Comments Add Comment

‘जालो’को सस्पेन्स र छायांकनले मन जित्न सक्छ


काठमाण्डौको बीग मुभिजमा चलचित्र ‘जालो’ हेर्दै गर्दा केही दर्शकले चर्को स्वरमा भने-‘कती क्यामेरा हल्लाएको, एउटै लोकेशनमा मात्र खिचेको छ, लाइट मिलेको छैन’ ।

दर्शकको यो प्रतिक्रिया सुनिरहँदा केही दर्शकले कानेखुशी गरे-‘वन सर्ट मुभिमा पनि सम्पादन खोजेर हुन्छ त ?’शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘जालो’ हेर्दै गर्दा दर्शकका थरी-थरीका प्रतिक्रिया सुनिए । कसैले चलचित्र वुझेर हलमा पुगे त कोही समय कटाउन ।

प्रदर्शन अगाडि ‘वन सर्ट’मा खिचिएको भन्दै प्रचार गरिएको चलचित्र ‘जालो’को बारेमा उत्सकुता हुनु स्वभाविक नै हो । विश्वमै पहिलो पटक ४ घन्टा लामो चलचित्र वन सर्टमै खिच्नु चानेचुने कुरा थिएन ।

१ घन्टा ४७ मिनेट लामो ‘जालो’ हेर्दैै गर्दा तपाइको दिमागमा धेरै कुरा उठ्न सक्छ ।

कथावस्तु
एउटा धनाढ्य परिवार भित्र उत्पन्न हुने समस्या र त्यसको रहस्यमा यो चलचित्र घुमेको छ । नीर शाह एउटा धनाढ्य व्यापारी हुन्छन् । तर, उनको घरमा सुरु भएको एउटा रहस्यमय घटनाले तनाव सुरु हुन्छ । छोरीको कोठामा कुकुर मरेको होस् या घर बाहिर पेट्रोल बम पड्केको नै किन नहोस्, नीर शाहको परिवार तनावमा हुन्छ ।

डीआइजीदेखि इन्स्पेक्टरको अनुसन्धानले पनि घरमा कसले यस्तो काम गरिरहेको छ भन्ने पत्ता लगाउन सक्दैन । बारम्बार फोन गर्नेले धनाढ्य शाहसँग ५ सय करोड माग्छ । नीरकी छोरी र उनका सेक्रेटेरीको छोरी मेनुका प्रधानको अपहरण गरेर ५ सय करोड मागेपछि कथाले मोड लिन्छ । नीरले जसोतसो गरेर ५ सय करोड त जम्मा गर्छन्, तर अपराधी को हो भनेर चिन्दैनन् । नीर शाहले धम्क्याउने व्यक्रि पहिचान गर्न नसकेपनि दर्शकलाई भने त्यो सस्पेन्स खुलाइएको छ । तर, सस्पेन्स जान्न तपाइले हलमै गएर चलचित्र हेर्नुपर्नेछ ।

किन हेर्ने जालो ?
यो चलचित्र एउटा प्रयोग हो, जुन प्रयोग कसरी गरिएको छ भनेर जान्नका लागि पनि तपाइले चलचित्र हेर्न सक्नुहुनेछ । वन सटमै १ घन्टा ४७ मिनेट लामो चलचित्र हेर्दा रमाइलो लाग्छ । निर्देशक अराज केशवले चलचित्रका दृश्यमा फ्ल्यास ब्याक समेत देखाएका छन्, तर ती दृश्य रोचक लाग्छ ।

कलाकारले फटाफट पहिरन चेन्ज गर्दै संवाद कन्ठ बनाएर फिल्मी शैलीमा बोल्नु, कठिन काम हो । चलचित्र हेर्दै गर्दा तपाइले त्यो महशुश गर्नुहुनेछ ।

‘जालो’ हेर्नुको अर्को कारण पनि छ, यसको सस्पेन्स पाटो । वन सर्ट मुभिलाई रोचक तरिकाले अगाडि बढाउन सकिएन भने दर्शकलाई ‘हाई हाई’ आउँछ । निर्देशकले अन्तिम दृश्यसम्म पनि सस्पेन्स नखोलेर दर्शकलाई सिटमा बाधिराखेका छन् ।

यो चलचित्र हेर्नुको अर्को कारण, छायांकारको काम हो । करिब १ घन्टा २७ मिनेट लामो चलचित्रलाई एकहोरो खिचिरहनु, सजिलो काम होइन । तर, छायांकार हरि लामाले आफ्नो काम उत्कृष्ट तरिकाले गरेका छन् । यो चलचित्रको हिरो नै छायांकार लामा हुन् ।

के छ कमजोरी ?
वन सर्टमा खिचिएकाले चलचित्रको प्राविधिक पाटोमा कमजोरी प्रशस्त भेट्न सकिन्छ । क्यामेरा धेरै हल्लिनु, लाइटमा समस्या आउनु, एउटै घर भित्र चलचित्र सकिदा दर्शकलाई फरक लोकेशनको आभाष नहुन सक्छ । तर, हलमा जानु अगाडि म कस्तो प्रकारको चलचित्र हेर्न जाँदैछु भनेर दर्शकले दिमागलाई तयार राख्नुपर्छ ।

‘जालो’ निर्देशन गर्दा निर्देशकले ‘गिनिज बुक’मा नाम लेखाउने सोचमा बढी ध्यान दिएका छन् । जसले गर्दा कलाकारको अभिनय, एउटै संवाद र स्टाइल धेरै दोहोरिएको छ । बारम्बार बज्ने फोन, सिंगापुरबाट छोराले गर्ने बारम्बारको स्काइप कल दिक्क लगाउन सक्छन् । चलचित्रमा प्रहरीको भूमिका निरिह छ । प्रहरीको भूमिकालाई केही बलियो बनाउन सकिन्थ्यो ।

समग्रमा
‘जालो’ नेपाली चलचित्र हेरिरहेका दर्शकका लागि एउटा फरक स्वाद हो । वन सर्टमा कसरी चलचित्र खिचिन्छ होला भन्ने कौतुहलता मेट्न पनि तपाई हलमा जान सक्नुहुनेछ । निर्देशक अराज केसव, निर्माता मोहित मुनाल, छायांकार हरि लामा यसका लागि वधाइमा पात्र हुन् । ‘जालो’ एउटा प्रयोग हो, जसभित्र दर्शकले नयाँ खालको स्वाद पाउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment