Comments Add Comment

शहीदका छोरीलाई भेट्न जाँदा !

शहीदगेटमा निकै तामझाम थियो । त्यो तामझामले हामीलाई छिसिक्क पनि छोएको थिएन । केही दिन अगाडि नै शहिदपत्नी तक्मा केसी र म शहीद दिवसको दिन पारेर भक्तपुर, सूर्यविनायक नगरपालिकाको कटुञ्जेमा रहेको एउटा परिवारमा जाने निधो गरेका थियांै ।

भौतिकरुपमा हामी त्यति धेरै परिचित नभए पनि भावनात्मकरुपमा त्यो परिवारसँग अत्यन्तै निकट रहेको महशुस हुन्थ्यो । हाम्रो आफन्तको बलिदानी र त्यो परिवारको सदस्यको बलिदानीले हामीलाई निकै भावविह्वल बनाउँथ्यो । हामी आफंै त्यहाँ पुग्न सक्ने अवस्था थिएन ।

कसैको सहारामा जानुपर्ने अवस्था रहेकाले हामीले भक्तपुरका वैद्य माओवादीका तत्कालीन जिल्ला इञ्चार्जको सहयोगमा पुग्ने योजना बनायौं र सहयोग माग्यांै । उहाँहरुले पनि हामी दुबै शहिदपत्नीलाई शहिद परिवारसँग भेटाउन लगाउँदा अस्वीकार गर्ने कुरै भएन । हामी उहाँहरुका साथमा सूर्यविनायक चोकबाट अगाडि बढ्यौं ।

मेरो मनमा तातो बाफ मडारिएको थियो । जुन परिवारमा श्रीमान–श्रीमती दुबैलाई हत्या र बेपत्ता पारिएको थियो भने उक्त दम्पत्तिको नासोको रुपमा दुई सन्तान पूनम र पूजा अभिभावकविहीन थिए । उनीहरुको भरणपोषण उनीहरुकी बृद्धा हजुरआमाले गर्नुभएको थियो ।

२२ बर्षका रामगोपाल बिसंखे ०५८ सालमा तत्कालीन शाही सेनाद्वारा भक्तपुरकै कटुञ्जेमा मारिए । उनकी श्रीमती दुर्गा बिसंखे ०५९ सालदेखि राज्यद्वारा हालसम्म बेपत्ता छन् । कान्छी छोरी बुवा रामगोपालको हत्या हुँदा मात्र ४ महिनाकी थिइन् । जेठी छोरी २ बर्षकी ।

छोरा र बुहारीको घटनापछि ती बुढीआमाको मानसिक सन्तुलन स्थिर छैन । उनी कसैसँग गफ गर्न रुचाउँदिनन् । तर, हामी माओवादी समर्थक भन्ने थाहा पाएर चियाले स्वागत गरिन् । तर उनको आँखामा आँशु भरिएको थियो । सन्तानको नाममा एक्लो छोरो मारिएपछि उनको जीवनमा खुशीका क्षणहरु सकिएको नमीठो अनुभव सँगालेकी छन् उनले ।

काख रित्तिँदाको पीडा शब्दमा ब्यक्त गर्न सकिदो रहेनछ । राज्यद्वारा छोराबुहारीको हत्या र बेपत्ता पछि पनि उनी र उनकी कान्छी छोरी सुस्मितालाई सेना पुलिसले निकै यातना दिने गरेको, सामान लुटपाट गरेको, आतंकित पार्ने गरेको, सयौंपटक घरमा छापा मार्ने जस्ता क्रियाकलापले उनको मन झनै बेचैन बनेको तीतो यथार्थताले उनलाई अहिलेसम्म पनि मुलुकमा शान्ति आएको अनुभव छैन । एकातिर परिवारका सदस्य भौतिक रुपमा विछोडिएको नमीठो पीडा र अर्कोतिर यसरी तर्साउँदा आफ्नो मानसिक सन्तुलन गुमेको पीडा छ ती बुढीआमा सीतामा ।

कलिलै उमेरमा दाजुभाउजूको हत्या र बेपत्ताको कारण साना नानी भतिजीहरुको लालनपालनको निम्ति बाध्य भएर पढाइ छाड्दै रोजिरोटीका निम्ति भौंतारिएको कथाव्यथा पनि कम दर्दनाक छैन स्वस्तिका बिसंखेको । उनी नै ती बुढीआमा र भतिजीहरुको रेखदेखमा सक्रिय छिन् । आफ्नो निजी जीवनभन्दा पनि यिनै भतिजीहरु पाल्न सके ठूलो कुरा हुने धारणा छ उनको ।

जतिजति उनीहरुले यथार्थता सुनाउथे, धेरैपटक हामीमा सन्नाटा छाउँथ्यो । के बोल्ने भन्ने विषय नै थिएन हामीसँग आँखाभरि आँशु बनाउनुबाहेक । मेरो आखा पटक–पटक छोरीहरुमा पुग्थ्यो, सानी छोरीलाई बुवाआमाको अनुहार कत्ति पनि याद छैन । ठुली छोरीलाई अलिअलि थाहा छ ।

ठुलीले भित्र गएर आमाबुवाको फोटो लिएर आइन् । हजुरआमा, फुपूले जतिजति आफ्ना आमाबुवाको कुरा गर्थे ठुली छोरीले अनुहार निकै बिगार्थिन् अनि आँखाभरि आँशु । सम्हालिन कठिन भैरहेको थियो ।

संकटकालीन अवस्थामा माओवादीको कुनै नेता कार्यकर्ता बिसंखे परिवारमा पुगेन सुरक्षाको कारण देखाउँदै । तर, शान्ति प्रक्रियामा आएको यतिका बर्षसम्म पनि कुनै नेताकार्यकर्ता नपुगेको तीतो यथार्थता छ उनीहरुसँग । ती कलिला बाबुआमाविहीन नानीहरुले आजकल नमीठो अनुभूति सँगाल्न थालेका छन् ।

कक्षामा प्रथम हुने दुवै नानीहरुलाई जतिबेला माओवादी सरकारमा रहन्छ, कसैले छेडछाड गर्दैन । तर जतिबेला माओबादी सरकारबाट बाहिरिन्छ, अनि विद्यालयमा गुरुआमा गुरुबाले तिम्रा बाआमा मारिएर के भो त ? खै त तिमीहरुको पार्टीले तिमीहरुलाई संरक्षण गरेको भनेर निकै खिसिटिउरी गरेको र निकै हेपिएको महशुस गरेका छन् उनीहरुले । स्कूललै जान नपरे हुने थियो जस्तो लाग्ने गरेको अनुभव छ ती नानीहरुको ।

त्यतिमात्र होइन, फुर्सद नभएर होला, हामीलाई भेट्न नआएका । हामीमात्र होइन, यो देशमा धेरै मान्छेहरु मारिएका छन् । नेताहरुले यतिका मान्छे मरेर सत्तामा गएक त्यत्तिकै हामीलाई धोका देलान् र ? बरु आजकल मानव अधिकारवादी भन्दै आएर भन्दै नभनेका कुरा लेखिदिन्छन् । नेताहरुलाई भेट्नुभयो भने मेरो सानो गुनासो क्रान्तिको झण्डा नबिसाउन भनिदिनु भन्नुहुन्छ ती बृद्धआमा सीताले । सहिदको सपना पूरा भएको छैन । न त मुलुकमा कुनै परिवर्तन भन्दै आँखाबाट आँशु झार्नुहुन्छ बुढीआमा ।

हामी अवाक भयौं। दुवै शहिद पत्नी हाम्रो पनि आफ्नै कथाब्यथा थिए । तर, हाम्रो भन्दा अझ दर्दनाक ती छोरीहरुको अवस्था थियो । जसले हामीलाई धेरैपटक मौन बनायो ।

आखिर के दोष थियो ती कलिला नानीहरुको, जसले आमाबाबुको अनुहार नै चिन्न समेत पाएनन् ? बाबुआमाको तस्वीरमा रहेको आकृति देख्दा उनीहरुको मनोविज्ञान कस्तो हुन्छ होला ? अरुको बाबुआमाले आफ्ना सन्तानको निम्ति गरेको ब्यवहार देख्दा, आफ्ना सन्तानको भविष्यको चिन्ता गरेको देख्दा तिनीहरुलाई कस्तो महशुस हुँदो होला ? रातको चकमन्न अँध्यारोमा कतैबाट बेपत्ता पारिएकी आमाले दैलो उघार्न लगाउँछिन् कि भन्ने आाशामा कति तडपिँदा हुन् ?

मलाई सपनामा हराएजस्तो बेचैन भयो । केही समय बसेपछि हामीले केही तस्वीर लिने अनुमति माग्यांै र विदावारी हँुदै बाटो लाग्यांै । तर, मलाई निकै पीडाले सतायो । जतिजति बाटो काट्यौं, तक्मा दिदीका र मेरा पाइलाहरु लर्बराउँदै गए ।

जातीय, क्षेत्रीय, वर्गीय आन्दोलनमा ती जोडीजस्ता हजारौंको जोडीले यसरी नै आफ्नो बलिदानी स्वीकारे । हिजोका विद्रोहीहरुले पटक–पटक सत्ता सञ्चालन गरिसकेका छन् । शहिदको सन्तानको नाममा कैयांै नेताका छोराछोरीले उच्च शिक्षा हासिल गरेका छन् । तर, ती नानीहरुको निम्ति पहिलो आवश्यकता गास बनेको छ अनि शिक्षा त पाएँ मात्र भन्ने छ ।

मलाई ०५९ सालमा नवलपरासीको सुखौरामा एक बृद्ध बाले भनेका थिए, ‘नानी, यति कलिली छौ, आमाबुवालाई नरुवाउ, म पनि एमालेको कार्यकर्ता हुँ तिमीहरुजस्तै भुमिगत भएर हिँडेको हुँ । जब पाटी सरकारमा गयो, मजस्ता कार्यकर्ता सडकमा फालियांै । जीवन धेरै महत्वपूर्ण छ, खेर नफाल ।’

त्यतिबेलाको मेरो जवाफ थियो– बा, हामी एमाले कहाँ हो र ? हामी त माओवादी हौं । हाम्रो नेतृत्वले विगतको कम्युनिष्ट आन्दोलनबाट पाठ सिक्दै एमालेले जस्तो कमजोरी गर्नै सक्दैन ।’

बुढाबाले भनेका थिए, ‘जब तिम्रो पार्टीले धोका दिएर तिमी सडकमा पछारिन्छ्यौ, त्यतिबेला धेरै ढिलो भैसकेको हुनेछ, अनि मलाई सम्झेर केही फाइदा हुने छैन ।’

मैले सबैलाई शंका गरेर कहाँ हुन्छ र हाम्रो पार्टीबाट त्यस्तो गद्दारी हुनै सक्दैन भनेर उल्टो ती बालाई सम्झाउने कोशिस गरेकी थिएँ ।

तर, जब म बिसंखे परिवारमा गएँ, तिनै बाले भनेका कुराहरु मानसपटलमा घुम्न थाले ।

सायद ती बिसंखे दम्पतिले पनि मैलेजस्तै जवाफ दिन्थे होलान् । हामी मरे पनि हाम्रा सन्तान पार्टीले हेर्छ भन्ने सोचेका थिए होलान् । आफ्ना सन्तान टुहुरा हुन्नन् भन्ने सोचेका थिए होलान् ।

तर, आज परिस्थिति फेरिएको छ । हिजोको विद्रोहीहरुले पटक–पटक सत्ताको नेतृत्व गरेका छन् । सहिदको सन्तानको नाममा आउने सेवा सुविधामा पनि नेताका छोराछोरीले उपभोग गरिरहेका छन् । बिसंखे दम्पत्तिका सन्ततिहरुलाई हातमुख जोर्न पनि सकस छ पढाइ त कताकता ! शान्ति प्रक्रियाको यतिका समयसम्म कोही कसैले भेट्न आउने भन्ने कुरै छैन ।

द्वन्द्वले जसको अभिभावक गुमेको छ, त्यसको अभिभावक राज्य बनिदिनु पर्दैनथ्यो ? गास बास कपास अनि शिक्षा स्वास्थ्य रोजगारको ब्यवस्था गर्नु पर्दैनथ्यो ?

यी प्रश्नहरु कयौं दिनसम्म मेरो मानसपटलमा नाचिरहे । ती महान छोरीहरुलाई सम्मान छ । यतिधेरै बाधाअडचनका बाबजुद पनि उनीहरुले आफूलाई पढाइमा अब्बल दर्जामा उभ्याएका छन् । सम्मान छ छोरीहरु, पीडाले त तिमीहरु स्पातिलो बनेका छौ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment