Comments Add Comment

ललितपुर महानगर र हेटौंडा उपमहानगरको मतगणना रोचक मोडमा

९ जेठ, काठमाडौं । पहिलो चरणको निर्वाचन भएका २८३ स्थानीय तहमध्ये अधिकांश नगर र गाउँपालिकाको परिणाम आइसक्दा चार महानगर र एक उपमहानगरपालिकाको मतगणना रोचक ढंगले चलिरहेको छ ।

कालिकोटको नरहरीनाथ र दोलखाको मेलुङ गाउँपालिका बाहेक अब अरु नगर र गाउँको परिणाम आइसकेको छ ।

चार महानगरपालिकामध्ये काठमाडौं, पोखरा र भरतपुरमा एमालेले फराकिलो अग्रता लिइरहेका बेला ललितपुर महानगरपालिकामा भने कांग्रेस र एमालेको रोचक प्रतिस्पर्धा छ ।

सुरुमा केही समय अग्रता लिएका एमालेका हरिकृष्ण ब्यञ्जनकार त्यसपछि लगातार कांग्रेसका चिरिबाबु महर्जनको पछि-पछि छन् ।

दुई हजारसम्मको अग्रता तोडेर २ सयमा खुम्च्याएका ब्यञ्जनकारले आफूले अपेक्षा गरेका वडाहरुबाट अपेक्षित मत नपाएपछि तनावमा देखिन्छन् । २७ र २८ वडाको मत गणना भइसके पनि जोडेर अन्तिम परिणाम बाहिर आएको छैन ।

२६ वडासम्म मतणना सकिँदा कांग्रेसका महर्जनले २ सय मतको अग्रता लिइरहेका थिए । अबको मत परिणाम बाहिर आउँदा पनि महर्जनलेनै अग्रता बढाए भने ब्यञ्जनकारको जितको सम्भावना समाप्त हुनेछ ।

२९ नम्बर वडामात्र गन्न बाँकी रहँदा दुवै उम्मेदवार जित वा हार आँकलन गर्न अझै सकिरहेका छैनन् । जसले जिते पनि ५ सय मतभित्रै हारजित हुने सम्भावना अनलाइनखबरले सोमवारै विश्लेषण गरेको थियो ।

मतगणनाको अन्तिम चरणको रुझान्ले पनि त्यस्तै देखाएको छ । एमालेले २० नम्बर वडापछि अपेक्षा गरेको मत नपाएको र माओवादीले अनपेक्षित मत ल्याएकालेले ब्यन्जनकार निराश देखिएका छन् ।

उता हेटौंडा उपमहानगरपालिकामा पनि शुरुदेखि अन्तिमसम्मै कांग्रेसले मेयरमा अग्रता लिइरहे पनि पछिल्लो पटक आएर एमालेका हरिबहादुर महतले डेढ सयले अग्रता लिएका छन् ।

तर त्यहाँ पनि कांग्रेस र एमाले जसले जिते पनि ५ सय भन्दा तल एक दुई सयको अन्तरमा हारजित हुने आँकलन गरिएको छ । उपमेयरमा भने एमालेकी मीना तामाङ भारी मतान्तरसहित अग्रस्थानमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment