Comments Add Comment

चलचित्र पत्रकारिता दिवसमा अनलाइनखबरकर्मी सुवेदी पुरस्कृत


चलचित्र पत्रकार संघ, नेपालले आफ्नो १८ औ बाषिर्कोत्सवको अवसर पारेर ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ प्रदान गरेको छ ।
काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथीद्धय नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र बिष्ट र बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले सम्मानित र पुरस्कृत हुने पत्रकारहरुलाई सम्मान पत्र, ट्रफी प्रदान गरेका थिए ।

यो बर्षको चलचित्र पत्रकारिता सम्मानबाट डाक्टर नवराज लम्साललाई सम्मानित गरिएको हो । उनको अनुपस्थितीमा उनकी धर्मपत्नीले सम्मान ग्रहण गरिन् ।

यस्तै, यो बर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट सगरमाथा टेलिभिजनमा कार्यरत रंग पत्रकार पारस पौडेल र अनलाइनखबर डट कममा कार्यरत चलचित्र पत्रकार विजय सुवेदी ‘आवाज’लाई पुरस्कृत गरियो ।

पौडेल र सुवेदीलाई सम्मान पत्र, ट्रफी र नगद २१ हजार सहित पुरस्कृत गरिएको हो । पुरस्कार प्राप्त गरेपछि पत्रकार विजय सुवेदीले भने-‘१२ बर्षदेखि गरेको मिहिनेतको फल प्राप्त भएको महुशश गर्दैछु । साथै, चलचित्र पत्रकारिता पेशामा मेरो जिम्मेवारी अझ थपिएको छ ।’

यस्तै, चलचित्र पत्रकार संघले यसैबर्षबाट ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ पनि प्रदान गरेको छ । यो बर्ष पत्रकार स्वेच्छा राउतलाई सम्मान पत्र, ट्रफी र ल्यापटप सहित यो पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्षहरुले शुभकामना दिदै चलचित्र पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउनुपर्ने बताए । यस्तै, कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले चलचित्र पत्रकारहरुले नेपाली चलचित्र क्षेत्रको विकासमा टेवा पुर्‍याएको बताए ।

अर्का, प्रमुख अतिथी कलाकार हरिवंश आचार्यले चलचित्र पत्रकारिता पनि डिजिटल यूगमा प्रवेश गरेको बताए । कार्यक्रममा, चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भरत शाक्य, पूर्व अध्यक्ष विदुर गिरीले चलचित्र पत्रकारिता अझ परिस्कृत बन्दै गएको बताएका थिए ।

चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले संघले चलचित्र पत्रकारहरुको हक हितका लागि सधै काम गरिरहने बताए । उनले विभिन्न कष्ट र भोगाइका बाबजुत पनि आफूहरु निरन्तर चलचित्र पत्रकारहरुको हक हितका लागि लागिपर्ने बताएका थिए ।

चलचित्र पत्रकार संघ, नेपालले हरेक बर्षको जेठ ७ गते स्थापना दिवसको अवसर पारेर कार्यक्रम गर्दै आइरहेको छ । यस्तै, कार्यक्रममा कलाकार दिपक क्षेत्रीको उपचारका लागि चलचित्र पत्रकार संघको पहलमा संकलन भएको नगद ७ लाख ३ हजार ३ सय ३५ रुपैयाँ पनि हस्तान्तरण गरिएको थियो । साथै, संघको १८ औ बाषिर्कोत्सवको अवसर पारेर केक पनि काटिएको थियो ।

तस्बिरः श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment