+
+
Shares

छाडा चौपायाबाट वीरगञ्ज महानगरले कमायो ९१ हजार

४८ घण्टाभित्र जरीवाना नतिरे जफत

सुरेश बिडारी सुरेश बिडारी
२०७५ चैत १२ गते १२:५३

१२ चैत, वीरगञ्ज । छाडा चौपाया नियन्त्रण अभियान थालेको वीरगञ्ज महानगरपालिकाले जरीवाना तिरेर पशु फिर्ता नलगे जफत गर्ने भएको छ । पशु चौपाया सडकमा प्रवृृत्ति नरोकिएपछि महानगरपालिकाले थप कडाइ गरेको हो ।

यसअघि महानगरपालिकाले नियन्त्रणमा लिएको पशु चौपाया पशुधनीसँग जरीवाना लिएर जिम्मा लगाउने र लिन नआएको खण्डमा पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा लगेर छोड्ने गरेको थियो । चालु आर्थिक वर्षमा मात्रै महानगरपालिकाले १३ वटा पशु चौपाया पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा लगेर छोडेको थियो ।

समातिएका पशु चौपाया अबदेखि भने आदर्शनगरस्थित अस्थायी काञ्जी हाउसमा राखिनेछ । ४८ घण्टाभित्र पशुधनीले जरीवाना तिरेर ती चौपाया नलगे हेटौंडा पठाइने महानगरपालिकाले जनाएको छ ।

त्यसका लागि वीरगञ्ज महानगरपालिकाले हेटौंडा उपमहानगरपालिका-१६ स्थित लक्ष्मी चौपाया सप्लायर्ससँग सम्झौता गरिसकेको छ ।

फागुन २८ गते महानगरपालिका र लक्ष्मी चौपाया सप्लायर्सबीच भएको सम्झौतामा लक्ष्मी चौपाया सप्लायर्सले वीरगञ्ज महानगरपालिका तोकेको स्थानमा ४८ घण्टासम्म राख्ने उल्लेख छ । ४८ घण्टाभित्र सम्बन्धित पशु चौपाया धनी सम्पर्कमा नआएमा सुरक्षित पालनपोषण र व्यवस्थित खानपानको व्यवस्था गर्ने गरी जिम्मा लिने उल्लेख छ ।

तर, चैतदेखि भदौसम्म महानगरपालिकाले चौपाया फिर्ताको आग्रह गरेमा दिन सकिने प्रावधान राखिएको छ ।

सम्झौतापछि लक्ष्मी सप्लायर्सले १४ पशु चौपाया हेटौंडा लगिसकिएको छ । चैत ३ गते ६ वटा र चैत ५ गते ९ चौपायालाई हेटौंडा पठाइएको हो ।

फार्ममा गाईबस्तु पाल्ने सोचले वीरगञ्ज महानगरपालिकासँग सम्झौता गरिएको लक्ष्मी चौपाया सप्लायर्सका शंकरबहादुर कार्कीले बताए । ‘पानी र घाँसको पायक पर्ने ठाउँमा फर्म छ । निरोगी पशुहरु पाल्न कुनै समस्या छैन । अहिले पनि फार्ममा १० वटा गाईबस्तु छन्’, उनले भने, ‘गाईको उद्दार गर्दा धर्म पनि हुन्छ, गोबर मल काम लाग्छ, दूध उत्पादन गर्न सके आर्थिक उपार्जन पनि हुन्छ भनेर वीरगञ्ज महानगरपालिकासँग सम्झौता गरेका हौं ।’

उनले जितपुर सिमरा उपमहानगरपालिकाबाट पनि आफूले ७ वटा पशु चौपाया लिएर गएको सुनाए । यसरी लगेका पशु चौपायामध्ये कतिपय रोगी हुने हुँदा मर्ने गरेको उनको अनुभव छ ।

छाडा पशु चौपायाबाट ९१ हजार आम्दानी

चालु आर्थिक वर्ष ०७५/७६ मा व्यवस्थित वीरगञ्ज अभियानले पनि वीरगञ्ज महानगरपालिकाभित्र छाडा छोडिएका पशु चौपाया नियन्त्रणमा सहयोग गरिरहेको छ । अभियानकै प्रयासमा वीरगञ्जको आदर्शनगरमा अस्थायी काञ्जी हाउस बनाइएको हो ।

छाडा छोडिएका पशु चौपायाका धनीलाई कारबाही गरेर चालु आर्थिक वर्षमा महानगरपालिकाले ९१ हजार ३ सय रुपैयाँ जरीवाना संकलन गरिसकेको छ । महानगरपालिकाका नगर प्रहरी इञ्चार्ज प्रभु पटेलले जरीवाना रकम मध्येबाट नगर प्रहरीलाई ३५ प्रतिशत प्रोत्साहन भत्ता दिने गरिएको बताए । वीरगञ्ज महानगरपालिकामा १४ जना नगर प्रहरी कार्यरत छन् ।

जथाभावी छोडिएका पशु चौपाया सडकमा बस्ने, फोहोरमा चर्ने गरेका कारण ट्राफिक र फोहोर व्यवस्थापनमा समस्या श्रृजना गर्नुको साथै दुर्घटनाको जोखिम बढिरहेको छ ।

सडकमा राखिएको फोहोर उठाउनुभन्दा अघि नै पशु चौपाया गएर छरिदिने गरेका छन् । महानगरपालिकाको मुख्य चोक घण्टाघर, माईस्थान, गहवामाई क्षेत्र र भित्री गल्लीहरुमा समेत पशु चौपाया देखिने गरेका छन् । जसले गर्दा ट्राफिक व्यवस्थापनमा निकै समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंह बताउँछन् ।

नगरबासीले दूध दिने दिनसम्म पाल्ने त्यसपछि सडकमा छोडिदिने गरेका छन् । छाडा चौपायाका कारण दुर्घटनाको जोखिम, नगरलाई प्रदुषित गर्ने गरेपछि नियन्त्रण अभियान सञ्चालन गरिएको व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलीपराज कार्कीले बताए ।

महानगरपालिका क्षेत्रभित्र जथाभावी पशु चौपाया बाटोमा छोडेको तथा निर्माण सामग्री राखिएको पाइमा जफत गरी कारबाही गर्न सक्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा छ ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?