Comments Add Comment

एमालेसँग देउवाको ‘लभ हेट’ सम्बन्धः यस्तो छ इतिहास

देउवाको चौथो इनिङ-बिर्सनलायक बिगत,दाग मेटाउने अवसर

२४ जेठ, काठमाडौं । चौथोपटक मुलुकको प्रधानमन्त्री बनेर सिंहदरवार प्रवेश गर्दागर्दै शेरबहादुर देउवाका विगतका तीनवटै कार्यकाल बिर्सन लायक छन् । चुनाव गराउन नसकेको भनेर असक्षम घोषित भई अपदस्थ बनेको विगतले उनलाई सधैं लखेटिरहन्छ ।

संयोग पनि कस्तो परेको छ भने, यसपटक पहिलो चरणको चुनाव सकिएर दोस्रो चरणको चुनाव गराउने जिम्मा देउवाको भागमा परेको छ । यसअघि तीनपटक मिति सरिसकेको दोस्रो चरणको चुनाव देउवाले सम्पन्न गराउन सक्नेमा उनका आलोचकहरु अझै पनि शंका गरिरहन्छन् ।

०५९ साल असोज १८ र ०६१ माघ १९ दुई पटक तत्कालीन राजा ज्ञानेन्द्रबाट चुनाव गराउन नसकेको र राजनीतिक सहमति कायम गर्न पनि नसकेकोमा असक्षम घोषित गर्दै अपदस्थ गरिएका देउवाको सामुन्ने फेरि पनि चुनावकै चुनौति छ ।

देउवाप्रति धेरैका शंका छन् । उनको विगतले शंकाको सुविधा अवश्य दिन्छ । तर यसपटक उनले विगत बिर्साउने छन् भन्ने अपेक्षा राख्न सकिन्छ । ०५२ पहिलो पटक प्रधानमन्त्री बन्दा ४८ वर्षका थिए देउवा । चौथोपटक प्रधानमन्त्री बन्दा उनी उमेरको हिसाबले पनि ७० वर्ष पुगिसकेका छन् ।

एमालेसँगका तीतामीठा संयोग

देउवाको जीवनमा यो संयोग नै मान्नुपर्छ कि पहिलोपटक प्रधानमन्त्री बन्दा नेकपा एमालेसँग उनको तीक्त सम्बन्ध थियो । चौथोपटक प्रधानमन्त्री बन्दा पनि एमालेसँग उनको सम्बन्ध निकै कटुतापूर्ण अवस्थामा छ । ०५२ सालमा हेलिकोप्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष मनमोहन अधिकारी शिक्षण अस्पतालको आइसीयुमा थिए । कांग्रेसले अधिकारी विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।

एमालेले त्यो बेलाका सभामुख रामचन्द्र पौडेल र प्रधानमन्त्रीका दाबेदार शेरबहादुर देउवासँग आइसीयुबाट अधिकारीले जवाफ दिन नसक्ने भन्दै केही दिन पर्खिन आग्रह गरेको थियो । तर, देउवाले एक दिन पनि पर्खिन मानेनन् तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालले मनमोहन अधिकारीको तर्फबाट संसदको रोष्टममा उभिएर दिनुपर्ने जवाफ अस्पतालको बेडबाटै दिनुपरेको थियो ।

अहिले पनि परिस्थिति करिव-करिव त्यस्तै तिक्ततापूर्ण अवस्थामा छ । एमालेले संसद अवरोधको अवस्थामा सूचना टाँसेर प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन सत्तापक्ष र सभामुख ओनसरी घर्तीलाई आग्रह गरेको थियो । तर, देउवाले एक दिन पनि कुर्न मानेनन् । तीक्ततापूर्ण अवस्थामै देउवा प्रधानमन्त्री बने ।


देउवाको पहिलो र चौथो इनिङ जसरी एमालेसँगको तिक्तताबाट शुरु भयो, त्यसै गरी दोस्रो र तेस्रो इनिङमा उनी एमालेको रुचीका पात्र पनि थिए भन्ने इतिहास पनि भूल्न हुन्न । गिरिजाप्रसाद कोइरालासँगको लडाईमा एमालेले कांग्रेसभित्रै खेलेर दुई पटक शेरवहादुरलाई प्रधानमन्त्री बन्न सघाएको हो ।

त्यस्तै ०५३ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला निकट आफ्नै पार्टीका दुई सांसद संसदमा अनुपस्थित भएपछि प्रधानमन्त्री पद गुमाएका देउवाको सम्बन्ध त्यसपछि एमालेसँग सुधि्रएको थियो । तर, त्यो संसदको कार्यकालभरि देउवा दोस्रो पटक प्रधानमन्त्री बन्न पाएनन् ।

कांग्रेसले ०५६ सालमा कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनाव लड्यो । वामदेव गौतमले एमाले फुटाएर माले बनाएकाले कांग्रेसले बहुमत पायो । किसुजी प्रधानमन्त्री त बने तर ९ महिना नपुग्दै संसदमा आँशु झारेर उनले राजीनामा दिनुपर्‍यो ।

एमालेले लाउडा विमान प्रकरणमा गिरिजाले भ्रष्टाचार गरेको भन्दै लगातार ५७ दिन संसद अवरुद्ध गर्‍यो । सडकमा ठूलो आन्दोलन भयो र केही मान्छे मारिए । त्यहीबेला जेठ १९ गते दरबार हत्याकाण्डपछि राजनीति अर्को बाटोमा गयो ।

एमालेको आन्दोलन, सदन अवरोध, होलेरीमा माओवादी विरुद्ध सेना परिचालित हुन नमानेपछि गिरिजाप्रसाद राजीनामा दिन बाध्य भए र एमालेको रुचीमा देउवा प्रधानमन्त्री भएका थिए । त्योबेला प्रधानमन्त्री हुनुअघि नै देउवा र एमालेबीच लिखित सम्झौता भएको थियो ।

कांग्रेसको स्पष्ट बहुमत हुँदाहुँदै पनि उनले एमालेसँग लिखित सम्झौता गर्नु निकै अर्थपूर्ण थियो । उनले प्रधानमन्त्री भए लगत्तै एमालेसँगको लिखित सम्झौता बमोजिम कमैया मुक्ति, भूमिसुधार लगायतका केही प्रगतिशील निर्णयहरु गरेका थिए ।

महाकाली सन्धी प्रकरण

अस्पतालको आइसियुबाटै मनमोहन अधिकारीलाई हटाएर आफू प्रधानमन्त्री भएका देउवाले विवादास्पद महाकाली सन्धी गर्ने बेला एमालेलाई आफ्नो पक्षमा ल्याउन सफल भएका थिए । जुन सन्धी २०५४ सालमा एमाले बिभाजनको बिउ समेत बन्यो ।

महाकाली सन्धी पारित गर्ने सन्दर्भमा एमाले शुरुमा विपक्षमा थियो । तर देउवाले भारतका उच्च अधिकारीहरु समेत लगाएर एमालेलाई सन्धीको पक्षमा उभ्याए । पन्चेश्वर परियोजनामा नेपालले लाभ लिन सक्ने बुँदा देखाएर एमाले बैठकमा छलफल हुँदा केन्द्रीय कमिटी बैठकमा मतदान भयो । बहुमतले महाकाली सन्धीको पक्षमा मतदान गर्ने निर्णय भयो ।

प्रजातन्त्र दरबारमा बुझाएको आरोप

देउवाले प्रधानमन्त्री भएकै बेला कांग्रेस पार्टी फुटाए । ०५४ सालमा निर्वाचित स्थानीय निकायका पदाधिकारीहरुको म्याद ०५९ जेठमा सकियो । उनले न त स्थानीय निकाय चुनाव गरे, न पदाधिकारीको म्याद थपे । बरु संसदसमेत विघटन गरेर देशलाई जनप्रतिनिधि विहीन बनाउने काम गरे उनले ।

अन्ततः ०५९ असोज १८ गते चुनाव गराउन नसकेको भन्दै असक्षम घोषणा गरेर देउवालाई राजाले अपदस्थ गरेका थिए । त्यहीँदेखि कांग्रेसले देउवालाई प्रजातन्त्र दरबारमा बुझाउने खलनायकको उपलब्धि दिएको थियो ।

राजाबाट अपदस्थ भएका देउवा फेरि राजाकै निगाहमा ०६१ साउनमा तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । उनले त्यतिबेला गोरखाका ठकुरी राजाबाट आफूले न्याय पाएको बयान पनि दिए । त्योबेला प्रतिगमन आधा सच्चिएको भन्दै एमाले पनि देउवाको सहयोगी बन्यो । कांग्रेस सडक आन्दोलनमै थियो ।

तेस्रोपटक प्रधानमन्त्री बनेको सात महिना नपुग्दै देउवालाई दोस्रो पटक राजाले अपदस्थ गरेर राजनीतिक ‘कु’ गरेका थिए । राजाले देउवालाई दोस्रो पटक अपदस्थ मात्र गरेनन्, उनलाई शाही आयोग खडा गरेर भ्रष्टाचार मुद्दामा जेल समेत पठाए । उनलाई मेलम्ची आयोजनामा भ्रष्टाचार गरेको अभियोग लगाइएको थियो ।

राजाबाट दुःख पाउने बीपी कि देउवा ?

राजाबाट सबैभन्दा दुःख पाएका कांग्रेस नेतामा वीपी कोइरालापछि शेरबहादुर देउवा हुन् भन्छन् कांग्रेसजन । वीपी राजाबाट एकपटकमात्र अपस्थ भए तर देउवा दुई पटक भए । वीपीलाई राजवन्दीमात्र बनाइयो, देउवालाई दरबारले भ्रष्टाचारको अभियोगमा बन्दी बनायो ।

कांग्रेसजनले देउवालाई वीपीसँग तुलना गरे पनि वीपी राजाबाट कहिल्यै प्रयोग भएनन् । उनले राजासँग संघर्ष गरे । देउवाले राजासँग सधैं सम्झौता गरे । एकपटक अपमानजनक रुपमा अपदस्थ भएर पनि उनले चेतेनन् । बरु दोस्रो पटक पुनः तीनै राजाले दिएको प्रधानमन्त्री पद खान पाएपछि-गोरखाका राजाले न्याय दिए भने ।

वीपीले प्रजातन्त्र राजाबाट जोगाउन खोजेका थिए । तर, देउवाले प्रजातन्त्र अर्थात अचेलको लोकतन्त्रलाई राजाको पाउमा बुझाएकै हुन् । सत्ता मातले उनलाई यति उन्मत्त बनाएको थियो, नेपाली कांग्रेस फुटाउने दरबारको मतियार बन्न तयार भए तर गिरिजाप्रसाद कोइरालासँग सम्झौता गरेनन् । त्यो उनको ऐतिहासिक भूल थियो ।

प्रयोगवादी पात्र

समग्रमा देउवा प्रयोग गर्न सजिलो पात्र हुन् । उनलाई गृहमन्त्री भए लगत्तैदेखि दरबारियाले प्रयोग गरे । कुनै बेला अमेरिकी एजेन्सीहरुले पनि प्रयोग गरे । आरजु राणासँगको वैवाहिक सम्बन्ध त्यसैको प्रभाव हो भन्नेहरु पनि छन् । कुनै बेला उनलाई राजाले प्रयोग गरे भने बेला बेलामा एमालेले पनि प्रयोग गरेकै हो ।

माओवादीबाट पनि उनी प्रयोग भएका पात्र हुन् । कुनैबेला प्रचण्ड र बाबुरामसहित माओवादी नेताहरुको टाउकोको मूल्य तोक्ने देउवा नै थिए । तर, माओवादीले पछिल्लो शान्ति प्रक्रियाभन्दा अगाडिसम्म गिरिजाभन्दा देउवालाई नै नरम ठान्थे । सत्ताका लागि जोसँग, जुनसुकै मूल्यमा पनि सम्झौता गर्न तत्पर रहने देउवाको उदार स्वाभावले उनी सबैबाट प्रयोग हुने पात्र बनेका हुन् ।

सत्ता राजनीतिमा देउवाजति सजिलो, उदार र प्रयोगवादी पात्र सायद अरु कमै भेटिन्छन् । ०५२ मा पहिलोपटक प्रधानमन्त्री भएपछि उनले आफ्नो उदार चरित्र पुष्टि गरे । त्यसअघि उनलाई गृहमन्त्रीका रुपमा एमालेले निकै कडा र अनुदार पात्रका रुपमा चित्रण गरिरहेको थियो ।

उनले विभिन्न चरित्रका राजनीतिक पात्रहरुलाई मिलाएर संयुक्त सरकार चलाएका थिए । भलै नेपालको बहुदलीय राजनीतिमा उनको त्यहि कार्यकाल इतिहासकै सबैभन्दा बद्नाम समयका रुपमा चित्रित बन्यो ।

सुरासुन्दरी, प्राडो पजेरोको कालो धब्बा

गिरिजाप्रसाद कोइरालाले ०५१ सालमा कांग्रेसको बहुमत हुँदाहुँदै गणेशमान र कृष्णप्रसाद भट्टराईले दुःख दिए भनेर दुई बहुमत ल्याउँछु भन्दै मध्यावधि चुनाव घोषणा गरेका थिए । तर, परिणाम उल्टो भयो । एमाले ८८ सिटसहित पहिलो पार्टी र कांग्रेस ८२ सीटसहित दोस्रो बन्यो ।

गिरिजाप्रसाद नैतिकरुपमा संसदीय दलको नेता बन्न नसकेपछि देउवाको भागमा आइलागेको थियो त्यो पद । एमालेको लोकपि्रय ९ महिने अल्पमतको सरकार ढालेर कांग्रेसले सत्ता हातमा लिएको थियो ।

त्यसबेला पञ्चायतको राजनीति गरेर भर्खर बहुदलीय राजनीतिमा आएका पञ्चहरुको पार्टी राप्रपा सत्ताकै लागि अनैतिक रुपमा प्रयोग हुन थाल्यो ।

आफ्नै सरकारमा रहेका मन्त्रीहरु नै एमालेसँग मिलेर अर्को सरकार बनाउने खेलमा लागेपछि उनले सरकार टिकाउन मन्त्रीहरुलाई रातारात बैंकक घुम्न पठाए । सांसदहरु करोड करोडमा खरिद विक्री हुन थाले । त्यहीबेला सांसदहरुलाई सुरा सुन्दरी उपलव्ध गराएर सत्ता टिकाउन खोजेको आरोप पनि लाग्यो । सांसदहरुले भन्सार छुटका गाडी ल्याएर तस्कर र ब्यापारीलाई बेचे । जसलाई प्राडो पजेरो काण्डका रुपमा अहिले पनि चर्चा गरिन्छ ।

यस्ता अनगिन्ती संसदीय विकृतिका घटना भए, जसको कालो धब्बा शेरबहादुरको निधारमा लागेको छ ।

बिगत बिर्साउने मौका

दुई पटक राजाबाट अपदस्थ भएका देउवा गणतन्त्र नेपालमा पहिलोपटक प्रधानमन्त्री बन्न पाएका छन् १२ वर्षपछि । देउवाका लागि प्रधानमन्त्री पद नयाँ होइन । उनका लागि यो नै अन्तिम अवसर पनि होइन । कांग्रेस पार्टीको लगाम हातमा लिएका देउवा फेरि पनि पाँचौं पटक प्रधानमन्त्री बन्न सक्ने पात्र हुन् ।

देउवाका विगत बिर्सेर यसपटक सबैले गरेको अपेक्षा भनेको, अब उनले राम्रो कामको छाप छाडुन् । जसरी प्रचण्डले सम्झन लायक केही काम गरेर आफ्नो दोस्रो कार्यकाल सफलतापूर्वक हस्तान्तरण गरे, त्यसैगरी देउवाले यसपटक आफ्नै विगत बिर्साउने अवसर पाएका छन् ।

दोस्रो चरणको स्थानीय निर्वाचन निष्पक्ष ढंगलले सम्पन्न गर्दै बाँकी रहेका प्रदेश र संघीय संसदको चुनावतर्फ मुलुकलाई लैजाने र संविधान कार्यान्वयन गराउने काममा सफलता पाए भने देउवाको विगत कोट्याउनुपर्ने छैन । उनले अरु सम्झनलायक धेरै केही काम गर्नुपर्दैन र उनीबाट त्यस्तो अपेक्षा पनि खासै गर्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

पाैडेल अनलाइनखबर डटकमका पूर्व उप-सम्पादक हुन् ।

ट्रेन्डिङ

Advertisment