Comments Add Comment

रामशेखर नकर्मीको सम्झना

भक्तपुर । नेपाल भाषाका दिवंगत साहित्यकार तथा कलाकार रामशेखर नकर्मीले साहित्य, रंगकर्म र कलाकारिता क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गरियो ।

भक्तपुर साहित्यिक समाजले शनिबार आयोजना गरेको कार्यक्रममा साहित्यकार एवम् संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले हास्यव्यङ्ग्य विधाका स्रष्टा नकर्मीले समाज परिवर्तनका लागि पुर्‍याएको योगदान अनुकरणीय रहेको बताए ।

सो क्रममा साहित्यकार ग्वंगःले स्रष्टा रामशेखर विशेषाङ्कको रुपमा प्रकाशन गरिएको ‘स्वर्णगजुर’ पत्रिकाको अङ्क २४ सार्वजनिक गरे । विशेषाङ्कमा रामशेखरको जीवनसँग सम्बन्धित विभिन्न आलेखहरू समेटिएको छ ।

कार्यक्रममा रामशेखर सहयोग समितिका संयोजक नरेन्द्रभक्त हाडाले पञ्चायती शासनकालमा निर्भीक भएर तत्कालीन सत्तालाई रङ्गमञ्चमार्फत चुनौती दिएकाले रामशेखर अमर स्रष्टा भएको टिप्पणी गरे ।

यस्तै, सिर्जना अभियानका अध्यक्ष धनमान श्रेष्ठले समाजमा महत्वपूर्ण योगदान पुर्‍याउने स्रष्टाहरूको बारेमा पत्रिकाले विशेषाङ्क निकाल्नेर सम्झिनु साँचो सम्मान भएको बताए । साहित्यकार नकर्मीको गत फागुन १६ गते निधन भएको थियो ।

भक्तपुर साहित्यिक समाजले निरन्तर सञ्चालन गर्दै आएको घुमन्ते साहित्यिक श्रृङ्खलाको ५९औं श्रृङ्खलालाई समेत सोही कार्यक्रममा जोडिएको थियो । सो क्रममा कवि दिव्य गिरी, मानिकबाबु ग्वंगः, जननीप्रसाद मूल, न्हुच्छेरत्न बुद्धाचार्य र मुना मौनताका सिर्जनाहरु प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment