Comments Add Comment

नेतृत्वमा धमाधम छानिँदै महिला, दन्ता बनिन् कान्छी उपप्रमुख

६ जेठ, काठमाडौं । पहिलो चरणमा निर्वाचन भएका २ सय ८३ स्थानीय तहमध्ये झन्डै एक दर्जन स्थानमा विभिन्न दलका नेत्रीले प्रमुख पदमा जित हासिल गरेका छन् । उपप्रमुख पदमा भने अधिकांश स्थानमा महिला चुनिएका छन् ।

माओवादी केन्द्रकी उम्मेदवार प्रधानमन्त्री पुष्पकमल दाहालपुत्री रेणुको निर्वाचन क्षेत्र भरतपुर महानगरमा अन्तिम परिणाम आइनसके पनि देशभरका विभिन्न नगरपालिका र गाउँपालिकामा एक दर्जन महिला नगरप्रमुखमा चुनिइसकेका छन् ।

जुम्ला चन्दननाथ नगरपालिकामा २८ सय ६ मत हासिल गरेर कान्तिका सेजुवालले नेपालकै पहिलो महिला नगरप्रमुखको परिचय बनाएकी छन् । कांग्रेसकी कान्तिकाले एमालेका शान्तिलाल महतलाई सात सय ११ मतले पराजित गरेकी हुन् । करिब दुई वर्षअगाडि भएको विमान दुर्घटनामा पति गुमाएपछि उनी राजनीतिमा लागेकी थिइन् ।

टिकट पाएपछि आलोचित भएकी कान्तिकालाई यो जितले खुसीसाथै चुनौती पनि थपेको छ । उनले आफ्नो नगरलाई स्मार्ट सिटी बनाउने लक्ष्यले पाँचबर्से अल्पकालीन र २० बर्से दीर्घकालीन योजना तयार पारेकी छन् ।

रुकुमको मुसीकोट नगरपालिकामा माओवादी केन्द्रबाट चुनाव लडेकी प्रेमकुमारी सुनार केसी उपमेयरमा विजयी भइन् । उनका पति गोप्यश्वर केसीले वडा नं १० को अध्यक्ष पद जितेका छन् । सार्की परिवारमा जन्मिएकी २६ वर्षीया दन्ता नेपाली (दर्शना) ले कालीकोटको तिलागुफा नगरपालिकामा चुनावी प्रतिस्पर्धामा उत्रिएर सबैभन्दा कान्छी उपप्रमुख बन्ने सौभाग्य पाएकी छन् । माओवादी केन्द्रले चुनावमा उठाएकी दर्शना हाल स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् । कांग्रेस उम्मेदवारलाई हराउँदै गोरखाको पालुङटार नगरपालिकाको उपप्रमुख पदमा २९ वर्षीया पम्फा बसेलले जितेकी छन् । उनी माओवादीकी पूर्वछापामार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment