Comments Add Comment

तटबन्धनले सरपल्लोका सयकडौँ घरपरिवार सुरक्षित

१८ जेठ, महोत्तरी । महोत्तरीको साबिक सरपल्लो गाविस–८ मा तीन वर्षअगाडि निर्माण गरिएको तटबन्धले स्थानीय सयकडौँ घरपरिवार सुरक्षित भएका छन् । बर्सेनि बर्खायाममा गाउँको छेउबाट बग्ने रातु र जङ्घानदीमा आउने बाढीले जनधनको क्षति हुने डरले रातभरि नै जाग्राम बस्दै आएका स्थानीयवासी आजभोलि सुरक्षित महसुस गर्दै निर्धक्क भई रात बिताउन पाएका छन् ।

करिब ३ वर्षअगाडि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र जिइएफको आर्थिक सहयोगमा जल तथा मौसम विज्ञान विभागद्वारा सञ्चालित समुदायमा आधारित बाढी तथा हिमपात विस्फोटन जोखिम न्यूनीकरण आयोजनाअन्तर्गत सरपल्लोको छेउबाट बग्ने रातु र जङ्घा नदीमा निर्माण गरिएको तटबन्धले करिब ५०० घरपरिवार सुरक्षित भएका छन् ।

हालसम्म रु दुई करोडभन्दा बढी रकम खर्चिएर सो क्षेत्रमा बसोबास गर्नेलाई बर्खायाममा सुरक्षित बनाउन सफल भएका छन् त्यस क्षेत्रमा तटबन्धनसँगै जिल्ला वन कार्यालयले गरेको वृक्षारोपणले तटबन्धनमा थप मद्दत पुगेको छ ।

बर्सेनि बर्खायाममा अतिजोखिम क्षेत्रमा रहेको सरपल्लोवासीलाई सम्भावित बाढीको खतराबाट बच्न अपनाउन सकिने तरिकासमेत सिकाइएको र बाढीबाट बच्न प्रयोग हुने साधनसमेत हस्तान्तरण गरिएको युएनडिपी र जिइएफका जिल्ला आयोजना अधिकृत दिनेशकुमार साहले बताए । उनले सरपल्लोमै सेल्टर निर्माण गरिएकाले बाढीको खतरा न्यून गर्न मद्दत पुगेको अधिकृत साहले जानकारी दिए ।

तटबन्धनसँगै नदीमा बाढी आउने खतरा मापन गरी साइरन बज्ने प्रविधिको प्रयोग गरिएकाले बर्दिवासको कालापानीमै नदीको जलस्तर बढे विभिन्न तीन किसिमको बत्ती र साइरनले खतराको सङ्केत गर्ने आयोजना अधिकृत साहले बताउनुभयो । उहाँले बर्दिवासमै जलस्तर वृद्धि भए सरपल्लोमा समेत जानकारी आउने र सम्भावित खतराको सामना गर्न पर्याप्त समय हुने बताउनुभयो । उनले सरपल्लोमै सेल्टरसमेत निर्माण गरिएको बताए ।

पाँच वर्षअगाडि बर्सातको मौसममा घर नै बग्ने डरले रातिको समयमा जाग्राम बस्नुपर्ने बाध्यता रहँदै आएको स्थानीयवासी मनतोरिया देवीले बताइन् । रातु र जङ्घा नदीको सङ्गम रहेको सरपल्लो गाउँ नै हरेक वर्ष डुबानमा परी घरपालुवा जीवजन्तु, खेतबारी र घर नै बग्ने डरले बर्खायाममा हुँदै आएको डर तटबन्ध निर्माणले अन्त्य भएको स्थानीयवासी रामचन्द्र महतोले बताए।

नदीको दुवै छेउमा तारको जालीभित्र ढुङ्गा हालेर तटबन्ध निर्माण भएसँगै सो स्थानमा स्थानीयवासीले धमाधम पक्की घर पनि निर्माण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment