प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवाको सफलता-असफलता नापिने आगामी चुनावले हो, योबाहेक अरु सबै गौण हुन्छ । आम चुनाव भयो र संविधान कार्यान्वयनको चक्र पूरा भयो भने देउवा सफल प्रधानमन्त्री हुनेछन् ।
मान्नुस्, चुनाव हुन सकेन । त्यसपछि दुईवटा सम्भावना रहन्छन्-
एउटा- पहिलाजस्तै अदालत आउँछ र संविधान दुर्घटनामा पर्छ । यो स्वतः असफलता भइहाल्यो ।
अर्को, अदालतले संसदको म्याद थपलाई रोकेन भने पनि त्यो असफलता नै हुन्छ । किनभने वर्तमान प्रधानमन्त्री प्रचण्डले त तोकिएको समयमा चुनाव गरेर एउटा मानक बनाएका छन् ।
भनिन्छ, म्याराडोनाले अर्जेन्टिनाको टिम छाडिसकेपछि १० नम्बर जर्सी जसले लगायो, उ सँधै दबावमा रहृयो । किनकि म्याराडोनाले जस्तै खेलको अपेक्षा गर्ने भए ।
त्यस्तै अहिले विदा हुँदै गरेका प्रधानमन्त्री प्रचण्डले केही स्ट्याण्डर्ड तोकेका छन् । यो देउवाका लागि चुनौती हो । देउवाको ठूलो क्षमता भनौं वा सुशील कोइरालाभन्दा फरक भनौं, उनी कसैको कुरा नसुन्ने, जब्बर, जिद्दी छैनन् । एकदमै लचिलो छन्, मानिसहरुलाई ठाउँ दिइहाल्छन्, जसलाई पनि मिलाउन सक्छन् । अहिले चाहिएको पनि यस्तै नेता हो- म्यानेज गर्न सक्ने र लचिलो । जब्बरले सक्दैन ।
तर, यस्तो चरित्र भएका मानिसहरु ऐन मौकामा मिलाउनेतिर लाग्दा चुकेका पनि छन् ।
देउवाको नमीठो विगत, जसले उनलाई सँधै पिरोलिरहन्छ, यसले पनि त्यही भन्छ, अब अहिले सबैलाई मिलाउन सक्ने ‘क्यारेक्टर’ का कारण सरकार मिलाएर चलाउने तर, मूल लक्ष्य (चुनाव)मा चुके भने कुनै अर्थ रहँदैन ।
राजनीतिक विश्लेषक पुरञ्जन अचार्य पनि मान्छन् कि चुनाव नै देउवाको ठूलो च्यालेन्ज हो । ‘हिजोका दिनमा चुनाव घोषणा गरेर पनि गराउन सक्नु भएन’ आचार्य भन्छन्, यदि यो चुनाव पनि भएन भने स्थायी रुपमा नै देउवाबाट चुनाव हुँदैन कि भनेर लेखिन्छ ।’
अर्को ठूलो चुनौती भनेको, देउवा सरकार ०५२ को गठवन्धन सरकार जस्तै हुन्छ कि ? किनभने कांग्रेस र माओवादी मात्र होइन, राप्रपादेखि लिएर फोरम लोकतान्त्रिक र साना दलहरु पनि छन् । सबैलाई मिलाएर सरकार बनाउनुपर्यो । समर्थन गरेको तर, सकारमा नगएको राजपा र फोरम नेपालको इन्ट्रेस्टलाई पनि हेर्नुपर्ने छ । यता संविधान संशोधन त छँदैछ ।
दिनानुदिन सरकार चलाउने कुरामा एक त त्यसै पनि देउवाको ‘ट्राक रेकर्ड’ खराब छ, अब झन धेरै इन्ट्रेस्ट आउँछन् । यसैले ठूलो डर छ कि देउवा सरकारका पालामा केही ‘स्क्याण्डल’ हरु हुनेछन् । यो स्क्याण्डलको भारी यति ठूलो हुनेछ कि अबको चुनावमा कांग्रेस थिचिनेेछ ।
अहिले नै आईजीपी र महाअभियोगको भारी बोक्न कांग्रेसलाई निकै गाह्रो भइसकेको छ भने भोलि यो भारी अझ बढ्ने त होइन भन्ने डर छ । आफूसँग सिंगो सरकार र पार्टीलाई यसबाट कसरी बचाउने भन्ने देउवाको ठूलो चूनौती हो ।
प्रचण्डका पालामा एनसेललगायतका केही प्रकरण आए । क्याबिनेटमा अझ धेरै इन्ट्रेस्टहरु नआएका होइनन् । तर, जहिले पनि उनले लक्ष्मण रेखा के बनाए भने यो विवादित हुन्छ र यसले मेरो छवि बिगार्छ । यस्तो लागेपछि उनी पछि हटे । केहीकेहीमा चुक्दा चुक्दै पनि प्रचण्डले योपटक त्यस्ता कुराहरु पारित गराएर हुने लाभ भन्दा आफ्नो करियर जोगाएर हुने लाभ महत्वपूर्ण ठाने ।
अब देउवाको त्यस्तो लक्ष्मण रेखा हुन्छ कि हुँदैन ? ५० तिरबाट इन्ट्रेस्टहरु आउँछन् नै । तर, लक्ष्मणरेखा यो हो भनेर तोक्न सक्लान् कि नसक्लान् भन्ने चुनौती छ ।
अर्को पाटो हेरौं, मानिसहरुलाई विश्वास छैन कि देउवा सरकारले राम्रो पफर्मेन्स गर्छ । प्रत्येक मानिस बर्बाद हुन्छ, सकिन्छ भनेर डराएका वा तर्सिएका छन् । तर, देउवाले नराम्रो हुन दिएनन् र एकदुई वटा राम्रा काम गरे भने चमत्कार गरेको जस्तो हुन्छ ।
धेरै आश गरिएको मान्छेहरुलाई दिनरात गाह्रो हुन्छ । हजार काम गर्दा पनि अपर्याप्त हुन सक्छ । तर, देउवालाई यहाँ सजिलो छ, किनकि उनीबाट आम मानिसले असाध्यै कम अपेक्षा गरेका छन् । विगतको ‘ट्राक रेकर्ड’ पनि खराब छ । अब उनले नराम्रो हुन दिएनन् र सरकारले केही कुरा गर्यो भने एकाएक व्यक्तित्व उज्यालो हुन्छ ।
कांग्रेस नेता गगन थापा निश्चित समयका लागि नेपाली समाजमा कांग्रेसको ‘स्ट्रेन्थ’ कस्तो रहन्छ भन्ने देउवा सरकारको परफर्मेन्समा भर पर्ने बताउँछन् ।
‘यो सरकारप्रति एकदमै कम अपेक्षा छ, राजनीतिक फ्रन्टमा चुनाव गर्न सक्दैन, सुशासनको फ्रन्टमा पनि डेलिभरी गर्न सक्दैन भन्ने छ’ थापा भन्छन्- ‘नयाँ प्रधानमन्त्रीको नेतृत्वमा दुबै फ्रन्टमा एक तहको मात्र सफलता प्राप्त भयो, म्यानेज गरेर चुनाव गर्यौं र सुशासन धेरै बिगि्रन दिएनौं भने हाम्रा लागि चमत्कारिक अवस्था जस्तो हुन्छ । हामी पोजेटिभ भाइवमा चुनावमा जान पाउँछौं । पार्टी सभापति समेत रहेका नयाँ प्रधानमन्त्रीबाट यही अपेक्षा गरेका छौं ।’
तर, यसका लागि अरुले भनेर हुँदैन । देउवाका वरिपरि भएकाहरु पनि गौण हुन् । देउवाले आफ्नो मानक आफैं राख्नुपर्छ यो पटक । यत्रो संघर्षको पृष्ठभूमिबाट आएर चौथो पटक प्रधानमन्त्री भएका छन् । भोलि के होला भन्न सकिन्न । तर, सम्भवतः यो उनका लागि अन्तिमपटक पनि हुन सक्छ ।
देउवाको कार्यकाललाई पनि प्रचण्डसँगै तुलना गरौंः
धेरैले प्रचण्डलाई असफल प्रधानमन्त्री भनिरहे । यसबाट उनमा यसपटक भोक थियो कि म यहाँबाट निस्कने बेलामा ताली खाएर जाने हो । त्यो दबाव थियो । बाँकी सबै कुरा गौण थिए । र यही ड्राइभले सही र गलत छुट्याउन प्रचण्डलाई सजिलो भयो । के मान्ने, के नमान्ने ? हरेक निर्णय गर्दा उनले आफ्नो गोल हेरे । उनको स्कोरमा थियो कि जनताले ‘वाह प्रचण्ड’ भनेर एकपटक भनुन् ।
अहिले प्रधानमन्त्री बन्दै गर्दा शेरबहादुर देउवा म्यानेजर हो, म्यानुपुलेटिभ छ भनिएको हो । तर, जनताले मन पराएको, वाह भनिएको नेता होइनन् उनी । देउवासँग भएको ‘पावर अथोरिटी’ लाई स्वीकार गरिएको हो । सैद्धान्तिकरुपमा बैधानिकता र बैधतामा फरक छ । जनताबाट अनुमोदित भएर बैध बन्ने हो भन्ने भोक जागि्रत छैन भने भगवान नै आए पनि केही हुँदैन । तर, यो भोक जागि्रत भयो भने वरिपरि राक्षस नै बसे पनि उनले यसलाई पार लगाउन सक्छन् ।
किनभने जसले जे भने पनि आजको दिनमा पहिलो पटक प्रधानमन्त्री हुँदै गर्दाको प्रचण्डको जस्तो अवस्था देउवाको होइन । सरकार के कसरी चल्छ भन्ने देउवाले जति शायदै अरु कुनै नेताले बुझेका छन् । प्रधानमन्त्रीको कार्यालय कसरी चलायो भने रिजल्ट आउँछ ? मन्त्रीहरुलाई कसरी चलाउने ? के गलत ? के सही छ ? कसले के नियतले ल्याउँदैछन् ? यो त सुँघेर नै थाहा पाउन सक्ने देउवाको अनुभव छ ।
त्यसैले अहिले यति भन्न सकिन्छ कि यो पटक म कीर्ति राखेर जान्छु भन्ने देउवाले अठोट गरे सफल हुन सक्छन् । उनी यो ‘फाइटिङ स्परिट’ भएका एकाध नेता मध्ये एक हुन् ।
इच्छाशक्ति र दम नभएको मानिस भएको भए कोइराला परिवारसँग झगडा गर्ने र राजाले असक्षम घोषणा गरेर पनि उठेर आउने थिएनन् । आफूले सोचेर म गर्छु भनेपछि गरी छाड्ने नेता हुन् देउवा ।
तर, अब प्रश्न यत्ति हो कि यो पटक देउवाले विगतको दाग मेट्ने गरी केही गर्छु भन्ने सोच्छन् कि अरु नै केही ?
माओवादीका प्रधानमन्त्रीलाई भन्दा कांग्रेसका प्रधानमन्त्रीलाई सजिलो के छ भने कांग्रेसको कर्मचारीतन्त्रदेखि सबैतिर ठूलो संरचना छ । गर्छु भन्दा साथ पाइन्छ ।
देउवाका चुनौती
चुनौतीको कुरा गर्दा असाध्यै धेरै पैसा चाहिन्छ किनकी अब तीन चुनाव गराउनु पर्नेछ । र, पार्टी सभापतिको हैसियतमा मुख्य जिम्मेवारी उनको नै हुनेछ । यहाँ पनि अघिकै कुरा जोडिन्छ । एकदमै कमजोर सरकार, स्क्याण्डल नै स्क्याण्डल भयो र त्योबेलामा चुनावमा गइयो भने पैसाको अर्थ हुँदैन । यस्तो बेलामा देउवाले आफ्ना उम्मेदवारलाई सोचेको भन्दा पाँच गुणा बढी पैसा दिए भने पनि केही हुँदैन । स्क्याण्डलले पैसा जम्मा गर्छ तर चुनावमा जित हात पर्दैन । अब देउवाले सोच्नुपर्छ कि आफ्नो इमेज बर्बाद गरेर दिने स्रोत साधन भन्दा राम्रो इमेजले जित्छ ।
विश्लेषक आचार्य भन्छन्, देउवाले अब सोच्नुपर्यो कि कसरी चुनावका लागि पैसा जुटाउने होइन, कसरी चुनावी खर्च कम गर्ने ? त्यतातिर लाग्ने हो भने कांग्रेसको इमेज बन्छ । होइन, तीनवटा चुनाव गर्नुछ भनेर पैसाका लागि कुर्सीमा गएको हो भने जायज नाजायज सम्झौताहरु हुन्छन् । अनि इमेज पनि बिगि्रन्छ ।’
तर, आजको दिनमा यो सबै अनुमान मात्र हो । हुन सक्ने कुरा के हो भन्दा शेरबहादुर देउवाले म्यानेज गर्न सक्दैनन्, गभर्नेन्स बर्बाद हुन्छ, एक पछि अर्को स्क्याण्डल हुन्छ भन्ने आशंका छ । जुन, पुरानो देउवा सरकारको अनुभव मात्र होइन, प्रचण्ड सरकारकै पालामा देखियो ।
सबै मन्त्रीहरु ६/७ महिनाका लागि आएका हुन्छन् र सबैलाई पैसा जम्मा गर्नुछ । त्यसैले देउवा सरकार पैसा जम्मा गर्ने र एकपछि अर्को स्क्याण्डल इन्डोर्स गर्ने सरकारजस्तो हुने खतरा छ । किनभने प्रधानमन्त्रीले त्यही गर्नुछ भने पनि उनले पनि रोक्दैनन् र सबैजना ‘पार्टर अफ क्राइम’ भने जस्तै हुन्छन् ।
अब अलिकति देउवाको व्यक्तिगत कुरा गरौं,
शेरबहादुर देउवा कस्ता हुन् भने चियापसलमा हुने गफ, सामाजिक सञ्जालहरुमा हुने आलोचना र पत्रपत्रिकामा आउने लेखसँग उनलाई खासै मतलब रहँदैन ।
किनभने, उनले आफूलाई कस्तो बनाइसके भने त्यो मेरो विरोधी हो, त्यसकारण लेख्यो भन्छन् । यो भनेको आलोचना नसुन्ने मात्र होइन, लोकलाजसँग मतलब छैन भन्ने हो । लोकलाज नभएपछि माथि चर्चा गरिएका केही राम्रा काम नगरे भयो ।
देउवाको आफ्नै स्वाभाव पनि स्क्याण्डलहरु गर्ने खालकै छ । अहिले पनि त अख्तियार, आईजीपी प्रकरण, महाअभियोग केहीमा पनि लोकलाज हेरेनन् । आफूले जे चाहे, त्यो गरे । पुलिसको आईजीपीमा डराएर मैले होइन भनेर त वक्तव्य निकाले तर, आफ्नो कुरा त गराएरै छाडे । अर्थात त्यो ‘टेन्डेन्सी’ देउवामा अझै गएको छैन । अब कसरी आश गर्ने कि प्रधानमन्त्रीको कुर्सीमा बस्नासाथ देउवाको नयाँ अवतार आउँछ ?
दोस्रो, जुन सर्कलले देउवालाई घेरेर राखेको छ, उनीहरु अहिले नै कमाउने बेला हो भन्नेमा छन् ।
तेस्रो, देउवा पार्टी सभापति भएको एक वर्ष नाघिसक्यो । तर, राम्ररी पार्टी सञ्चालन गर्न सकेका छैनन् । पार्टी एकता राम्रो छैन र सिंगो पार्टी पंक्तिको सहयोग उनलाई रहँदैन । पार्टीकै नेताले उनको रक्षा गर्दैनन् । उनीमाथि एमालेले मात्र होइन, पार्टीभित्रैबाट प्रश्न उठाइन्छ ।
चौथो, अन्तराष्ट्रिय स्वार्थहरु हुन्छन् । त्यसलाई म्याजेन गर्नेमा पनि देउवा त्यति सफल देखिएका छैनन् ।
यहाँ पनि प्रचण्डलाई जोडौं, वान वेल्ट वान रोड समझदारी पत्रमा हस्ताक्षर गर्ने कुरामा प्रचण्डले गजबको इच्छाशक्ति देखाए । भारतलाई विश्वासमा लिएर ओबीओआरमा हस्ताक्षर गर्नु चानचुने कुरा थिएन । विगतलाई हेर्दा देउवाको कमजोरी के देखिन्छ भने उनी भनेको मान्छन्, तर आफूले गर्न चाहेको कुरा गर्ने र उसको पनि चित्त बुझाउनु पो सफलता हो त ।
पाँचौं, पार्टी सभापति बन्नुअघि नै देउवाले यति धेरै मानिसहरुलाई मन्त्री बनाउँछु, यो पद दिन्छु, त्यो पद दिन्छु भनेर बचन दिएका छन् कि सबैको आश छ । तर, अब त्यो आश टुट्छ र आफ्नो गुटमा पनि विरोधीहरु देखिन्छन् ।
यति हुँदाहुँदै पनि देउवाको राम्रो पक्ष के हो भने उनी स्थायी सत्ताको भाग त हुन् तर, क्षेत्री ब्राहृमण शासकको मेन्टालिटीभन्दा फरक छन् । यो मानेमा कोइरालाभन्दा फरक छन् र लचिलो छन् । मधेस, जनजाति, दलित लगायतबारे उनी सकारात्मक छन् । सुदुरपश्चिमको सन्दर्भमा मात्र उनी थारुमा विषयमा सहमत भएनन् । अन्य विषय अहिले भएका नेताहरुमध्ये प्रचण्ड र देउवा नै हुन् लचिलो र सबैलाई समेट्न सक्ने । यसले उनलाई सहयोग पुग्न सक्छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4