Comments Add Comment

उपत्यकामा सफल भएपछि ‘नो हर्न’ उपत्यकाबाहिर पनि

जथाभावी बाटो काट्ने यात्रुलाई पनि कारबाही

२२ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १ देखि लागू गरिएको ‘नो हर्न’को ब्यवस्था प्रभावकारी देखिएको छ । अब यो नियम उपत्यकाबाहिर पनि लागू गर्ने तयारी छ ।

महानगरीय ट्राफिक प्रहरीका अनुसार अनावश्यक हर्न बजाउने क्रम निकै घटेको छ । काठमाडौंमा अनावश्यक रुपमा हर्न बजाउने क्रम लगभग नियन्त्रणमा आएको र आवश्यक हर्न बजाउनेलाई कारवाही नगरिएको उसले बताएको छ ।

साथै अनावश्यक हर्न बजाउने झण्डै ३ हजार सवारी चालक कारबाहीमा पनि परेका छन् ।

अनावश्यक हर्न नियन्त्रणमा काठमाडौंका प्राप्त सफलतालाई ध्यानमा राखेर उपत्यकाबाहिरका शहरी क्षेत्र र राजमार्गहरुमा यो ब्यवस्था गर्ने योजना बनाइएको यातायात ब्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डे बताउँछन् ।

‘हामी काठमाडौंमा जथाभावी हर्न बजाउन निषेध गर्दा प्राप्त परिणामलाई विश्लेषण गरिरहेका छौं’ पाण्डेले भने, ब’अनावश्यक रुपमा बजाइने हर्नले उपत्यकाबाहिरका शहरी क्षेत्र र राजमार्ग पनि प्रभावित छन् । अब स्थानीय निकाय ट्राफिकसँग समन्वय गरेर मोफसलमा पनि यो ब्यवस्था लागू गर्छौं ।’

दुर्घटना बढ्ने अड्कल ‘गलत’

अहिले उपत्यकाभित्र आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न बजाउन निषेध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्ल अब काठमाडौं उपत्यका अनावश्यक हर्नबाट मुक्त हुने बाटोमा अघि बढेको बताए ।

‘आवश्यक हुँदा हर्न जहाँपनि बज्छ, तर अनावश्यक रुपमै धेरै हर्न बजेपछि हामीले यो निर्णय गरेका थियौं’ मल्लले भने, ‘अहिले सबैले महसुस गरेका छन् कि काठमाडौंका कति हर्न अनावश्यक रुपमा बजेको रहेछ ।’

उनले हर्न निषेध गरेपछि दुर्घटना बढ्छ भन्ने अड्कलबाजी पनि गलत सावित भएको दाबी गरे । दुर्घटना र हर्नको ठूलो सम्बन्ध नरहेको बताउँदै उनले दुर्घटना हुने अवस्था छ भने हर्न बजाउन नरोकिएको स्पष्ट गरे ।

‘हर्न नबजाउनु भनेको सचेत हुनु हो, सवारी चलाउँदा जथाभावी हर्न बजाउन नपाएपछि ओभरटेकमा सावधानी अपनाइन्छ । जोखिमपूर्ण अवस्थालाई चालकले ध्यानमा राख्छ’ मल्लले भने, ‘हामीले सोचेका भन्दा राम्रो रिजल्ट आउनुमा चालकले देखाएको ‘नो हर्न’ प्रतिको प्रतिवद्धताले पनि ठूलो महत्व छ ।’

ट्राफिक प्रहरीले हर्न बजाउने विरुद्धको कारवाही जारी राखिएको बताएको छ । सुरुवाती दिनमा नियम नमान्ने धेरै भेटिएपनि विस्तारै त्यो क्रम घट्दै गएको भन्दै मल्लले भने, ”चालकहरुलाई सुरुवातमा अभ्यस्त हुन केही समय लाग्यो । सँधै बजाइरहनुपर्ने बानी छोड्न गाह्रो पर्नु अस्वभाविक होइन । तर, अहिले कारवाहीको क्रम पनि घट्दै गएको छ ।’
अहिले दैनिक सयभन्दा बढी सवारी अनावश्यक हर्न बजाएका कारण कारवाहीमा पर्ने गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ । जबकी नयाँ नियम लागू भएको सुरुवाती दिनमा यो संख्या ४ सयसम्म थियो ।

अनावश्यक हर्न निषेध नगर्दा हर्न बजाएर जथाभावी हुँइकिने र दुर्घटना पनि हुने गरेका थिए । कारवाहीको अभियान थालेपछि काठमाडौंमा हर्नका कारण हुने ध्वनी प्रदुषण ९० प्रतिशतले घटेको दाबी ट्राफिक प्रहरीको छ ।

हर्नकै भरमा सवारी दौडाउने र दुर्घटना गराउने जोखिम पनि घटेको निश्कर्ष यातायात ब्यवस्था विभागको छ । ‘ध्वनी प्रदुषण नियन्त्रणमा हर्न नबजाउने नियम महत्व अब सबैले बुझेका छन्’ प्रवक्ता पाण्डेले भने, ‘यो सभ्यताको पनि प्रतिक भएकाले यसलाई सबैले आत्मसात गर्नुले हामी उत्साहित छौं ।’

अहिले उपत्यकामा अनावश्यक रुपमा हर्न बजाए ट्राफिक प्रहरीले ५ सय रुपैयाँसम्म जरिवाना गर्छ । यस्ता कारवाहीको रेकर्ड पनि राखिन्छ । दोस्रोपटक पनि हर्न बजाएको भेटिए १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ । तेस्रोपटक कारवाहीमा पर्दा १५ सय रुपैयाँसम्म जरिवाना गरिने ट्राफिक प्रहरीले बताएको छ ।

ट्राफिक प्रहरीले पनि सडकमा हुने नियमित चेकजाँचमा हर्नको अनुगमन गरिरहेको छ । हर्नको नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा लागू गरिएको छैन ।

सार्वजनिक, सरकारी, पर्यटकबाहक र निजी सवारीले भने दुई अवस्थामा मात्रै हर्न बजाउन पाउने ब्यवस्था गरिएको छ । गम्भिर दुर्घटना हुने खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड/चोक आएमा मात्रै हर्न बजाउन दिइएको ट्राफिक प्रहरीले बताएको छ । ।

जेब्राक्रस अनिवार्य

नो हर्न लागू भएसँगै ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने यात्रुविरुद्ध पनि कारवाहीको अभियान सुरु गर्ने तयारी गरेको छ । जेठ १ देखि जथाभावी बाटो काट्नेलाई २ सय रुपैयाँ जरिवाना गर्न ट्राफिकले तयारी थालेको छ ।

‘अहिले हामी जथाभावी बाटो नकाट्न सचेतनाको अभियान चलाइरहेका छौं’ ट्राफिक प्रहरीका प्रवक्ता मल्लले भने, ‘जेठ १ गतेपछि पैदलयात्रु पनि जहाँ मन लाग्यो त्यहीँबाट बाटो काट्छन् भने कारवाहीको भागिदार हुन्छन् । जेब्रा क्रसको प्रयोगको महत्व बुझाउन पनि हामीले यो ब्यवस्था गरेका हौं ।’

अब ट्राफिक प्रहरीले जेब्रा क्रसिङमा पैदलयात्रु आएपछि नरोकिने सवारीलाई कारवाही गर्ने भएको छ । यो ब्यवस्था पनि जेठ १ गतेबाटै लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment