
२० वैशाख, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) लाई जनमतको कमी नरहेको जिकिर गरेका हुन् ।
गत (२०७९) निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय पार्टी बन्ने दाबी उनले गरे ।
‘अझै म भन्छुः हाम्रा साथीहरु लाखौँको संख्यामा सहकारी संगठनमा आवद्ध छन् । एनजीओ, आइएनजीओमा संलग्न छन् । तिनीहरूको लाखौँ भोट यो पार्टीमा ल्याउनको लागि भनेर लागेको भए राष्ट्रिय पार्टी बन्न कुनै गाह्रो थिएन । सजिलै गरी अरुलाई हामीले उछिन्ने थियौँ । हामीसँग जनताको मतको कमी छैन,’ अध्यक्ष नेपालले भने ।
अहिले पनि आफू देश दौडाहामा जाँदा हिमाल, पहाड र तराईका कुनैपनि ठाउँमा पार्टीलाई साथ दिने जनताको कमी महसुस नगरेको उनको भनाइ थियो ।
पार्टीका कार्यक्रमहरूमा हरेक ठाउँमा हजारौंको संख्यामा जुलुस देखिएको उनको भनाइ थियो ।
‘अस्ति भर्खरै पनि म कर्णाली प्रदेश पुगेर आएँ । कालीकोट पुगेर आएँ । रासकोटमा पुगेर आएँ । हुम्ला जाने त्यत्रो विकट ठाउँमा भएको अधिवशेनमा मैले मान्छेको हजारौँको जुलुस कार्यक्रममा सहभागिता देखेँ । रौतहट, सप्तरी जिल्लाको कार्यक्रममा पनि हजारौँ, हजार मानिसको सहभागिता देखेको थिएँ,’ उनले भने, ‘अनि मैले भनेँः तराई होस्, पहाड होस्, हिमाल होस् हाम्रो पार्टी सबै ठाउँमा अगाडि बढिरहेको छ । यो पार्टीलाई अझै अगाडि बढाएर जाने हो । अरु पार्टी भन्दा शक्तिशाली बनाउने, त्यो तपाईं हामीमाथि भर पर्छ ।’
उनले पार्टीलाई बलियो बनाउने काममा जुट्नका लागि नेता कार्यकर्तालाई निदेर्शन दिए ।
प्रतिक्रिया 4