएको कर्जाको ५० प्रतिशत हिस्सा सीसीडी दरको गणनामा लिन नपर्ने व्यवस्था गरेको छ । यसले कुल निक्षेपको ८५ प्रतिशत कर्जा लगानी (सीडी रेसियो ८५ प्रतिशत) गर्न सक्ने अवस्था देखिएको थियो ।
राष्ट्र बैंककै यही सहुलियतले कतिपय बैंकको सीसीडी रेसियो नै घटेको देखिन्छ । चैतसम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका वाणिज्य बैंकहरुको विवरणबाट यस्तो देखिएको हो ।
चैतसम्ममा बैंक अफ काठमाण्डुको कर्जा निक्षेप अनुपात ७७ प्रतिशत, लक्ष्मीको ७३ प्रतिशत, नेपाल इन्भेष्टमेन्टको ६९.१७ प्रतिशत, नबिलको ७९.७५ प्रतिशत पुगेको छ ।
त्यस्तै, माछापुच्र्छे बैंकको ७१.९५ प्रतिशत, प्रभुको ७१.८१ प्रतिशत, ग्लोबल आइएमईको ७८.८५ प्रतिशत, एनएमबीको ७० प्रतिशत, सिद्धार्थको ७५ प्रतिशत, सिटिजन्सको ६७ प्रतिशत, नेपाल बंगलादेशको ७२ प्रतिशत र एनआइसी एसियाको ७८.२६ रहेको छ ।
प्रतिक्रिया 4