+
+
इन्टेग्रिटी आइकन नेपाल-२०२२ :

बुवाआमाले नमान्दा नमान्दै प्रहरी सपना पूरा गरेका राजेश

अंगद सिंह अंगद सिंह
२०७९ कात्तिक २१ गते १३:३०
इन्टेग्रिटी आइकन नेपाल-२०२२ घोषित भएका प्रहरी हवल्दार राजेश साह जैसवाल

काठमाडौं । एक छोरा प्रहरीमा छँदैछ, तँ किन जानुपर्‍यो ? माहौल खराब छ तलमाथि केही भइहाल्यो भने ?

छोरालाई लिएर आमाबुवाले व्यक्त गरेको चिन्ता थियो यो ।

‘संकटकाल सकिएको छैन । एक छोरा प्रहरीमा भएर त आधा परान गएजस्तै भइसकेको छ । तँ पनि प्रहरीमै जान्छु भन्छस् । जानु परेको छैन । अरु काम गरेर खालास्’ बुवा कमलप्रसाद र आमा कैलाशपतिले जहिल्यै यो वाक्य सुनाउँथे राजेश साह जैसवाललाई ।

तर उनलाई दाइ मुकेशले लगाएको बर्दीले तानेको थियो । दाइको बर्दी, सर्वसाधारणले प्रहरीलाई गर्ने व्यवहार र प्रहरीदेखि गैरकानुनी काम गर्नेहरु गराएको देख्दा उनलाई प्रहरीमै जागिर खानु थियो ।

‘मर्नु बाँच्नु भाग्यो कुरा हो, म देशको सेवा गर्छु । सरकारी जागिर खाए मेरो भविष्य बन्छ । मेरो खुसी र भविष्यका लागि प्रहरीमा भर्ती हुन दिनुस्’ आमाबुवालाई बारम्बार यही कुरा भन्थे राजेश । आमाबुवाका अगाडि यो बिन्ती र आग्रह थियो, अनि यो एकप्रकारको धम्की पनि थियो ।

आफूहरुलाई पढाउन बुवाले गरेको दुःख सम्झेर नेपाल प्रहरी रोजेका हुन् राजेशले । आफूलाई पढाउन गाउँगाउँ डुलेर कपडा किनिदिनुस् भनेर गरेको याचनाले यहाँसम्म ल्याइपुर्‍याएको हो उनलाई ।

राजेशलाई प्रहरीको जागिर खाने सपनाले गाँजेको थियो भने बुवाआमालाई विद्रोही माओवादीले मार्लान् भन्ने पीर । जागिर नहुँदा बुवाआमाले पाएको दुःख र भोगेको पीडा सम्झाएर राजेशले ‘कन्भिन्स’ गरे । राजेशले प्रहरी भएरै छाड्ने कर गरेपछि बुवाआमाले पनि मन अमिलो बनाई प्रहरी नै बन्छु भन्ने हो भने जाऊ भने ।

तर उनको प्रहरी बन्ने सपनामा पहिलो पटक ब्रेक लाग्यो । कारण उनको पाखुरामा सेतो दाग बस्यो । प्लस टु पढ्दै गर्दा उनी साथीभाइसँग धार्मिक यात्राका लागि भारतको झारखण्ड गए । साथीभाइले त्यहाँको चिनो स्वरुप हातभर मेहेन्दीको ट्याटु छापे । उनले पनि मन थाम्न सकेनन् । कारण उनलाई नेपाल फर्किएर साथीभाइलाई झारखण्डको चिनो देखाउनु थियो ।

दायाँ हातको पाखुरामा उनले बोलबमको ट्याटु छापे । ट्याटु हान्दा मेहेन्दीमा मिसाइएको तेजाबका कारण उनको छाला सेतो भयो । जुन छालाका कारण प्रहरी बन्ने सपनामा ब्रेक लाग्यो ।

घर आइसकेपछि उनले दाग निको पार्न औषधि खाए । मल्हम लगाए । ट्याटु खोपेको तीन चार महिनापछि घाउ निको भयो । फेरि उनले प्रहरीमा भर्ती हुनका लागि फारम भरे ।

नेपाल प्रहरी भई देशको सेवा गर्ने हुटहुटी थियो उनमा । सेवा मात्रै नभई जीविकोपार्जन गर्ने सबैभन्दा उपयुक्त माध्यम पनि प्रहरीको जागिर थियो । अक्सर रहरले खाएको जागिर इच्छाले गरेको काममा सन्तुष्टि र सफलता दुवै मिल्छ । उनलाई पनि त्यस्तै भयो । दोस्रो पटक उनी नेपाल प्रहरीमा सजिलै भर्ती भए ।

देशमा दोस्रो जनआन्दोलनको तयारी हुँदै थियो र माओवादी पनि शान्ति प्रक्रियामा आउने तयारी गर्दैथिए । सपनाको जागिर भएकाले उनलाई प्रहरी हुन डर लागेको थिएन । कथंकदाचित् फेरि युद्ध भइहाले पनि जे होला भन्ने उनको मनमा आयो ।

तर भाग्यले उनले सोचेको जस्तो केही भएन । उनले न आफ्नो ज्यान बचाउन युद्ध लड्नु पर्‍यो न अरुलाई मार्न नै । बरु उनले हजारौंलाई सेवा दिएका छन् । सहयोग गरेका छन् । ज्यान बचाएका छन् ।

‘खुसी र रहरले खाएको प्रहरीको जागिरले जिन्दगीमा अर्को खुसी थपेको छ । आज मैले प्रहरी हुने गरेको निर्णयप्रति निकै खुसी छु । यो सम्मानले काम गर्ने उत्साह र प्रेरणा बढाएको छ,’ इन्टेग्रिटी आइकन नेपाल-२०२२ मा छनोट भएपछि राजेशले सुनाए ।

राजेश अकाउन्टबिलिटी ल्याब नेपालले गरेको सार्वजनिक संयन्त्रभित्रका उत्कृष्ट कर्मचारी  घोषित भएका छन् । जसले उनको जिन्दगीमा खुसीको नयाँ आयाम थपिदिएको छ ।

प्रहरी हुनु पर्दैन । अन्यत्र जागिर गर्लास् भन्ने बुवा खुसी भएका छन् । छोराको कर्मप्रति गर्व महसुस गरिरहेका छन् । तैंले मेरो नाम राखिस् छोरा भनिरहेका छन् ।

आफूहरुलाई पढाउन बुवाले गरेको दुःख सम्झेर नेपाल प्रहरी रोजेका हुन् राजेशले । आफूलाई पढाउन गाउँगाउँ डुलेर कपडा किनिदिनुस् भनेर गरेको याचनाले यहाँसम्म ल्याइपुर्‍याएको हो उनलाई ।

प्रहरी हवल्दार राजेशको दरबन्दी ६ वर्षदेखि सर्लाहीको प्रादेशिक अस्पताल मलंगवामा छ । अस्पतालमा कार्यरत रहँदा अस्पताल प्रशासन, बिरामी र सर्वसाधारणलाई गरेको व्यवहार र सेवाका कारण उनी इन्टेग्रिटी आइकन नेपाल-२०२२ मा छनोट भएका हुन् ।

सामान्यतया प्रहरीसँग कुराकानी गर्न धक मानिरहेका हुन्छन् सर्वसाधारण । तर उनले सर्वसाधारणलाई गर्ने असल व्यवहार र सहयोगले प्रहरीलाई हेर्ने जिल्लाबासीको दृष्टिकोणमा परिवर्तन गरिदिएको छ ।

राजेशले कोरोनाकालमा मात्रै नभई सधैं सर्वसाधारण तथा सेवाग्राहीलाई सहयोग गरेका छन् । उपचारमा समस्या भएका व्यक्तिका लागि आर्थिक संकलनदेखि उनीहरुका लागि खानाको व्यवस्था, उपचारका लागि अस्पतालसँग सहजीकरण र बेवारिसेलाई घर ठेगाना पत्ता लगाएर जिम्मा लगाउने काम गरिरहेका छन् ।

सर्वसाधारणलाई सहयोग गर्नु, अप्ठ्यारोमा परेकालाई मद्दत गर्नु आफ्नो धर्म र कर्म भएको राजेश बताउँछन् । ‘राम्रो काम र व्यवहार गर्नु हरेक नागरिकको दायित्व र जिम्मेवारी हो । मैले सधैं नागरिक र सरकारी सेवामा भएको आफ्नो दायित्व निभाएको हुँ । जुन म सधैं गरिरहने छु,’ उनी सुनाउँछन् ।

उनले आफूले पाएको सम्झेका छैनन्, इन्टेग्रिटी आइकन नेपाल-२०२२ को सम्मान । उनी  यो सम्मान नेपाल प्रहरी संगठनले पाएको बताउँछन् । ‘मैले सम्मान पाउनु ठूलो कुरा होइन । संस्थाको नाम जोडिएको छ । नेपाल प्रहरीमा आवद्ध जयसवालले सम्मान पाएको हो । यसले नेपाल प्रहरीको सम्मान बढाउनुका साथै राम्रो काम गर्न प्रेरित गर्ने छ,’ सम्मान पाउँदा कस्तो लागिरहेको छ ? भन्ने प्रश्नमा उनले सुनाए ।

कोरोना भाइरसको महामारी फैलिरहेको समयमा डाक्टर र नर्ससमेत संक्रमितको नजिक जान डराउँथे । राष्ट्र सेवक कर्मचारी नै पछि हट्यो भने सर्वसाधारण डराउँछन् । उनीहरुको मनोबल घट्छ भनेर उनी आफैं अघि सर्थे ।

संक्रमित नजिक गएर उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने र उनीहरुलाई नडराउन आग्रह गरिरहन्थे । जबकि त्यतिबेला जिल्लामा स्वास्थ्य उपकरण नै उपलब्ध थिएनन् । स्वास्थ्य सामग्री नभएकाले चिकित्सकले उनलाई भित्र नजान सुझाव दिन्थे । तर उनको मनले मान्दैनथ्यो । उनीहरुलाई हौसला दिइरहनुपर्छ भनेर राजेश संक्रमितसँग कुरा बुझ्थे ।

त्यति मात्रै होइन, संक्रमितलाई एम्बुलेन्समा राख्ने र ओराल्ने काममा पनि उनले उत्तिकै भूमिका निभाएका थिए । जति संक्रमितका आफन्तले निभाउँछन् । संक्रमितको मृत्यु भएमा पोष्टमार्टम घरसम्म लैजाने काम उनी स्वयं गर्थे ।

‘मैले नगरे कसले गर्ने, यस्तो कठिन अवस्थामा नगरे कहिले गर्ने ? सोचेर मैले राष्ट्र सेवक मात्रै नभई नागरिक सेवक भई मन वचनले काम गरेको हुँ । मैले गर्न सक्ने काम सधैं गरिरहने छु जसले कसैलाई सहयोग हुन्छ । मद्दत पुग्छ,’ उनले अनलाइनखबरसँग भने ।

द्वन्द्वकालमा टोलमा सुरक्षा गार्ड बसे

सशस्त्र द्वन्द्वका बेला गाउँमा मानिसहरु त्रसित थिए । माओवादीका नाममा कतिपय भारतीयहरु आएर गाउँमा कुटपिट र लुटपाट गर्थे । उनको गाउँ रौतहट राजदेवी नगरपालिका-७, मुड्वलाका बासिन्दा यस्तो हर्कतका कारण आतंकित थिए ।

द्वन्द्वकालको मौका छोपेर भारतीय नागरिकले दुःख दिन थालेपछि गाउँलेले पालैपालो डिउटी गर्न थाले । राति खाना खाएपछि नौ-दश बजेदेखि बिहान चार-पाँच बजेसम्म उनले विना बर्दीको प्रहरीको भूमिका निभाएका थिए ।

गाउँमा डिउटी गर्दा कोही आए होहल्ला गर्ने, जोडजोडले चिच्याउने, पटाका पड्काउने र टोलटोलमा गस्ती गर्र्ने जस्ता काम गर्थे राजेश ।

‘माओवादीका नाममा आएका भारतीय नागरिकलाई डराएर भगाउन हामी पटका किनेर पड्काउँथ्यौं । पटकाको आवाजले आतंक मच्चाउन आउनेहरु भाग्थे । उनीहरु आएको सुइँको पाए हामी प्रहरीलाई खबर गर्थ्यौं,’ प्रहरीमा भर्ती हुनुभन्दा अघिको कुरा सम्झिंदै उनले भने । गाउँमा आर्थिक संकलन गरेर उनीहरु पटका किन्ने गर्थे ।

प्रहरी आउँदा गाउँबस्ती सुरक्षित हुने र आतंक मच्चाउन आउनेहरु डराउने देखेर पनि राजेशको मनमा प्रहरी बन्ने रहर पलाएको हो ।

राजेशले यो कुरा सुने । उनले पहिलो खोप आफूले लगाउने कुरा सिडिओलाई भने । उनलाई सार्वजनिक संयन्त्र र जनताको जनधनको रक्षाका लागि खटिएका हामीले नै डरायौं भने सर्वसाधारणको अवस्था के होला ? भन्ने लाग्यो । उनले खोपको पहिलो मात्रा लिए ।

प्रहरीमा भर्ती भए खेल खेल्न पाउने सपना

राजेशलाई खेलकुदमा निकै रुचि थियो । उनी क्रिकेटका निकै  क्रेजी थिए । तर गाउँमा खेल्ने वातावरण थिएन ।

प्रहरीमा भर्ती हुनुभन्दा अगाडि जिल्ला स्तरीय क्रिकेट प्रतियोगितासमेत खेलिसकेका थिए राजेशले । गाउँमा मौका नपाइने हुँदा प्रहरी जस्तो ठूलो र बलियो संगठनमा गए मौका पाउँछु कि भन्ने उनलाई लागेको थियो । प्रहरीको जागिर रोज्नुको अर्को कारण खेलकुद पनि थियो उनका लागि ।

२०६२ सालमा आफ्नो स्कुलबाट उनी हाइजम्पमा फस्ट भएका थिए । ‘म बर्दी प्रहरीका कारण समाजमा  कायम हुने शान्ति, अमनचयन, जीविकोपार्जन र खेलकुद मोहले नेपाल प्रहरी भएको हुँ,’ उनी सुनाउँछन् ।

सर्लाहीका कोरोना खोप लगाउने पहिलो व्यक्ति

नेपालमा कोरोना भाइरसको महामारी फैलिसकेको थियो । महामारी नियन्त्रणका लागि निषेधाज्ञा, लकडाउन लगायतका उपाय सरकारले लगाइरहेको थियो । विकसित देशहरुले कोरोना विरुद्धको खोप तयार पारे । त्यसको धेरै समयपछि मात्रै नेपालमा खोप भित्रियो ।

सर्लाही जिल्लाबासीलाई खोप लगाउन सरकारले खोप पठायो । स्थानीयमा खोपलाई लिएर निकै डर थियो । खोपले निको हुन्छ हुँदैन भन्ने मात्रै नभई कुनै असर पो गर्छ कि ज्यानै पो जान्छ कि भन्ने भ्रम थियो ।

खोप जिल्ला पुगे पनि खोप लगाउन सर्वसाधारण डराइरहेका थिए । पहिलो खोप लगाउने व्यक्ति खोज्न नै जिल्ला प्रशासन कार्यालयलाई हम्मेहम्मे परिरहेको थियो ।

राजेशले यो कुरा सुने । उनले पहिलो खोप आफूले लगाउने कुरा सिडिओलाई भने । उनलाई सार्वजनिक संयन्त्र र जनताको जनधनको रक्षाका लागि खटिएका हामीले नै डरायौं भने सर्वसाधारणको अवस्था के होला ? भन्ने लाग्यो । उनले खोपको पहिलो मात्रा लिए ।

उनले खोप लगाइसकेपछि सर्वसाधारणले खोप लगाउन थाले । पहिलो खोप लगाएपछि तत्कालीन सिडिओले राजेशलाई धन्यवाद दिंदै तपाईं जस्तो सरकारी मान्छे (प्रहरी) चाहिन्छ भनेका थिए ।

‘राम्रो कामको सुरुवात गर्न कोही न कोही अगाडि बढ्नै पर्छ । मैले हृदयदेखि मन, वचनले काम गरेको हुँ । मेहनतको फल मीठो हुँदो रहेछ । मेरो कामको मूल्यांकन गर्ने कोही त रहेछ । यो सम्मानले मलाई काम गर्न थप उत्प्रेरित गरेको छ,’ इन्टेग्रिटी आइकन नेपाल-२०२२ मा छनोट भएका राजेश भन्छन् ।

यसरी भए आइकनमा छनोट

२०४२ साल फागुन १० गते रौतहटको मुडलवामा सामान्य परिवारमा जन्मेका हुन् राजेश साह जैसवाल । उनले २०६३ साल चैत १ गतेबाट नेपाल प्रहरीमा सेवा सुरु गरे । उनको २०७६ सालमा बढुवा भयो । उनी हाल मलंगवा अस्पतालमा उनको दरबन्दी छ ।

‘मैले पीडामा परेका मान्छेलाई देख्न सक्दिनँ । आत्मसन्तुष्टि र मानवताका नाताले गर्न सक्ने सेवा सहयोग गर्छु । मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो,’ जयसवाल भन्छन्, ‘हरेक नागरिकले मानव हुनुको उत्तरदायित्व र जिम्मेवारी निभाउनुपर्छ ।’

यस वर्ष इन्टेग्रिटी आइकनका लागि देशभरबाट प्राप्त भएका ४१० जनामध्येबाट निर्णायक समितिले राजेशसहित पाँच जनालाई छनोट गरेको हो ।

आइकनको निर्णयक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजकत्वमा प्रशासनविद् काशीराज दाहाल, पूर्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र प्रा. डा. सुचेता प्याकुरेल थिए ।

अकाउन्टबिलिटी ल्याब नेपालका सहायक निर्देशक सुरेश चन्दले नेपाली आइकनको मुख्य उद्देश्य सरकारी सेवाप्रति सर्वसाधारणको वितृष्णा कम गरी राम्रो काम गर्ने, जिम्मेवार र जवाफदेही कर्मचारीको कामलाई बाहिर ल्याउनु रहेको बताए ।

ल्याबले आइकन हुनका लागि केही मापदण्ड बनाएको छ, जसलाई छनोटकर्ताले पूरा गरेको हुनु पर्छ । ‘छनोटकर्ताको काम, आचरण र व्यवहारका बारेमा सेवाग्राही र सुपरभाइजर गर्ने व्यक्तिले बोल्नुपर्छ । मनोनयन आइकन हुने व्यक्तिले नभई सेवाग्राहीले गरिदिनुपर्छ,’ चन्द भन्छन् ।

ल्याबले सूचना संकलन गरी निर्णयक समितिलाई बुझाउँछ । निर्णयक समितिले ल्याबले बुझाएको सूचना र व्यवहार हेरेर निर्णय गर्छ ।

सन् २०१४ बाट इन्टेग्रिटी आइकन नेपाल सुरु भएको हो । अहिले आइकन पाकिस्तान, श्रीलंका, लाइबेरिया, माली, मेक्सिको, दक्षिण अफ्रिका, जिम्बावे, नाइजेरिया, मेक्सिको लगायत १५ देशमा विस्तार भइसकेको छ ।

इन्टेग्रिटी आइकन नेपालमा छनोट भएकालाई ल्याबले मंसिर २४ गते काठमाडौंमा सम्मान गर्ने भएको छ । ल्याबले छनोट भएका राजेश साह जयसवालसहित पाँच जनालाई सम्मानपत्र र ट्रफीसहित सम्मान गर्ने चन्दले बताए ।

‘राम्रो काम गर्ने सार्वजनिक संयन्त्रका कर्मचारीलाई बाहिर ल्याई उनीहरुलाई उत्प्रेरणा-हौसला दिई नराम्रो काम गर्नेलाई पनि पाठ सिकाई जिम्मेवार र उत्तरदायी बनाउनु आइकनको काम हो,’ कार्यकारी निर्देशक चन्दले भने ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?