+
+
Shares

संसदको आयु लम्ब्याएर चुनाव नगराउने खेल हुन थालेको माधव नेपालको आशंका

'देउवालाई पूर्ण समर्थन वा पूर्ण बिरोध हुँदैन'

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २४ गते १६:४१

२४ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले आगामी माघ ७ भित्र प्रदेश र संघीय संसदको चुनाव नगरी अहिलेको संसदकै म्याद थप्ने चलखेल हुन थालेको भन्दै त्यो आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् ।

प्रेस चौतारीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बरिष्ठ नेता नेपालले ०७४ माघ ७ भित्रमा सबै तहका चुनाव गर्ने कामबाट दायाँ बायाँ भए एमालेले स्वीकार नगर्ने बताए । उनले भने, ‘संसद्को म्याद थप्ने वा सरकारको आयू लम्ब्याउने खालका हल्ला पनि गाईगुँई सुनिन थालेका छन् । त्यो एमालेलाई मान्य हुँदैन । माघ ७ अघि तीन तहका चुनाव सम्पन्न गरिनुपर्छ ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारको परीक्षण त्यसैमा रहेको भन्दै नेपालले अहिले नै देउवालाई पूर्ण समर्थन वा पूर्ण बिरोध एमालेले नगरेको बताए ।

दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो

नेता नेपालले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो नै हुने दाबी गरे । ‘सरकारले एमालेसँग सामान्य छलफल पनि नगरी आफू बलियो भएको तीन प्रदेशमा पहिलो चरणको निर्वाचन गर्ने घोषणा गरेको हो’ उनले भने, ‘पहिलो चरणमा निर्वाचन भएका तीन प्रदेशमा एमाले कमजोर बन्छ भन्ने उहाँहरुको अनुमान फेल भयो । अब दोस्रो चरणमा निर्वाचन हुने प्रदेश त्यसै पनि एमालेको पकड रहेका प्रदेश हुन् । त्यसैले एमाले अब मुलुकभरी नै पहिलो हुने कुरा कसैले रोक्न सक्दैन ।’

तीन तहकै निर्वाचन सम्पन्न भएपछि मात्र संविधान संशोधन हुने उनले दाबी गरे । ‘पहिला संविधान कार्यान्वयन गरौँ,’ पूर्वप्रधानमन्त्री देउवाले भने, ‘त्यसपछि के गर्ने कसो गर्ने छलफल गरौँला ।’

देउवाको छवी राम्रो छैन

नेपालले देउवा चौथो पटक प्रधानमन्त्री निर्वाचित भएको भन्दै विगतमा उनको छवी राम्रो नभएको आरोप लगाए । ‘उनको विगतको मूल्याङ्कन राम्रो छैन,’ उनले भने, ‘यो पटक राष्ट्रियताका पक्षमा काम गर्न सकुन् । ०७४ माघ ८ गते सत्ता हस्तान्तरण गर्ने वातावरण निर्माण गरुन । उनको छवी राम्रो बन्छ । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?