Comments Add Comment

ओलीले भने- राप्रपासँग चुनावी तालमेल छोरी-ज्वाइँ जिताउन होइन


२२ बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र माओवादीको चुनावी गठबन्धनलाई ठूला नेताका छोरी, ज्वाइँ र भाइ जिताउने स्वार्थी तालमेलको संज्ञा दिएका छन् ।

राप्रपासँग एमालेले काठमाडौंमा तालमेल गर्दा कांग्रेस माओवादी वृत्तबाट आएका प्रतिक्रियामाथि टिप्पणी गर्दै ओलीले भने, ‘हाम्रो तालमेल महानगर बनाउन हो, छोरी-ज्वाइँलाई जिताउन होइन ।’

काठमाडौं महानगरसहित १० वटा नगरपालिकाका मेयर/उपमेयरका उम्मेदवारको परिचयात्मक कार्यक्रममा ओलीले केही महानगरमा कांग्रेस-माओवादीबीच भएको गठबन्धनलाई जहानियाँ तालमेलको संज्ञा दिए ।

कांग्रेस-माओवादीले भरतपुर र पोखरामा चुनावी तालमेल गरेका छन् । भरतपुर महानगरमा माओवादीबाट प्रधानमन्त्री प्रचण्ड पुत्री रेणु दाहाल र पोखरा महानगरमा कांग्रेस नेता अर्जुन नरसिंह केसीका ज्वाइँ रामजी कुँवर मेयरको उम्मेदवार छन् । ओलीले उनीहरुतिर संकेत गरेका हुन् ।

राप्रपाबाट काठमाडौं महानगरका उपमेयरका उम्मेदवार राजाराम श्रेष्ठलाई समेत छेउँमै राखेका ओलीले भने, ‘राप्रपा र हाम्रो गठबन्धन एउटा नेताको छोरी, अर्को नेताको दाइ र अर्को नेताको ज्वाइँ जिताउनका लागि होइन । यो परिवारका लागि होइन । देशको विकासका लागि हो ।’

कांग्रेस र माओवादी डराएर एमालेविरुद्ध गठबन्धनमा उत्रिएका उनको आरोप छ । उनले भने, ‘नराम्रा कामका लागि कांग्रेस माओवादी मिल्छन् । प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन मिले । आफ्नो परिवारका सदस्य जिताउन कार्यकर्ताको बली चढाउन मिले । तर, हामी राम्रो कामका लागि मात्र मिल्छौं ।’

‘दनक दिनु नपरोस्’

एमाले अध्यक्ष ओलीले सरकार निर्वाचन आचारसंहिता विपरित सत्ताको दुरुपयोगमा उत्रिएको आरोप लगाउँदै गलत काम नरोके एमालेले दनक दिने बताए । ओलीले भने, ‘मन्त्रीहरु झण्डा हल्लाउँदै भोट माग्न हिँडेका छन् । मतदातालाई झूठा आश्वासन दिएर प्रभावित पार्न खोज्दैछन् । बिजुलीका पोल बोकेर हिँडेका छन्, डोजर अघि-अघि लाएर हिँडेका छन् । हामीले दनक दिनु नपरोस् ।’

काठमाडौंमा मात्र नभई देशैभर कांग्रेस-माओवादीका गतिबिधिकै कारण एमालेतिर जनताको भरोसा बढेको उनले दावी गरे ।

झलनाथ खनाल, माधव नेपाल, ईश्वर पोखरेल लगायत बरिष्ठ नेताहरु सहभागी कार्यक्रममा ओलीले काठमाडौंका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यलाई जिताउने चुनावी रथको सारथी पूर्वमेयर केशव स्थापितलाई घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment