Comments Add Comment

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा सरकारले गरिदिने, कार्ययोजना पारित

४ जेठ, काठमाडौं । अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा अबदेखि सरकार आफैंले गरिदिने भएको छ ।

अपाङ्गता भएका व्यक्तिको मात्र नभई उसको स्याहारसुसार गर्ने परिवारका अन्य सदस्यको समेत स्वास्थ्य बिमाको प्रिमियम सरकारले नै तिरिदिने व्यवस्था गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो व्यवस्था अब आउने ‘राष्ट्रिय स्वास्थ्य बिमा विधेयक ०७४’ मा समेटिन लागेको हो । विधेयक हाल मन्त्रिपरिषद्‌मा पारित हुने क्रममा छ ।

विधेयक पारित हुनासाथ उक्त विधेयकलाई परिमार्जन गर्दै त्यसमा अपाङ्गता भएका व्यक्ति तथा उसको स्याहारसुसार गर्ने व्यक्तिको स्वास्थ्य बिमा समेत सरकारले नै गर्ने स्वास्थ्यमन्त्री गगनकुमार थापाले बताए ।

कुष्ठरोग नियन्त्रण महाशाखाद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा अपाङ्गता व्यवस्थापन रणनीति तथा १० वर्षे कार्ययोजना सार्वजनिक गर्दै मन्त्री थापाले यो रणनीतिलाई आजैबाट कार्यान्वयनमा लैजाने घोषणा गरे ।

अपाङ्गता व्यवस्थापन रणनीति अपाङ्गता कार्य समूहसँगको परामर्श र समन्वयबाट तयार पारिएको हो ।

रणनीति कार्यान्वयनका सन्दर्भमा अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीमा कर छुटका लागि शुक्रबारसम्ममा सूची तयार गरी मन्त्रालयमा पेश गर्न मन्त्री थापाले सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।

मन्त्री थापाले आगामी सात वर्षभित्रमा संघीय संरचना अन्तर्गत देशभरकै स्वास्थ्य संस्थाको पूर्वाधार निर्माण गर्दा अपाङ्गमैत्री बनाउन ध्यान दिइने बताए । उनले ठूला अस्पतालहरुलाई अपाङ्गमैत्री बनाउनुका साथै दोभासेको समेत व्यवस्था गरिने जानकारी दिए ।

हाल कुष्ठरोगको क्षेत्रमा मात्र काम गर्दै आएको कुष्ठरोग नियन्त्रण महाशाखाले नयाँ संरचना अन्तर्गत अब अपाङ्गताको क्षेत्रमा पनि काम गर्ने मन्त्री थापाले बताए । यसको लागि आवश्यक बजेट, स्रोत-साधनका लागि मन्त्रालयले काम गरिरहेको उनले जानकारी दिए ।

कार्यक्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिकी अध्यक्ष रञ्जुकुमारी झाले अपाङ्गता व्यवस्थापन रणनीति अटिज्मलाई पनि समेट्न जरुरी रहेको बताइन् ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीले सन् २०१८ सम्ममा नेपालका स्वास्थ्य संस्थाहरुलाई अपाङ्गमैत्री बनाउने योजना अनुसार काम भइरहेको जानकारी दिए ।

कार्यक्रममा कुष्ठरोग निवारण महाशाखाका निर्देशक चुडामणि भण्डारीले अपाङ्गता सम्बन्धी १० वर्षे कार्ययोजनाबारे प्रकाश पारेका थिए ।

अपाङ्गता व्यवस्थापन रणनीतिमा समेटिएका मुख्य विषय यस्ता छन्:

१. एकीकृत स्वास्थ्य सेवा अन्तर्गत उच्च प्राथमिकताका साथ अपाङ्गता रोकथाम, पुनर्स्थापना तथा व्यवस्थापन गर्ने, साथै पेशागत स्वास्थ्य समेत एकीकृत रुपमा सञ्चालन र व्यवस्थापन गर्ने ।

२. अपाङ्गता रोकथाम, पुनर्स्थापना तथा व्यवस्थापन कार्यक्रमको स्वास्थ्य सम्बन्धी योजना, अनुगमन, मूल्याङ्कन स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग तथा कुष्ठरोग महाशाखाले गर्नेछ ।

३. अपाङ्गता रोकथाम, पुनर्स्थापना तथा व्यवस्थापन कार्यक्रमको लागि आवश्यक मानव संसाधनको व्यवस्थापन गर्ने ।

४. अपाङ्गता भएका व्यक्तिहरुलाई आधारभूत तथा आवश्यकता अनुसार विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउन विद्यमान सरकारी अस्पताल, स्वास्थ्य केन्द्र तथा संस्थाहरुको क्षमता विकास, स्तर वृद्धि तथा प्रवर्द्धन गर्ने ।

५. बाल स्वास्थ्य तथा पोषणसम्बन्धी सरकारका कार्यक्रमहरुमा अपाङ्गता भएका बालबालिकाहरुका लागि लक्षित कार्यक्रमहरु लागू गर्ने ।

६. जन्मजात हुने अपाङ्गता, चोटपटकबाट हुने अपाङ्गता, मानसिक अपाङ्गता, सर्ने तथा नसर्ने रोगबाट हुने अपाङ्गतालाई रोकथाम गर्न  लक्षित कार्यक्रमहरु लागू गर्ने ।

७. स्वास्थ्य संस्था र स्वास्थ्य चौकीहरुको भौतिक संरचनाहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुसार अपाङ्गतामैत्री बनाउँदै लगिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment