Comments Add Comment

बाबुराम र प्रचण्ड ‘भिड्दा’ गोरखामा कांग्रेसलाई फलिफाप

'भाइ फुटे गँवार लुटे' भन्ने उखान चरितार्थ भयो

४ जेठ, गोरखा । माओवादी पार्टीमा आएको पछिल्लो विभाजनको सोझो असर गोरखा जिल्लामा देखिएको छ । माओवादीको पुरानो पकडका रुपमा रहेको गोरखा जिल्लामा उसले ११ वटा स्थानीय तहमध्ये दुईवटामा मात्रै जित हात पारेको छ ।

आफ्नो बलियो जनआधार रहेको दाबी गर्ने गोरखाका माओवादीले ‘भाइ फुटे गवार लुटे’ भन्ने नेपाली उक्ति व्यवहारिक रुपमै महशुस गरेका छन् ।

गोरखाको सुलिकोट र शहीद लखन थापा गाउँपालिका बाहेक स्थानीय तहमा माओवादी केन्द्रले अन्यमा जित हासिल गर्न सकेन । हारेका स्थानीय तहमा दोस्रो स्थानमा माओवादी केन्द्र आयो र कांग्रेससँग झिनो अन्तरले पराजित भयो ।

चुमनुव्री, धार्चे, अजिरकोट, आरुघाट, गण्डकी, सिरानचोक र भीमसेन गाउँपालिका तथा गोरखा र पालुङटार नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरे ।

रोचक कुरा त के छ भने माओबादीका उम्मेदवारले हारेका तहमा उसको र नयाँ शक्तिका उम्मेदवारको मत जोड्दा कांग्रेस निक्कै पछाडि हुन्छ । एक अर्कालाई सिध्याउने माओवादी र नयाँ शक्तिको रणनीतिको फाइदा यसटक गोरखाका कांग्रेसले लिएको छ ।

नयाँ संविधान जारी भएको २ दिनपछि ०७२ असोज ५ गते बाबुराम भट्टराईले माओवादी छाडे । त्यसपछि उनले नयाँ शक्ति नामको पार्टी खोले ।

गोरखाकै स्थायी बासिन्दा रहनुको नाताले भट्टराई र नयाँ शक्तिका लागि गोरखा प्रतिष्ठाको विषय थियो । पहिलो संविधानसभा निर्वाचन र ०७० को दोस्रो निर्वाचनमा भट्टराईले क्रमसः २ र १ नम्बर निर्वाचन क्षेत्रमा अत्यधीक बहुमतले जितेका थिए । तर, त्यही स्थानमा अहिले माओवादीको जनाधार खस्केको छ । यसको एउटै कारण माओवादीमा आएको विभाजन नै हो ।

स्थानीय तहको यस चुनावमा नयाँ शक्तिले गोरखाको पालुङटार नगरपालिकाको एउटा वडा र अन्य स्थानीय तहमा केही वडाहरुमा मात्रै जित्दा मुख्य पदमा माओवादीलाई हराउन उनीहरुको मत पर्याप्त देखियो ।

पार्टी विभाजन भए पनि चुनावमा आपसी सहकार्य गरेको भए गोरखामा प्रचण्ड र बाबुराम दुबैको हित हुने थियो । तर, एकअर्कालाई हराउनुमा नै आफ्नो बहादुरी ठानेका कारण गोरखामा प्रचण्ड र बाबुराम दुबै पक्षलाई घाटा लागेको छ भने यसको सोझो फाइदा कांग्रेसले उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment