Comments Add Comment

सुर्तीजन्य पदार्थमा अब शतप्रतिशत चेतावनीयुक्त चित्र: स्वास्थ्यमन्त्री थापा

२५ बैशाख, काठमाडौं । नेपाली बजारमा बिक्री वितरण गरिने सुर्तीजन्य पदार्थको बट्टा र प्याकेटमा शतप्रतिशत भाग ओगट्ने गरी चेतावनीमुलक चित्र वा सन्देश छाप्न लगाउने तयारी सरकारले गरेको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपाल सरकारले दुई वर्ष पहिले ७५ प्रतिशत चेतनावनीयुक्त चित्र तथा सन्देशलाई बढाएर ९० प्रतिशत बनाएको थियो । यद्यपी, कतिपय नेपाली सुर्ती उद्योगहरुले अटेर गरी ७५ प्रतिशत ओगट्ने गरी त्यस्तो चेतावनीमुलक चित्र वा सन्देश छाप्दै आएका छन् ।

स्वास्थ्यमन्त्री गगन कुमार थापाले सन् २०१८ सम्ममा लागू गर्ने योजनासहित सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’ अर्थात् बट्टा वा प्याकेटको पुरै भाग छोप्नुपर्ने नियम लगाउने तयारी सुरु गरेको जानकारी दिए । प्लेन प्याकेजिङ लागू भएमा चुरोट, सुर्ती, गुटखा लगायतका बट्टा वा प्याकेटमा कम्पनीको नाम तथा लोगो देखिने छैन ।

सन् २०२५ सम्ममा नेपालमा नसर्ने रोगका कारण मृत्यु हुने दरलाई २५ प्रतिशतले तथा १५ वर्ष वा सोभन्दा माथिका सुर्तीजन्य पदार्थ प्रयोगकर्ताको संख्या ३० प्रतिशतले कम गर्ने उद्देश्यका साथ सरकारले यस्तो अवधारणा अघि सारेको थापाले जानकारी दिए ।

राजधानीको होटल अन्नपूर्ण होटलमा सोमबारबाट सुरु भएको ‘सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि दक्षिण एसियाली नेतृत्वदायी तालिम’ उदघाटनका क्रममा मन्त्री थापालेे सन् २०३० सम्ममा नेपाललाई सुर्तीजन्य पदार्थरहित पुस्ता निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिए ।

उनले सुर्तीजन्य पदार्थ खरीदकर्ता तथा प्रयोगकर्ताको उमेर हद बढाएर २१ वर्ष पुर्‍याउने, सुर्तीजन्य पदार्थमा क्रमशः मूल्य वृद्धि गर्दै लैजाने र करको दायरामा ल्याइने जानकारी पनि दिए ।

स्वास्थ्य मन्त्रालय, जोन्स हप्किन्स व्लुवर्ग स्कुल अफ पब्लिक हेल्थ, द युनियन र एक्सन नेपालले संयुक्त रुपमा तालिम आयोजना गरिएको हो । तालिममा दक्षिण एसियाका आठ देशका सरकारी कर्मचारी, कानुन व्यवसायी, पत्रकार, सुर्तीजन्य पदार्थको नियन्त्रणको क्षेत्रमा कार्यरत सरोकारवाला लगायत ७२ जना प्रतिनिधि सहभागी छन् । तालिम सात दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment