+

अनुहारमा चाउरी : बुढ्यौलीले कि खानपानले ?

२०७९ कात्तिक  २२ गते १३:५९ २०७९ कात्तिक २२ गते १३:५९
अनुहारमा चाउरी : बुढ्यौलीले कि खानपानले ?

जब अनुहारको छालामा धर्साहरु देखापर्न थाल्छ, मन झस्किन्छ । ‘कसरी चाउरी देखियो ? के अब मेरो उमेर ढल्किन थालेको हो ?’

स्वभाविक हो, उमेर ढल्किंदै गएपछि अनुहारको छाला मुजा पर्न थाल्छ । यद्यपि उमेर नपुग्दै पनि अनुहारमा यस्तो संकेत देखा पर्न थालेको छ । के कारणले अनुहार चाउरी पर्छ ? यसबाट कसरी छुटकारा पाउने ?

चाउरीपनको चिन्ता

अनुहारमा चाउरी आउनुको मुख्य कारण उमेर ढल्किंदै गएपछि आउने बुढ्यौली र घामको परावैजनी किरण हो । साथै चिन्ता र खानपानले हाम्रो शरीरको सबै अंगमा जस्तै छालामा पनि असर गर्छ र अनुहारमा चाउरीपनको समस्या आउँछ ।

अनुहारको भावले गर्दा पनि चाउरीपनको समस्या निम्ताउन सक्छ । कसैको निधार र आँखा खुम्चाउने बानी हुन्छ । यस्तो खुम्चाउने बानी परेकामा पनि चाउरी आउन सक्छ ।

चाउरीपनको चरण

यही उमेरदेखि चाउरी पर्न थाल्छ भनेर ठ्याक्कै भन्न सकिंदैन । पहिले चाउरीपनलाई बुढेसकालको संकेत भनिन्थ्यो । तर अहिले ३० वर्षकै उमेरमा समेत अनुहारमा चाउरी देखिन थालेको छ ।  घाममा काम गर्ने व्यक्तिमा सानै उमेरमा पनि चाउरीपनको समस्या देखिन सक्छ  । वंशाणुगत कारणले पनि चाउरी पर्ने उमेर निर्धारण गर्छ  । त्यसैले ठ्याक्कै कति उमेरदेखि चाउरी पर्न थाल्छ भनेर निर्धारण गर्न मिल्दैन । तर सामान्यतया ४० वर्षको उमेरपछि चाउरी आउन थाल्छ ।

उमेरसँगै छालाको विभिन्न किसिमका तन्तुहरू मासिंदै जान्छन् । छालाको भित्री तहमा रहेको बोसोको तह पनि सुक्दै जान्छ । छालाको तल्लो तहमा ‘कोलाजेन’ र ‘इलास्टिन’ भन्ने तत्त्व हुन्छ । यी तत्त्वले छालालाई तन्किन सहयोग गर्छ । उमेरसँगै त्यो पनि घट्दै जान्छ, जसले गर्दा उमेर ढल्किंदै गएपछि अनुहारमा चाउरी देखापर्छ ।

खानपान एक कारण 

खानपान पनि छालामा आउने विभिन्न समस्यामध्ये एउटा कारक हो । खानपानको असन्तुलन वा अपुगले पनि चाउरीपन देखिन सक्छ । धुम्रपानले त चाउरीपनको समस्या ल्याउनमा ठूलो भूमिका खेल्छ । चुरोटमा भएको टक्सिनले चाउरीपनको समस्या देखिन्छ ।

छालामा हुने एन्टिअक्सिडेन्टले छालालाई पुन निर्माण गर्ने काम गर्छ । एन्टिअक्सिडेन्ट हामीले खानाको माध्यमबाट प्राप्त गर्ने भएकाले सन्तुलित खानपानको अपुगले पनि चाउरी पर्ने हुन्छ ।

खानामा हुने एन्टिअक्सिडेन्टले हाम्रो छालाको पुनर्निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ । खानामा पाइने ‘भिटामिन ए’, ‘भिटामिन सी’ र मिनरल्स लगायतका कुराको कमी भयो भने कोलाजेन र इलास्ट्रिन बन्न पाउँदैन र छालामा चाउरी देखा पर्न सक्छ ।

तनावको छाया

चिन्ता र तनाव जस्ता मानसिक विकारले सिधै छाला चाउरिने समस्या त देखा पर्दैन । तर तनाव लिएर निधार खुम्चाउने, आँखा खुम्चाउनेमा त्यो भाग चाउरी पर्छ । तनावले विभिन्न स्वास्थ्य समस्या निम्ताएर त्यसको असर छालामा पनि देखिन सक्छ ।

कमसल कस्मेटिकको जोखिम

कस्मेटिक वा मेकअपको कारणले नै चाउरी पर्ने भन्ने जोखिम हुँदैन । तर कस्मेटिक र मेकअप कमसल प्रयोग ग¥यो भने छालाको विभिन्न समस्यासँगै चाउरीपनको जोखिम पनि हुन्छ ।

स्टेरोइड प्रयोग भएका छालालाई असर गर्ने कस्मेटिकको प्रयोगले त छालालाई नै बिगार्न सक्छ । चिकित्सकको सल्लाह बिना कुनै पनि औषधिको पनि प्रयोग गर्नु हुँदैन । किनकि सबैलाई एकै प्रकारको कस्मेटिक र औषधि फाइदाजनक नहुन सक्छ ।

मेकअपको भरथेग

मेकअपले चाउरीपन हटाउँदैन । तर सनस्क्रिन र राम्रो गुणस्तरको क्रिमको प्रयोग गर्दा चाउरीपनको जोखिम भने कम हुन्छ । मेकअपले चाउरीपन हटाउने भन्दा पनि ढाकछोप गर्न भने सहयोग गर्छ ।

चाउरीपन अस्थायी रूपमा हटाउने, छोप्ने विभिन्न किसिमका प्रविधि मेडिकल साइन्सले भित्र्याएको छ । अस्थायी रूपमा चाउरीपन हटाउन ‘भिटामिन ए’बाट बनेका केही औषधिको प्रयोग, पिलिङ, बोटक्स र फिलर्स जस्ता उपाय अपनाउन सकिन्छ ।

प्रदूषणले छालामा असर

प्रदूषणले पनि छालामा प्रत्यक्ष असर गर्छ । प्रदूषणका कारण ठोस, तरल र ग्यासरूपी रासायनिक र सूक्ष्म कणहरूले छालामा बहुआयामिक हानि गर्छन् । विकारयुक्त रासायनिक पदार्थहरू छालाका पत्रभित्र पस्छन् र चाउरीपन लगायतका समस्या निम्त्याउँछ ।

वातावरण प्रदूषणले वजन तहलाई प्वाल पार्छ र सूर्यको पराबैजनी किरण पृथ्वीमा धेरै आउँछ र मानिसको छालामा असर गर्छ । यसरी दुईवटा माध्यमबाट प्रदूषणले छालामा समस्या निम्त्याउँछ ।

कसरी रोक्ने चाउरीपन ?

उमेर बढेसँगै चाउरी पर्ने भएकाले यसलाई स्थायी रूपमा हटाउन त सकिंदैन । तर उमेर भन्दा पहिले देखा पर्ने चाउरीपनलाई रोक्न भने केही कुरामा ध्यान दिन सकिन्छ ।

चाउरीपनबाट जोगाउन छालालाई घामको परावैजनी किरणबाट जोगाउन एसपीएफ ३० भन्दा माथिको सनस्क्रिन लगाउने, छाता ओढ्ने, चस्मा लगाउने, क्याप लगाउने र पूरा बाहुला लुगा लगाउनुपर्छ ।

निधार खुम्चाउने, आँखा खुम्चाउने जस्ता अनुहारको भाव बिगार्ने काम नगर्ने । सन्तुलित खाना खाने, प्रशस्त मात्रामा पानी पिउने र तनाव कम लिने गर्दा पनि चाउरीपनको समस्या कम हुन्छ ।

घरेलु काइदा

चाउरीपन घटाउने घरेलु विधि यो नै हो भन्ने ठ्याक्कै केही छैन । दूधमा, चिनीमा पिलिङ गुण हुन्छ । पहिले मान्छेले दूधले नुहाउने गर्थे, दूधले पिलिङ गर्ने भएकोले छिटो चाउरीपन पर्ने समस्या नदेखिएको हुनसक्छ । तर सबैलाई एउटै कुराले फाइदा गर्छ भन्ने हुँदैन । सबै व्यक्तिको छालाको प्रकार फरक–फरक हुन्छ । त्यसैले चाउरीपन घटाउन घरेलु विधि अपनाउनु भन्दा पनि चाउरी पर्न नदिनु राम्रो हो ।

(डा. पौडेल छाला तथा यौनरोग विशेषज्ञ हुन् ।)

खानपान चाउरी बुढ्यौली
डा. विकास पौडेल
लेखक
डा. विकास पौडेल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर :९१११ एमबीबीएस, एमडी, फेलोसिप इन क्लिनिकल डर्माटोलोजी (दक्षिण कोरिया) ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक, पाटन अस्पताल, नेसनल मेडिकल कलेज वीरगञ्ज, शंखमूल हेल्थकेयरर इलिट हेल्थ क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय