Comments Add Comment

पकौडा खाँदै मधेसी नेताले राष्ट्रपतिलाई भने- एमालेलाई सम्झाइदिनू

शीतलनिवासमा मिथिलाको 'भोजन र राजनीति' बारे विमर्श


२३ बैशाख, काठमाडौं । दलगत स्वार्थभन्दा माथि रहेको संस्था हो राष्ट्रपति कार्यालय । राष्ट्राध्यक्षलाई देशको अभिभावक मानिन्छ । उनै अभिभावक विद्यादेवी भण्डारीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का १० जना नेताहरुलाई शुक्रबार साँझ शीतलनिवासमा बोलाइन् । र, एमालेसँग सम्बन्ध सुधार गर्न सुझाव दिइन् ।

जतिबेला सर्वोच्च अदालतले सुशीला कार्कीलाई काममा फिर्ता बोलाउन आदेश दिँदै थियो, त्यसबेला महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ल लगायतका मधेसी नेताहरु शीतलनिवासमा मिथिला भोजनबारे कुरा गर्दै थिए ।

‘राष्ट्रपतिसँगको भेटघाट अन्त्यन्तै सौहादर््रपूर्ण एवं हार्दिकतापूर्ण भयो, भेटमा सहभागी एक मधेसी नेताले अनलाइनखबरसँग भने,’ -त्यहाँ मिथिला भोजनबारे कुराकानी भयो, मदन भण्डारीले बिराटनगरमा कस्तो खाना मन पराउनुहुन्थ्यो भन्ने कुरा भयो । मिथिलाको खाना कस्तो-कस्तो हुन्छ भन्नेबारे विभिन्न परिकारका चर्चाहरु भए ।’

भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले मधेससँग आफ्नो गहिरो सम्बन्ध रहेको, पारिवारिक सम्बन्ध रहेको बताएकी थिइन् । उनले आफू सुरुदेखि नै मधेसले सम्मान पाउनुपर्ने पक्षमा रहेको बताएकी थिइन् । मधेस-पहाड सबैले आपसमा मिलेर देशलाई अघि बढाउन आवश्यक रहेको राष्ट्रपतिको भनाइ रहेको भेटमा सहभागी नेताले जानकारी दिए ।

बेलुका साढे ५ बजेदेखि करिब ८ बजेसम्म भएको भेटमा मिठाइ लगायतका परिकारहरु खाए पनि डिनरचाहिँ नेताहरुले आ-आफ्नो घरमै फर्केर खाए ।

मिथिला भोजनको कुरा चल्दै गर्दा राजेन्द्र महतोले पकौडाको कुरो झिकेपछि शीतलनिवासमा पकौडासमेत पाक्यो ।

भोजनसँगै राजनीति पनि

राष्ट्रपति भण्डारीले चुनावको सम्मुखमा मधेसी नेताहरुलाई बोलाएर एमालेसँग सम्बन्ध सुधार गर्न आग्रह गरिन् । उनले एमालेसँग वार्ता र सम्वाद सुरु गर्न मधेसी नेताहरुसँग आग्रह गरिन् ।

लोकतन्त्रमा सम्वादबाटै समस्या समाधान गरिनुपर्ने भन्दै भण्डारीले एमालेसँग दुरी नबढाउन राजपाका नेताहरुलाई आग्रह गरेकी थिइन् ।

जवाफमा मधेसी नेताहरुले संविधान संशोधन नभएसम्म दोस्रो चरणको चुनावमा आफूहरु सहभागी हुन नसक्ने राष्ट्रपतिलाई जानकारी दिएका थिए । कांग्रेस र माओवादी संविधान संशोधनको पक्षमा तयार भइसक्दा पनि एमालेकै कारण संविधान संशोधन हुन नसकेको भन्दै मधेसी नेताहरुले गुनासो राखेका थिए ।

राष्ट्रपति सबैको अभिभावक भएको हुनाले एकपटक संविधान संशोधनमा एमालेलाई पनि सम्झाइदिन र चुनावमा आउने वातावरण निर्माणमा भूमिका खेलिदिन मोर्चाका नेताले राष्ट्रपति भण्डारीसँग आग्रह गरेका थिए ।

राष्ट्रपतिले यसमा आफूले सबैपक्षसँग छलफल गर्ने बताएकी थिइन् ।

राष्ट्रपति भण्डारीले विभिन्न ६ वटा पार्टीहरु मिलेर राजपा बनेकोमा खुशी लागेको भन्दै पार्टी एकता गरेकोमा बधाइ दिएकी थिइन् । मधेसमा अहिले रहेका दल र नेताहरुको सम्मानजनक अवस्था निर्माण हुनुपर्छ भन्दै उनले मध्यमार्गी धार कमजोर भएमा अतिवादी तत्वहरु हाबी हुने चिन्ता व्यक्त गरेकी थिइन् ।

शीतलनिवासको भेटपछि राजपाका एक नेताले भने- ‘उहाँले हामीलाई एमालेसँग सम्बन्ध सुधार गराउन बोलाउनुभएको जस्तो देखिए पनि बडी ल्याङ्वेज हेर्दा मधेसप्रति भित्रैदेखि सकारात्मक देखिनुभएको पाइयो । र, संविधान संशोधनको पक्षमा रहेको हामीले महसुस गर्‍यौं, अब हामीलाई जस्तै एमालेलाई पनि यसैगरी सम्झाइदिए हुन्थ्यो ।’

एमालेको लाइनः मधेसीसँग नरम, संविधान संशोधनमा कडा

पछिल्लो समय नेकपा एमालेका नेताहरु मधेसी मोर्चाप्रति कम आक्रामक देखिन थालेका छन् । तर, यसको अर्थ एमाले संविधान संशोधनको प्रस्तावमा नरम भएको चाहिँ होइन ।

स्रोतका अनुसार एमालेले मधेसी मोर्चाका नेताहरुसँग नरम व्यवहार गर्ने तर, संविधान संशोधन प्रस्तावमा समर्थन नजनाउने नीति अपनाएको छ ।

साथै एमालेले कांग्रेस र माओवादीलाई घेरामा पार्न मोर्चालाई फकाउने कूटनीति सुरु गरिसकेको छ । उपेन्द्र यादव र केपी ओली यसवीचमा निकै नजिक भइसकेका छन् । ओलीले राजेन्द्र महतो, महन्थ ठाकुर लगायतलाई ‘न्युट्रलाइज्ड’ गर्ने रणनीति अघि सारेको छ ।

स्रोतका अनुसार मधेसी मोर्चाको एउटा बैठकमा उपेन्द्र यादवले मुखै फोरेर भनेका थिए- प्रचण्ड भन्दा केपी ओली धेरै ठीक छन् । ओली अडान भएका नेता हुन् ।’

के शीतलनिवासको मिथिला भोजन पनि ‘मधेसीलाई फकाउने तर संविधान संशोधन नगर्ने’ एमाले लाइनको कार्यान्वयन प्रयास हो ? या साच्चै नै राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको लाइनलाई क्रस गरेर मधेसलाई विश्वासमा लिन तयार भएकी हुन् ? यसको आँकलन स्वयं राजपाका नेताहरुले पनि गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment