Comments Add Comment

राप्रपाको निष्कर्षः चुनावी परिणामबाट विचलित हुनुपर्दैन

चुनाव नसकिएसम्म केन्द्रीय सदस्यले जिल्ला छाड्न नपाउने

८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षित परिणाम प्राप्त हुन नसकेको बताएको छ । तर, परिणामबाट चिन्तित र विचलित हुनु पर्ने अवस्था नरहेको बताएको छ ।

तुलनात्मक रुपमा कमजोर संगठन, साधन श्रोतको कमी एवं पार्टीको वैचारिक निष्ठा र राजनैतिक अडानबारे योजनावद्ध ढंगले सिर्जना गरिएको भ्रमका कारण अपेक्षित परिणाम नआएको राप्रपाले बताएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको माध्यमबाट पार्टीको एजेण्डा र अडानप्रति आमजनतामा चेतनाको अभिवृद्धि गर्न एवं संगठनको प्रभाव विस्तार गर्न सक्षम भएकोमा बैठक सन्तोष प्रकट गर्दछ ।’

राप्रपाले एक स्थानीय तहमा जित हात पारेको छ । एमालेसँग काठमाडौं र ललितपुरमा तालमेल गर्दै उपमेयरमा उम्मेदवारी दिएपछि जितको सम्भावना देखिएको छैन ।

बैठकले स्थानीय तह निर्वाचनको समग्र समिक्षा र पार्टीको स्थितिबारे अध्ययन गरी सुझाव दिन महामन्त्री ध्रुवबहादुर प्रधानको संयोजकत्वमा समिति गठन गरेको छ ।

राप्रपाले दोश्रो चरणको निर्वाचनको तयारी थालेको छ । उसले तयारीमा जुट्न पार्टीका सवै तहका निकाय र कार्यकर्ताहरुलाई भनेको छ । साथै दोश्रो चरणको निर्वाचनमा पार्टीलाई बढीभन्दा बढी सफलता दिलाउन भन्दै चारबुँदे निर्देशन जारी गरेको छ ।

चुनाव नसकिएसम्म केन्द्रीय सदस्यले जिल्ला छाड्न नपाउने

जेठ २१ गतेभित्र जिल्लास्तरीय कार्यकर्ता भेला गर्ने निर्णय राप्रपाले गरेको छ । विभिन्न दलहरुसँग तालमेल गर्ने जिम्मेवारी जिल्ला कार्य समितिलाई दिएको छ भने सम्पूर्ण केन्द्रीय सदस्यहरु जेठ १५ देखि चुनाव नसकिएसम्म अनिवार्य रुपले जिल्लामा बस्नु पर्ने निर्णय गरेको छ ।

राप्रपाले दोस्रो चरणको चुनाव हुन लागेको बेला पूर्ण बजेट नल्याउन सरकारलाई सुझाव दिएको छ । दीर्घकालिन योजना र कार्यक्रम सहित पूर्ण बजेट ल्याउन अनुपयुक्त भन्दै उसले साधारण बजेट मात्र संसदमा पेश गर्न सरकारसँग माग गरेको छ ।

साथै स्थानीय तह निर्वाचनको क्रममा बैशाख ३१ गते कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ६ मा सुरक्षाकर्मीको गोलीबाट मारिएका वडाध्यक्षका उम्मेद्वार धनरुप बटालालाई शहीद घोषणा गर्न र घाइतेको उपचार गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment