+
+

‘फ्रेन्चकट’ दाह्रीवाला गृहमन्त्रीः कसैलाई त्रास, कसैलाई आश

ऊर्जामा सफल मन्त्री शर्माले गृह मन्त्रालय कसरी हाँक्लान् ?

विनोद घिमिरे विनोद घिमिरे
२०७४ जेठ २४ गते १९:५३

२४ जेठ, काठमाडौं । चुस्स दाह्री पालेका, चिउँडोमा सेतै फुलेका जनार्दन शर्मा ‘प्रभाकर’ अहिले मुलुकको गृहमन्त्री बनेका छन् । शर्माको दाह्री आफैंमा बेग्लै पहिचान त हो नै, केही वर्षयता उनले राजनीतिमा पनि बेग्लै पहिचान बनाउने प्रयास गरिरहेका छन् ।

पञ्चायतविरोधी जनआन्दोलन उत्कर्षमा पुगेका बेला ०४६ साल चैत २४ गते दरबारमार्गस्थित राजा महेन्द्रको शालिकमा केही युवाहरु चढे । प्रहरीको गोली लागेर ती युवा सडकमा ढले । त्यसरी सालिकमा चढ्ने ‘दुस्साहस’ गर्ने युवा मध्येका एक थिए- जनार्दन शर्मा, जो अहिले गृहमन्त्रीको कुर्सीमा चढेका छन् ।

माओवादी नेता शर्मा ०४६ सालताका काठमाडौंमा अध्ययनरत थिए । र, उनी त्यसैबेला एक ‘दुस्साहसी’ युवा थिए भन्ने कुरा ०४६ साल चैत २४ को उनको संयोगवस बाँच्न पुगेको घटनाले पुष्टि गर्छ ।

अध्ययन सकेर जिल्लामा फर्किई सरकारी जागिरे बनेका शर्मा माओवादी पार्टीले ०५२ साल फागुन १ गते सशस्त्र संघर्ष सुरु गरेपछि भूमिगत भए । १० वर्षपछि खुल्ला राजनीतिमा निस्कँदा उनी जनसेनाको डेपुटी कमाण्डर बनेका थिए । यसक्रममा उनले धेरैवटा दुस्साहसपूर्ण युद्धहरुको नेतृत्व गरे ।

युद्धकालमा जनार्दन शर्मा

जनयुद्धकालमा पार्टीको नीति विपरीत कपिलवस्तुको तौलिहवा क्याम्पमाथि धावा बोलेर जोखिम मोलेका शर्माले सिंहदरबार आइसकेपछि पनि लोकमानसिंह कार्कीमाथि पार्टी हेडक्वार्टरलाई थाहै नदिई महाअभियोग दर्ता गराएर ‘सर्जिकल अट्याक’ गरे ।

पार्टी नेतृत्वले लोकमानमाथि महाअभियोग लगाउन ढिलासुस्ती गरिरहेका बेला शर्माले छापामार शैलीमा यो विषयलाई अघि बढाए ।

रुपन्देहीको बुटवल माओवादी आक्रमणको टार्गेट थियो तर शर्माले तत्कालीन कमाण्डर पोष्टबहादुर बोगटी ‘दिवाकर’लाई समेत थाहै नदिई तौलिहवामा फायर खोले । सो आक्रमण असफल भयो । यो प्रत्याक्रमण रणनीतिअन्तर्गत पश्चिम नेपालको अन्तिम आक्रमण थियो । पूर्वमा भने चौताराको आक्रमण अन्तिम थियो ।

पारिवारिक पृष्ठभूमि

गृहमन्त्री शर्माका पिता स्कन्द शर्मा रुकुममा कम्युनिष्ट पार्टीलाई संस्थागत गर्नेमध्येका एक थिए । राजनैतिक परिवारमा हुर्केका शर्माका दुई भाइ र तीन बहिनी छन् ।

माहिला भाइ ओपेन्द्र हालै राष्ट्रिय समाचार समितिको महाप्रवन्धक नियुक्त भएका छन् भने कान्छा भाइ अनिल अखिल क्रान्तिकारीको महासचिव छन् । शर्माका भाइबहिनीहरु केदार, विजया र नारायणीमध्ये नारायणीले माओवादी जनयुद्धमा पूर्णकालीन भएर काम गरेकी थिइन् ।

स्नातकसम्म अध्ययन गरेका मन्त्री शर्माका एक छोरा र एक छोरी छन् । शर्मा श्रीमती, छोरा र छोरीसहित ललितपुरको जावलाखेलमा भाडाको घरमा बस्दै आएका छन् ।

मन्त्री शर्माकी श्रीमती लक्ष्मी पनि माओवादी जनसेना थिइन् । लक्ष्मीले सेना समायोजनका क्रममा स्वेच्छिक अवकाश रोजिन् ।

जेटीएदेखि मन्त्रीसम्म

मन्त्री शर्मा राजनीतिमा पूर्णकालीन हुनुअघि सरकारी जागिरे थिए । रुकुमको नुवाकोट स्कुलमा केही समय पढाएका उनले पछि जेटीए बनेर पाँच वर्षसम्म सरकारी जागिर खाए ।

नाच्न गाउन खप्पिस मन्त्री शर्माले ०४६ सालमा नाचे-गाएकै आधारमा शान्ति सुरक्षा ऐन अन्तर्गत जेलमा थुनिनुपरेको थियो । पछि सरकारी जागिर छाडेर उनी सरकारविरुद्ध थालिएको सशस्त्र युद्धमा सामेल भए ।

राजनीतिमा ०३४ सालदेखि नै लागेका शर्मा शान्ति प्रक्रियापछि रुकुमको क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद बने ।

युद्ध लडेर आएका उनलाई पहिलोपटक शान्ति मन्त्रालयको जिम्मेवारी दिइयो । उनी नेपालको दोस्रो शान्ति मन्त्री हुन् । पहिलोपटक शान्ति मन्त्रालयको जिम्मेवारी भने कांग्रेस नेता रामचन्द्र पौडेलले सम्हालेका थिए ।

शान्ति मन्त्रीपछि शर्मा सार्वजनिक लेखा समितिका सभापति बने । पछिल्लो समयमा ऊर्जामन्त्री बनेपछि लोडसेडिङको अन्त्यसँगै उनी एकाएक चर्चामा आए ।

युद्धका ‘सफल’ कमाण्डर

दायाँबाट क्रमशः- तत्कालीन कमाण्डरहरु चन्द्रप्रकाश खनाल, नन्दबहादुर पुन र वर्षमान पुन लगायतसँग प्रभाकर (बायाँबाट दोस्रो) ।

माओवादी जनयुद्ध लड्दा कुशल कमाण्डरको छवि बनाएका शर्मा माओवादी जनसेनाका पूर्वडेपुटी कमाण्डर थिए । जनयुद्धको समयमा कहिले जनसेना त कहिले संगठनमा काम गर्दै उनले सेती महाकालीको इञ्चार्ज भएर काम गरेका थिए ।

प्लाटुन, बटालियन कमिसार र डिभिजन कमाण्डर हुँदै डेपुटी कमाण्डर बनेका उनले माओवादी जनयुद्धमा थुप्रै ठूला लडाईंको नेतृत्व गरेका छन् । ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ अभियान अन्तर्गत गण्डक क्षेत्रको नेतृत्व गरेका उनी केही क्षतिका बाबजुद सफल मानिन्छन् । कालिकोटको पिली, पाल्पा, कपिलवस्तुको गोरुसिंगे लगायत स्थानका बहुचर्चित लडाईंको प्रमुख कमाण्डर मध्येका एक हुन् उनी ।

सिंहदरबारमा पनि ‘सफल’

रुकुमको मुसिकोटमा ०१९ साल बैशाख १२ गते जन्मिएका शर्मा अघिल्लो सरकारमा ऊर्जामन्त्री भएपछि उनको छविमा एकाएक सुधार आएको हो । दैनिक १८ घण्टासम्म भइरहेको लोडसेडिङलाई अन्त्य गरेर उज्यालो नेपालको अभियन्ता बनेका शर्मा अहिले गृहमन्त्रीको कुर्सीमा छन् । धेरै मानिसहरुको आशा र भरोसाको पात्र बनेका छन् उनी ।

मन्त्री शर्मा जति सहज र नरम छन्, त्यति नै खरो र कडा पनि छन् । कार्यकर्ताहरुसँग छिट्टै घुलमिल हुने स्वाभाव र स्पष्ट अडान शर्माको विशेषता हो । कुशल संगठक भएका कारण पनि आफ्नो गृहजिल्ला रुकुममा उनले आफ्नो पकड गुम्न दिएका छैनन् ।

ऊर्जामन्त्री बन्नुअघि नै शर्माले गृहजिल्ला रुकुममा ‘उज्यालो रुकुम’ अभियान चलाएर साना जलविद्युत र सौर्य ऊर्जामार्फत् घर-घरमा विद्युतीकरण गरेर रुकुमेलीको मन जितेका थिए । त्यसैकारण पनि पहिलो र दोस्रो संविधानसभा चुनावमा रुकुमबाट उनी प्रत्यक्ष निर्वाचित सभासद बने ।

हालै सम्पन्न पहिलो चरणको स्थानीय चुनावमा पनि रुकुम जिल्लाका सबै स्थानीय तहमा माओवादी विजयी बनेको छ । यसले शर्माको शाख अरु बढेको छ ।

अब अर्को परीक्षा सुरु

ऊर्जा क्षेत्रमा एक प्रकारले चमत्कार गरेका शर्मा अब गृहमा कति सफल होलान् भन्ने धेरैको चासो छ । ऊर्जामा कमाएको साख जोगाउने चुनौति शर्मामाथि आइलागेको छ । यसअर्थमा भन्नुपर्दा अब शर्माको अर्को परीक्षा सुरु भएको छ ।

जनयुद्ध लडेको अनुभवका आधारमा शर्मालाई गृहप्रशासन सम्हाल्न केही सहज त होला, तर पर्याप्त भने हुने छैन । किनकि युद्धकालमा जस्तो रणनीति र योजना शान्ति प्रक्रियामा प्रयाप्त हुँदैन भन्ने स्पष्ट उदाहरण तेस्रो स्थानमा खुम्चिएको उनकै पार्टी माओवादीको पछिल्लो हैसियतले बुझाउँछ ।

प्रहरी प्रशासनमा व्याप्त निराशा अन्त्य गर्नुपर्ने चुनौति मन्त्री शर्मामाथि छ । वर्षौंदेखि बढुवा रोकिएर धेरै प्रहरी अधिकारीहरु घर फर्किन बाध्य छन् । यस्तो परिस्थितिमा प्रहरी जवान र अधिकारीहरुको मनोबल उकास्ने चुनौति उनीमाथि छ ।

त्यसैगरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा दोस्रो चरणको स्थानीय चुनाव तथा प्रदेश र संघको चुनाव गराउनुपर्ने गहन जिम्मेवारी शर्मामाथि आइलागेको छ ।

जनार्दन शर्माबाट धेरैले आश गरेका छन् । तर, उनको खरो स्वभावबाट धेरै मानिस आत्तिएका छन्, जसरी हिजो उनी ऊर्जा मन्त्रालयमा हुँदा ‘बिजुली चोर’हरु अत्तालिएका थिए ।

लेखकको बारेमा
विनोद घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?