
३१ असार, काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोमा लामो समयदेखि काजमा खटिँदै आएका २४ प्रहरी कार्यालयबाट फिर्ता पठाइएका छन् ।
आवश्यकताका आधारमा भन्दा पनि लामो समयदेखि काजमा खटिँदै आएका उनीहरुलाई ब्यूरोले जिम्मेवारीबाट हटाएको हो ।
ब्यूरोका एसएसपी कृष्ण कोइरालाका अनुसार, प्रहरी प्रधान कार्यालयको नीति लामो समय काजमा बसेकालाई कि काज मिलाउने वा दरबन्दीमा पठाउने छ ।
‘यसका अनुसार, ब्यूरोको प्रकृतिअनुसारको कामका उपयुक्तलाई प्राथमिकता दिने नीति अनुसार पनि काज फिर्ता गरिएको हो’, उनले अनलाइनखबरसँग भने, ‘ब्यूरो विशिष्टकृत र फरक किसिमको निकाय भएकाले यहाँ आउनलाई पनि ३ र ७ दिनको अभिमुखिकरण तालिम गराएर मात्र खटाउने गरिएको छ ।’
अहिले पनि सरुवा भएर आएका केही अधिकारीहरुका लागि अभिमुखिकरणको तयारी भइरहेको उनले बताए ।
प्रहरी नियमावली, २०७१ को नियम ५२ ले सामान्यतयाः प्रहरी अधिकृतलाई काजमा नखटाइने उल्लेख गरेको छ । विशेष अवस्थामा मात्र प्रहरी प्रधान कार्यालयले काज खटाउने गरी आन्तरिक नीति समेत बनेको छ ।
तर, शक्तिकेन्द्रको दबाबमा आकर्षक पोष्टिङ सुरक्षित गर्न वा पायक स्थानमा जानलाई काज सरुवा दुरुपयोग हुने गरेको आरोप लाग्ने गर्छ ।
प्रतिक्रिया 4