+
+
पठन अनुभूति-१ :

मन्नू भण्डारीको ‘एक कहानी यह भी’ : एक शक्तिशाली आत्मकथा

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०७९ कात्तिक २० गते १२:०३

मन्नू भण्डारी मेरा लागि चिरपरिचित लेखिका हुन् । ३० दशकमा साहित्यमा पदार्पण गरेदेखि नै उनका रचना र पुस्तकहरु पढेको हुँ । उनको ‘आपका बन्टी’ उपन्यास पढ्दा कैयौंपल्ट आँखा भिजाएको हुँ, ‘महाभोज’ पढ्दा विकृत राजनीतिबारे आक्रोशित भएको पनि हुँ । यो उपन्यासको नाट्य रुपान्तर भएर किताबको रुपमा प्रकाशित भएको पनि देखेको हुँ ।

यद्यपि नाट्य रुपान्तर चाहिं मैले किनिनँ र पढिनँ । तर सफल मञ्चन भएको खबर पढेको हुँ । केही वर्षअघि नेपालमा पनि यसको मञ्चन भएको खबर पढेको हुँ ।

र उनी भारतको ख्यातिप्राप्त लेखक तथा पुनर्प्रकाशित ‘हँस’का सम्पादक राजेन्द्र यादवकी पत्नी भएको पनि थाहा पाएको नै हुँ । राजेन्द्र यादव र मन्नू मिलेर ‘एक इञ्च मुस्कान’ सामूहिक उपन्यास लेखेको पनि पढेको हुँ ।

मन्नूसँग मेरो परिचय यसरी एउटी लेखिकाको रुपमा रचनाको माध्यमबाट मात्र भएको हो । तर केही समय पहिले मेरो फाइलमा भएको राजेन्द्र यादवको बारेको लेखको कटिङ पढ्दा मन्नूको ‘एक कहानी यह भी’को सन्दर्भ उल्लेख भएको रहेछ । अनि त्यो पुस्तक पढ्ने उत्सुकता जाग्यो । काठमाडौंमा आजकाल पहिला जस्तो हिन्दी साहित्यिक पत्रिका र पुस्तकहरु उतिसारो पाइन्नन् ।

गत अप्रिलमा भारत जाँदा यसपालि चाहिं दिल्लीका पुस्तक प्रकाशकहरुकहाँ पस्छु, केही पुस्तक किन्छु भन्ने मन बनाएर किन्न चाहेका पुस्तकको सूची बनाएको थिएँ । दिल्लीमा बस्ने मित्रवर धर्मराज थापा उर्फ डीआर थापासँग यो किताबको चर्चा पनि गरेको थिएँ । उनले म दिल्ली नजाँदै पुस्तक किनेर राखिसक्नु भएको खबर पाएँ । मन्नूको ‘एक कहानी यह भी’ पुस्तक त थापाजीसँग भेट्ने बित्तिकै पाइहालें । अरु किताबहरुका लागि राजकमल प्रकाशन, वाणी प्रकाशन एवं साहित्य एकादमीको पुस्तक कक्ष गयौं । अरु पुस्तकको प्रसंगपछि कुनै बेला अहिले मन्नू भण्डारी र ‘एक कहानी यह भी’ मैं लाग्छु ।

गोविन्द गिरी प्रेरणा

पुस्तकको सुरुमै उनले पहिलो पंक्तिमै उल्लेख गरेकी छन्, ‘आजसम्म त मैले अरुको कथा लेख्दै आइरहेकी थिएँ, यसपल्ट भने आफ्नै कथा लेख्दैछु ।’ हो, आफ्नो कथा इमान्दारी पूर्वक लेख्न, प्रकाशन गर्न सहज कहाँ हुन्छ र ! त्यसैले त भारतीय कवि अज्ञेयले भनेका थिए, ‘आत्मकथामा झूठ लेख्न सहज हुन्छ, कथामा सत्य !’

मन्नूले आफ्नो बाल्यकालदेखिका संस्मरण यस पुस्तकमा उतारेकी छिन् ।  युवावस्था, विद्यार्थी जीवनकाल र बिहेको प्रसंग हुँदै विवाहपछिको साहित्यिक जीवन यात्रा र राजेन्द्र यादवसँगको वैवाहिक जीवनको विस्तारमा कथा हालेकी छिन् ।

पतिपत्नी एकै क्षेत्रमा हुँदा कति सहजता हुन्छ र कति कठिनाइ, एउटी गृहिणी भएर साहित्यमा पाइला अघि बढाउनु कति कष्टप्रद हुन्छ, उनले आफ्नो भोगाइलाई इमान्दारीपूर्ण ढंगले उतारेकी छिन् ।

यो आत्मकथामा मन्नू भण्डारीले राजेन्द्र यादवबाट जीवनभर पाएको मानसिक यातनाको कथा छ, उनको सहनशीलताको कथा छ, आफू पीडित भएर पनि सहनशीलताले वैवाहिक जीवन डुंगा अघि बढाएको कथा छ, राजेन्द्र यादवले व्यक्तिगत अहमका कारण जीवनभर कुनै जागिर नखाएको र कुनै पद नलिएको कथा छ, उनको नियमित कमाइले घर चलेको कथा छ, बिरामी श्रीमतीलाई घरमा छाडेर पति राजेन्द्र साहित्यिक माहौलमा रम्न गएको, लेखिकाहरुसँग रमाइलो गर्न गएको कथा छ ।

किताबको उत्तरार्द्ध पछिल्लो चरणमा मात्र एउटा रहस्य खुल्दछ, राजेन्द्र यादवको मन्नूसँग परिचय अघिदेखि नै प्रेम सम्बन्ध रहेको र वैवाहिक जीवनको पूर्ण अवधिभर ती युवतीसँगको सम्बन्धमा निरन्तर भएको, अलिकति कमाइ जोगाड हुने वित्तिकै रमाइलो मनाउन पहाडको एकान्तमा जाने गरेको तथ्य ।

यो आत्मकथा पढ्दै जाँदा कताकता उपन्यास जस्तो पनि लाग्छ, कतै कतै हिन्दी साहित्य र साहित्यकारको त्यस कालखण्डको अनौपचारिक इतिहासको वर्णन जस्तो पनि लाग्छ । वैवाहिक जीवनको तीसौं वर्षपछि असह्य भएर मन्नूले राजेन्द्र यादवलाई घरबाट निकाला गरिदिन्छिन् । तर कहिले साथीको घरमा, कहिले कुनै संस्थामा वसेर अन्तमा हार खाएर मन्नूको ढोका ढकढक्याउन आएको र मन्नूले पतिको आगमन स्वीकारेको तथ्य पनि चाखलाग्दो नै छ ।

यसरी फर्केर आएको पति सच्चिएको सुध्रिएको होला भन्ने उनको सोचाइलाई राजेन्द्रको पूर्ववत् व्यवहार र गतिविधिले ध्वस्त पारिदिन्छ र अन्ततः दोस्रो तथा अन्तिमपल्ट सदाको लागि घर निकाला गरिदिन्छिन् । बुढ्यौलीको बेला साथ चाहिने समयमा उनको यो निर्णय पक्कै सुखद् थिएन । तर उनले त्यही रोजेको यथार्थले भावुक बनाउँछ ।

विवाहको केही दिनमै राजेन्द्र यादवले एकले अर्कालाई दख्खल नगरेर समानान्तर जीवन बाँच्ने कुराले मन्नूलाई आहत बनाएकै थियो । तिमीले बाहिर जे गरे पनि मतलब छैन, मलाई पनि स्वतन्त्र छाडिदेऊ भन्ने लोग्नेको भनाइ मन्नूले नसोचेको कुरा थियो । केही भए पनि समयको क्रममा स्थिति परिवर्तन होला, सहज होला भन्ने उनको सोचाइ थियो होला । अझ ती सबबाट आफूलाई मुक्त गराउन नै तिम्रो साथ रोजेको हुँ भन्ने भनाइले उनलाई अलिकति शीतल त भएको थियो । तर त्यसो हुन कहिल्यै सकेन ।

यो स्थितिमा पनि मन्नूले राजेन्द्र यादवले उनको लेखनीलाई गरेको सहयोगको भरपुर तारिफ गरेकी छन् । राजेन्द्र यादवले ‘हँस’को प्रकाशन सुरु गरेपछि पहिलो अंकमै कथा राखेको, लेख्नलाई सधैं प्रेरित गरेको र राजेन्द्र यादवको अध्ययनशीलता, अडान र व्यक्तित्वको बखान गर्न पनि कत्ति चुकेकी छैनन् । अक्षर प्रकाशनको असफलताको र हँस प्रकाशनका सुरुवातका संघर्षपूर्ण क्षणहरुमा द्रवित पनि भएकी छन् ।

लेखनको सम्बन्धमा एउटा नयाँ तथ्यले चाहिं म झस्कें । मन्नू भण्डारी र राजेन्द्र यादवको सहयोगी उपन्यास ‘एक इञ्च’ मुस्कानको त निकै चर्चा भएको हो । तर यसको अन्तर्कथा मन्नूले यो आत्मकथामा खुलस्त पारेकी छिन् । खासमा ‘ग्यारह खम्भोंका देश’ धारावाहिक रुपमा प्रकाशित भइसकेपछि यो उपन्यासबाट प्रकाशक सन्तुष्ट हुन नसकेर राजेन्द्र यादव र मन्नू भण्डारीलाई संयुक्त रुपमा लेख्न आग्रह भएपछि मन्नू भण्डारीले पहिल्यै लेखेर पूरा गरिसकेको उपन्यासलाई नै पुनर्लेखन गरेर सहयोगी उपन्यास बनाइएको र मन्नू आफ्नो एकल उपन्यास संयुक्त भएकोमा सन्तुष्ट नभएको उल्लेख गरेकी छन् एकभन्दा बढी ठाउँमा । आफ्नो मौलिक र एकल लेखन संयुक्त हुनुमा राजेन्द्रको भूमिका र आग्रह रहेको मन्नूको कथन छ ।

यो प्रसंगमा मलाई अग्रज उपन्यासकार पर्शु प्रधान र मैले संयुक्त लेखन गरेको ‘विसर्ग’ उपन्यासको सन्दर्भ याद आयो । खासमा पर्शु इले ‘विसर्ग’ शीर्षकमा लेख्न खोज्नु भएको उपन्यास आफैंले पूरा गर्न नसकेको र आफ्ना समकालीन साथीहरुलाई आग्रह गर्दा पनि कसैले पूरा नगरिदिएको बताउँदै मलाई पूरा गर्न आग्रह गर्नुभएपछि मैले उहाँले जहाँसम्म लेख्नु भएको थियो, त्यसैबाट अघि बढाएर पूरा गरेको हुँ । यस विषयमा मैले लेख लेखेर पनि प्रकाशित गरें । त्यस लेखमा मैले सवै सन्दर्भ र यथार्थ खुलस्त गरेको छु । तर मन्नू भण्डारी र राजेन्द्र यादवको किस्सा त अलग्गै रहेछ, जुन किस्सा मन्नू भण्डारीको यो आत्मकथा पढ्नुअघि थाहा थिएन ।

हिन्दी साहित्य जगतको अन्तरंग विसंगति, इन्दिरा गान्धीको हत्यापछिको दङ्गा र तत्कालीन सामाजिक अवस्थाको मार्मिक स्थितिको पनि यो आत्मकथामा झल्को पाइन्छ ।

यो आत्मकथा पढिसक्दा म निकै रन्थनिएँ । रन्थन्याइको कारण एक होइन अनेक थिए । पारिवारिक वा भनौं दाम्पत्यको चरम विसंगतिमा पनि आम जगतलाई सामान्य देखाएर कसरी उनी टिकिरहिन् ? जीवनको उत्तरार्द्धमा एउटा मोडमा आएर कुन आँटले पतिलाई घर निकाला गर्न सकिन् । फेरि कसरी ढोकामा आएपछि स्वीकार्न सकिन् । फेरि दोस्रोपल्ट कत्रो आँटले घर निकाला गरिन् र एकल जीवनलाई अघि बढाउँदै यति शक्तिशाली आत्मकथा लेखिन्, कैयौं क्रूर र क्रूरतम् यथार्थलाई सहज ढंगले अभिव्यक्त गर्दै ।

वास्तवमा यो पुस्तकको पठन अनुभवका लागि यही पुस्तक अर्थात् ‘एक कहानी यह भी’ नै पढ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?