+
+
Shares

रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग खुश्बु ओलीको माग

राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले रुसमा रहेका नेपाली नागरिकहरूले भोगिरहेका समस्याहरूतर्फ सरकारको ध्यानाकर्षण गराएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले रुसमा रहेका नेपालीले कमाएको रकम वैधानिक रूपमा नेपाल पठाउन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराइन् ।
  • उनले रुससँग द्विपक्षीय बैंकिङ सम्बन्ध सुधारेर हुन्डीजस्तो अनौपचारिक कारोबार रोक्न राष्ट्र बैंकलाई विकल्प खोज्न आग्रह गरिन् ।
  • ओलीले रुसमा पूर्ण छात्रवृत्ति पाएका नेपाली विद्यार्थीलाई एनओसी नदिँदा अवसर गुम्ने जोखिम रहेको र चिकित्सा शिक्षाको मान्यतामा ‘इक्विभ्यालेन्ट म्याट्रिक्स’ चाहिने बताइन् ।

८ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले रुसमा रहेका नेपाली नागरिकहरूले भोगिरहेका समस्याहरूतर्फ सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले रुससँगको द्विपक्षीय बैंकिङ सम्बन्ध, छात्रवृत्ति प्राप्त विद्यार्थीहरूको एनओसी, चिकित्सा शिक्षाको मान्यता र श्रम स्वीकृतिलगायतका विषयमा तत्काल नीतिगत पहल गर्न माग गरेकी हुन् ।

सांसद ओलीले हाल रुसमा रहेका नेपालीहरूले आफ्नो कमाई वैधानिक रूपमा नेपाल पठाउन नसकिरहेको अवस्थालाई पहिलो गम्भीर समस्याका रूपमा औंल्याइन् ।

रुस–युक्रेन युद्धपछि रुसी बैंकहरू अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट प्रभावित हुँदा नेपाली नागरिकले नगद नै बोकेर नेपाल ल्याउनुपर्ने बाध्यात्मक अवस्था रहेको उनले बताइन् । यसले हुन्डीजस्तो अनौपचारिक कारोबारलाई प्रश्रय दिने भन्दै उनले भारतसँगको बैंकिङ संयन्त्र जस्तै अन्य विकल्पहरूको खोजी गर्न राष्ट्र बैंकलाई आग्रह गरिन् ।

शिक्षाको क्षेत्रमा देखिएका समस्याबारे बोल्दै उनले भनिन्, ‘रुस सरकारले दिएको पूर्ण छात्रवृत्ति पाएका नेपाली विद्यार्थीले समेत एनओसी नपाउँदा अवसर गुम्ने जोखिम बढेको छ ।’

रुसबाट चिकित्सा शिक्षा हासिल गरेका डाक्टरहरूको दर्ता र इन्टर्नसिपमा देखिएको जटिलता अन्त्य गर्न नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले ‘इक्विभ्यालेन्ट म्याट्रिक्स’ तयार गर्नुपर्नेमा उनले जोड दिइन् ।

श्रम स्वीकृतिको विषयमा धारणा राख्दै सांसद ओलीले सैन्य क्षेत्रमा रोक लगाउनु ठिक भए पनि गैरसैन्य क्षेत्रमा चरणबद्ध रूपमा श्रम स्वीकृति खुलाउन सरकारलाई सुझाव दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?