+
+
Shares

चीनले बनाउँदैछ बच्चा जन्माउने रोबोट

चिनियाँ रोबोटिक्स कम्पनीले विश्वकै पहिलो त्यस्तो सरोगेट रोबोटको निर्माण सम्पन्न गर्न थालेको समाचारले एकसाथ चर्चा तथा विवाद उत्पन्न गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १४:३८
तस्वीर : एआई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ कम्पनीले विश्वकै पहिलो मानव सरोगेट रोबोट निर्माण गर्दैछ जसले कृत्रिम पाठेघरमा भ्रूणलाई १० महिनासम्म गर्भाधारण गर्नेछ।
  • रोबोटको मूल्य १ लाख युआन अर्थात् करीब १४ हजार डलर रहने र एक वर्षभित्र बजारमा पठाइने योजना छ भने डा.झांगले यसलाई 'कृत्रिम पाठेघर प्रविधि परिपक्व अवस्थामा पुगेको' बताए।
  • यो प्रविधिले प्राकृतिक गर्भाधारण नसक्ने व्यक्तिहरुलाई सन्तानलाभमा सहयोग गर्ने आशा छ भने चिकित्सकहरुले यसको क्षमतामा शंका व्यक्त गरेका छन्।

४ भदौ, काठमाडौं। आधुनिक विज्ञान तथा प्रविधिको क्षेत्रमा चीनले गरिरहेको चमत्कारमा एउटा नयाँ अध्याय लेखिँदैछ ।

एक चिनियाँ कम्पनीले विश्वकै पहिलो मानव रोबोट तयार पार्दैछ, जसले भाडाको आमाको रुपमा अरुको बच्चा कोखमा राखेर जन्माइदिनेछ ।

चिनियाँ रोबोटिक्स कम्पनीले विश्वकै पहिलो त्यस्तो सरोगेट रोबोटको निर्माण सम्पन्न गर्न थालेको समाचारले एकसाथ चर्चा तथा विवाद उत्पन्न गरेको छ ।

यहीँ अगष्ट ८ मा चिनियाँ विज्ञान तथा प्रविधि सम्बन्धी पत्रिका कुआई के झीले डा.झाङ्ग क्विफेंगको अन्तर्वार्ता प्रकाशन गर्‍यो । सिंगापुरस्थित नानयाङ्गग प्रविधि विश्वविद्यालयबाट विद्यावारिधि गरेका झांग काइवा टेक्नोलोजी नामक रोबोटिक्स स्टार्टअपका सीईओ हुन् । उक्त कम्पनीले गर्भाधारण गरेर बच्चा जन्माउन सक्ने रोबोट निर्माणमा काम गरिरहेको छ ।

आफ्नो अन्तर्वार्तामा उनले आफ्नो कम्पनी विश्वकै पहिलो ह्युमानोइड प्रेग्नेन्सी रोबोटको निर्माण सम्पन्नको निकै नजिक पुगेको बताएका छन् । उक्त रोबोटको पेटमा कृत्रिम गर्भाशय हुनेछ ।

वास्तवमा रोबोटिक्स प्रविधिको क्षेत्रमा तथा समग्र मानव इतिहासमै क्रान्तिकारी परिवर्तन ल्याउने ठानिएको यो रोबोट सामान्य इन्कुबेटर भन्दा निकै फरक हुनेछ । यो रोबोटले महिलाले जस्तै आफ्नो गर्भाशयमा १० महिनासम्म गर्भाधारण गरेर महिलाले जीवित बच्चा जन्माउन सक्नेछ।

यो सरोगेट रोबोटको सबैभन्दा महत्वपूर्ण अंग भनेकै कृत्रिम पाठेघर हो । उक्त कृत्रिम पाठेघरमा प्रत्यारोपित भ्रूणलाई वास्तविक पाठेघरभित्र जस्तै एम्नियोटिक तरलमा हुर्काइनेछ र बच्चाको नालसँग जोडिएको ट्युबमार्फत् पोषक तत्वहरू आपूर्ति गरिनेछ ।

डा.झाङ्ग क्विफेंग

डा. झाङ्गका अनुसार यो कृत्रिम पाठेघरले हालसम्म जनावरहरूमा परीक्षण गर्दा राम्रो सफलता प्राप्त गरिसकेको छ । आगामी एक वर्षभित्रमा यो रोबोटको निर्माण सम्पन्न भएर बजारमा पठाइने र यसको मूल्य १ लाख युआन अर्थात् करीब १४ हजार डलर रहने बताइएको छ ।

अन्तरवार्ताका क्रममा झांगले भन्छन्, ‘कृत्रिम पाठेघर प्रविधि परिपक्व अवस्थामा पुगिसकेको छ । र, अब यसलाई रोबोटको पेटमा प्रत्यारोपित गर्नुपर्नेछ ताकि रोबोटले गर्भाधारण गर्नका लागि अन्तरक्रिया गर्न सकोस् । तत् पश्चात् उक्त कृत्रिम पाठेघरभित्रै भ्रूण वृद्धि हुनेछ ।’

यद्यपि डिम्ब र शुक्रकिट कसरी फर्टिलाइज गर्ने र त्यसलाई कृत्रिम पाठेघरमा कसरी प्रत्यारोपण गर्ने हो भन्ने विषयमा उनले थप विवरण दिएका छैनन् ।

कृत्रिम पाठेघर भएको रोबोट बारेको डाक्टर झांगको अन्तरवार्ता प्रकाशित भएसँगै त्यसले चिनिया सोसल मिडियामा सनसनी मच्चाएको छ । साथै यसले ठूलो चर्चा र विवाद पनि सिर्जना गरेको छ ।

आलोचकहरुले यो प्रविधि अप्राकृतिक रहेको भन्दै क्रूर र अनैतिक भएको हुनाले यसले भ्रूणलाई आफ्नो प्राकृतिक आमासँग जोडिनबाट बञ्चित गराउने टिप्पणी गरेका छन् ।

तथापि प्राकृतिक रुपमा गर्भाधारण गर्न नसकेका र कृत्रिम गर्भाधानबाट समेत सन्तानलाभ प्राप्त गर्न नसकेका व्यक्तिहरुबाट भने यो प्रविधिले व्यापक समर्थन प्राप्त गरेको देखिन्छ। साथै यो प्रविधिले महिलाहरुलाई गर्भधारण सम्बद्ध बन्देजहरुबाट मुक्त गर्ने कतिपयको मत छ ।

एकजनाले सोसल मिडियामा लेखेका छन्ः यदि यसको मूल्य मेरो वार्षिक तलबको आधा भएपनि मैले किन्नेछु ।

यसका साथै गर्भाधारण गरेर बच्चा जन्माउन सक्ने विश्वकै पहिलो रोबोटका विषयमा अनलाइनमा ठूलो उत्साह देखिएको भएपनि चिकित्सा विज्ञहरुले भने उक्त प्रविधिको क्षमताप्रति आशंका व्यक्त गरेका छन् ।

मानिसमा गर्भ अवधिमा हुने निकै संवेदनशील र जटिल आयामहरुलाई एउटा रोबोटले पूरा गर्न सक्नेमा उनीहरु विश्वस्त छैनन् । आमाले गर्ने हर्मोनको उत्सर्जन, रोग प्रतिरोधी प्रणालीको अन्तरक्रिया र स्नायुजन्य विकास जस्ता गर्भावस्थामा हुने परिघटनाहरु रोबोटको सरीरभित्र हुन सम्भव नरहेको कतिपयको भनाई छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?