Comments Add Comment

रुकुमका कामी बुढा शहीद घोषणा, को हुन् कामी बुढा ?

९ जेठ, काठमाडौं । सरकारले रुकुमका कामी बुढामगरलाई शहीद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई शहीद घोषणा गरेको हो ।

कामी बुढामगरलाई कम्युनिष्ट आन्दोलनमा लागेको भन्दै तत्कालीन सरकारले २०१० सालमा हत्या गरेको थियो । उनलाई माओवादीले जनयुद्धकालदेखि नै शहीदको रुपमा सम्मान गर्दथ्यो ।

कामी बुढा अर्थात् किसान आन्दोलनको कमाण्डर

कामी बुढामगरको जन्म रुकुमको चौखावाङ-८, खर्सुपानीमा १९७८ सालमा भएको थियो । बाबु खिन्तु बुढा र आमा मंगली बुढाको कोखबाट जन्मिएका उनी भारतीय सेनामा भर्ना भएका थिए । कलकत्तामा रहेर भारतीय सेनामा काम गर्दा उनले सैन्य शिक्षा फस्टक्लास पास गरेका थिए । त्यसैले उनलाई भारतीय सेनाले प्रशिक्षकको समेत जिम्मेवारी दिएको थियो । भारतीय सेनामा उनी ‘कमानसिंह बुढा’को नामबाट परिचित थिए ।

विभाजनको चपेटामा परेको भारतमा हिन्दू-मुस्लिमको धार्मिक हिंसा, पाकिस्तानसँगको लडाईं, भारतीय माओवादीको विद्रोह लगायतका घटनाक्रमलाई नजिकबाट नियाल्ने मौका पाएका उनी अन्ततः भारतीय सेनाको जागिर छाडेर नेपाल फर्किए ।

नेपाली कांग्रेसले सुरु गरेको सशस्त्र विद्रोहमा कामी बुढा पनि मिसिए । २००७ को आन्दोलनमा उनी सिउराज (भैरहवा) क्षेत्रमा डा. केआई सिंह नेतृत्वको मुक्ति सेनामा संलग्न थिए । दिल्ली सम्झौताले कांग्रेसको मुक्ति आन्दोलन मत्थर भएको थियो तर केआई सिंह उक्त सम्झौताको विपक्षमा थिए । अन्तत तत्कालीन सरकारले केआई सिंहलाई पक्राउ गर्‍यो ।

कामी बुढा भने भैरहवाबाट पाल्पातर्फ लागेर कम्युनिष्ट आन्दोलनमा होमिए । त्यसबेला कम्युनिस्ट पार्टीको कर्णाली प्रदेश इन्चार्ज शैलेन्द्रकुमार उपाध्याय र सेक्रेटरी पाल्पाका कमलराज रेग्मी थिए । कम्युनिष्ट पार्टी भूमिगत भएकाले किसानहरुको आन्दोलन गर्ने भन्दै कामी बुढालाई तत्कालीन प्युठान, सल्यान, दैलेख, जुम्ला र हुम्ला जिल्लाको जिम्मेवारी दिएर पश्चिम नेपाल पठाइयो ।

हालको रोल्पाको भूगोल त्यतिबेला प्युठानमा र रुकुमको भूगोल सल्यानमा थियो ।

किसान आन्दोलनको क्रममा कामी बुढा धनबहादुर, शेरसिंह लगायतका नामबाट चिनिए । उनको अगुवाईमा किसान आन्दोलन चर्किंदै गएको थियो । २००९ सालमा हुम्लाबाट उनी पक्राउ परे । उनीसहित पक्राउ परेका १९ जनालाई जुम्लाको तत्कालीन सदरमुकाम चौभानमा पुर्‍याइयो । जुम्लामा पनि केही आन्दोलनकारी पक्राउ परेका थिए । पक्राउ परेकाहरु अधिकांश रिहा भए पनि कामी बुढालाई भने रिहा गरिएन । बरु २०१० सालमा दशैंको फूलपातीको दिन कामी बुढाको हत्या भयो ।

उनीसँगै पक्राउ परेका भवानीप्रसादलाई भने जुम्लाको डाँडा कटाइयो । त्यतिबेला जुम्लाका बडाहाकिम श्रीबहादुर खत्री र बनहाकिम कोमलदत्त तिवारी थिए । पाल्पामा बडाहाकिम तारकबहादुर शाह, प्युठानका प्रतिमान चन्द बोहरा, सल्यानमा खाँड ठकुरी, दैलेखमा भुवनविक्रम शाह रहेको जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment