
१५ जेठ, चितवन । मध्यरातमा मतपत्र च्यातिएपछि भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तनाव सिर्जना भएको छ । अहिले मतगणना रोकिएको छ ।
मतगणना अन्तिम चरणमा पुगेका बेला मतपत्र च्यातिएपछि तनाव बढेको छ । मत गणनास्थलमा मेयर पदका उम्मेदवारहरु एमालेका देबी ज्ञवाली र माओवादीकी रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपाने र प्रतिनिधि द्रोण सिवाकोटीले मतपत्र च्यातेका एमाले नेताहरूले आरोप लगाएका छन् । माओवादी नेताहरुले भने रेणु दाहालले देबी ज्ञवालीसँगको मत अन्तर घटाइरहेको देखेर आत्तिएका एमाले कार्यकर्ताहरुले मतपत्र च्यातेको दाबी गरेका छन् ।
प्रहरीले न्यौपाने र सिवाकोटी तथा एमाले कार्यकर्ता गंगा लामालाई मतगणनास्थलबाट पक्राउ गरेको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले भने मतपत्र कसले च्यात्यो भनेर एकीन भइनसकेको बताए ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो ।

एमाले मेयरका उम्मेदवार देबी ज्ञवालीले भने भरतपुर महानगरपालिकामा माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको दाबी गरेका छन् । यसबारे आफूहरुलाई पूर्वसूचना भएकाले सुरक्षाकर्मीलाई जानकारी गराएको तर रोक्नेतर्फ ध्यान नदिइएको उनले आरोपसमेत लगाए ।
मध्यरातमा मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले पत्रकार सम्मेलन गरी मतगणना स्थगित भएको घोषणा गरेका हुन् । उनले घटनाको छानबिन प्रतिवेदन आयोगमा बुझाउने र आयोगको निर्णयअनुसार अघि बढ्ने बताए ।
यो पनि पढ्नुहोस्
मुख्य निर्वाचन अधिकृतले भने– म पिसाब फेर्न गएकोबेला मतपत्र च्यातियो, अब छानबिन समिति बनाउँछौं
माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातियोः देबी ज्ञवाली
प्रतिक्रिया 4