समाचार लेखेको आधारमा फिल्मीखबर डटकममा कार्यरत रंग पत्रकार मनिष दाहालमाथि एक अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । मनिषमाथि ज्यान मार्ने धम्की आएपछि चलचित्र पत्रकार संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ-‘प्रकाशित समाचारमा चित्त नवुझे वा गुनासो रहे त्यसअपर अपनाउनुपर्ने कानुनी वा वैधानिक बाटोलाई छाडेर पत्रकारमाथि भएको यस किसिमको धम्की प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।’
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रेमगीत २’लाई असर पर्ने गरि समाचार लेखेको भन्दै उनलाई शनिबार राती धम्की आएको थियो । धम्कीमा आइन्दा यस्तो समाचार लेखेको खण्डमा जे पनि गर्न सक्ने भन्दै प्रकाशित समाचार हटाउन धम्की दिइएको थियो ।
नेपालगञ्जको नम्बरबाट आएको धम्कीपछि पत्रकार मनिषले संघमा सुरक्षा पाउँ भन्दै उजुरी दिएका थिए । चलचित्र पत्रकार संघले दोषीलाई तत्काल कारबाही गर्न र पत्रकारको सुरक्षाको प्रत्याभुती दिलाउन स्थानिय प्रशासनसँग माग गरेको छ ।
पत्रकार मनिषले ‘कहानी यो प्रेमगीतको भर्सेस भन्छु आज, दर्शकले रुचाए कुन ? शिर्षकमा समाचार लेखेका थिए ।
प्रतिक्रिया 4