Comments Add Comment

गोमा ढकालको पोखरा सपना- पाँच वर्षभित्र अन्तर्राष्ट्रिय उडान, सुकुम्बासीलाई लालपूर्जा

उपमेयरकी माओवादी उम्मेद्वार गोमा ढकाल

२८ बैशाख, पोखरा । पोखरा लेखनाथ महानगरपालिकामा उपमेयरकी माओवादी उम्मेद्वार गोमा ढकालले आफूले चुनाव जितेमा ५ वर्ष भित्रै पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्ने घोषणा गरेकी छन् । माओवादी केन्द्रको आयोजनामा बिहीबार पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ डिहिकोपाटनमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नै शुरु नभएकोप्रति आक्रोश व्यक्त गरिन् । आफूले चुनाव जितेलगत्तै विमानस्थल निर्माणको काम किन रोकियो भनेर पत्ता लगाउने, पाँच वर्षभित्रै निर्माण सम्पन्न गर्ने र पोखराबाट सिधै बिदेश यात्रा गर्ने वातावरण बनाउने दाबी गरिन् ।

उपमेयरकी उम्मेद्वार ढकालले बिसौं वर्षदेखि लालपूर्जा नपाएका सुकुम्बासीहरुलाई आफूले चुनाव जिते लालपूर्जा दिने आश्वासन पनि दिइन् । त्यस्तै उनले पोखरा लेखनाथ महानगरका ३३ वटै वडामा ‘आमा स्वास्थ्य’ कार्यक्रम मार्फत हरेक हप्ता निःशुल्क पाठेघर र स्तन क्यान्सरको जाँच गर्ने ब्यवस्था मिलाउने बताइन् ।

महानगरमा अर्गानिक तरकारी

ढकालले पोखरालाई अन्तर्राष्ट्रिय नमूना शहर बनाउने आफ्नो प्रमुख एजेण्डा भएको बताउँदै चुनाव जितेको १ वर्ष भित्रमा पोखरा लेखनाथ महानगरलाई धुवाँधुलो मुक्त बनाउने घोषणा गरिन् । कृषी, उद्योग, पर्यटन, ब्यापार र आवासका लागि छुट्टाछुट्टै स्थान तोकेर ब्यवस्थित सहर बनाउने उनको भनाई छ ।

त्यस्तै, तरकारीको पकेट क्षेत्र तोकेर उत्पादनमा कृषकलाई प्रोत्साहन गरेर महानगरलाई २ वर्षभित्रै तरकारीमा आत्मनिर्भर बनाउने दाबी गरिन् । उनले बिषादीको प्रयोगमा निषेध गरेर महानगरमा अर्गानिक तरकारी मात्रै प्रयोग गर्ने वातावरण निर्माण गर्ने बताइन् ।

पर्यटन उद्योगहरुको पनि उद्योग भएको बताउँदै महानगरमा रहेका तालहरुको संरक्षणसहित यसलाई पर्यटनसँग जोड्ने उदघोष गरिन् । उनले फेवाताल, बेगनासताल, रुपातालसहित सबै तालहरुमा फुट ट्रयाक निर्माण गर्ने, फेवातालको संरक्षणका लागि हर्पनखोलामा चेकड्याम बनाउने पनि बताइन् । लेकसाइडको ढल फेवातालमा मिसिएकोप्रति चिन्ता व्यक्त गर्दै अब यसको निकासका लागि सिमेन्टेड ढल बनाएर सिधै फुस्रेखोलामा मिसाउने आफ्नो योजना रहेको सुनाइन् ।

प्राविधिक शिक्षामार्फत युवालाई बिदेश जानबाट रोक्नुका साथै बेरोजगार युवालाई रोजगारको सिर्जना गर्ने उनले बताइन् ।

नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य तथा कास्की संयोजक दीपक कोइराला ‘रुपक’ले समृद्ध नेपाल निर्माणका लागि माओवादीलाई बिजयी गराउन आग्रह गरे । उज्यालो नेपाल अभियानमार्फत माओवादी नेतृत्वको सरकारले समृद्धीको आधार तयार पारेकाले अब यसको पूर्णताको लागि माओवादी केन्द्रलाई जिताउनुपर्ने उनको भनाइ थियो ।

उज्यालो नेपाल अभियान केवल बिजुली बत्तीको उपलब्धता मात्रै नभएको बताउँदै उनले भने, ‘बिजुली चौविसैघण्टा बलेपछि उद्योग धन्दा पनि चौबिसै घण्टा चल्न पाएका छन्, पर्यटन ब्यबसाय पनि चौविसै घण्टा चल्न पाएका छन्, त्यसले ब्यापार/ब्यवसाय र उत्पादन बढाएको छ, उद्योगी, ब्यवसायीले नाफा कमाएका छन्, बेरोजगारले काम पाएका छन्, उद्योग वा होटल/रेष्टुरेण्टमा खपत धेरै हुँदा कृषकले पनि बजार पाएका छन् र यसले समृद्धीको आधार तयार पारेको छ ।’

कोइरालाले माओवादीबाहेक अरु कुनैपनि दलले नेपालमा समृद्धी ल्याउन नसक्ने ठोकुवा गरे ।

वडा नम्बर ६ का माओवादी उम्मेद्वार लिलाधर अधिकारीले पर्यटनसँग सम्बद्ध संघसंस्थाहरुसँग मिलेर फेवातालको संरक्षणसहित पर्यटन थप गुणात्मक बनाउने बताए । उनले लेकसाइड क्षेत्रमा ट्राफिक ब्यवस्थापन अस्तब्यस्त बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै आफूले चुनाव जिते सार्वजनिक जग्गामा बहुतले भवन बनाएर त्यहाँ पार्किङको ब्यबस्थापन गर्ने बताए ।

कोणसभा अघि माओवादी केन्द्रका उपमेयरका उम्मेद्वार गोमा ढकाल, वडाध्यक्षका उम्मेद्वार लिलाधर अधिकारी, महिला सदस्य राधाकुमारी अधिकारी, दलित महिला सदस्य यमकुमारी सुनार -डल्ली), खुल्ला सदस्यद्वय रमेशराज पहारी, प्रेम पहारीसहितको टोलीले मोटरसाइकल र्‍याली निकालेका थिए ।

पोखरामा कांग्रेस र माओवादीले चुनावी तालमेल गरेका छन् । माओवादीले मेयर पदको उम्मेदवारी फिर्ता लिँदै कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई सघाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment