+
+
घनश्याम भूसालसँग अन्तर्वार्ता :

‘एमालेका साथीहरुबाट सहानुभूति पाएको छु’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १२:२५

२२ कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीसँगको लामो अन्तरसंघर्षलाई नेता घनश्याम भूसालले प्रतिनिधिसभा चुनावको मुखमा विराम लगाएका छन् । यसअघि रुपन्देही ३ बाट सूर्य चिह्नमा विजयी भूसालले योपल्ट चिह्न र क्षेत्र दुवै बदले । यसपटक त्रिभुज चिह्न लिएर उनले दिएको स्वतन्त्र उम्मेदवारीलाई सत्ता गठबन्धनले समर्थन गरेको छ ।

उनै भूसालसँग रुपन्देहीस्थित उनकै क्षेत्रमा अनलाइनखबरका सम्पादक बसन्त बस्नेतले गरेको कुराकानी यहाँ प्रस्तुत छ । यसको भिडियो अनलाइनखबरको फेसबुक तथा युट्युब च्यानलमा हेर्न सकिन्छ ।

यसपल्ट तपाईंको चुनाव चिह्न र क्षेत्र दुवै फेरिएको छ । चुनावी अभियान कसरी चलाइराख्नुभएको छ ?

सामान्यतया मैले आफूले पार्टी काम गर्न थालेपछि बढी काम गरेको, मेरो घर भएको क्षेत्र, सबै पार्टीका धेरै मानिसलाई मैले चिन्छु । २०७४ सालमा पनि म यही क्षेत्रमा लड्न चाहन्थें । मैले एमाले स्थायी कमिटीको बैठकमा यसका लागि धेरै अनुरोध गरेको हुँ । किनकि अरू सबै स्थायी समितिका सदस्य आफ्नो घर भएको क्षेत्रमा अनुकूलता मिलाएर लडेका थिए । त्यही कुरा मैले केपी ओलीजीलाई भनें- ‘तपाईंहरू सबै (तपाईं समेत) घर भएको क्षेत्रको अनुकूलता मिलाएर उठ्दै हुनुहुन्छ भने मलाई किन त्यहाँबाट लड्न दिनुहुन्न ?’

ओलीले के भन्नुभएको थियो त्यतिखेर ?

धेरै लामो कुरा भयो । त्यहाँ एक जना हाम्रो दलित समुदायबाट आएको साथी, उसलाई छाडिदिऊँ भन्ने कुरा गर्नुभयो । मैले भनेको थिएँ, ‘त्यसका लागि मेरै क्षेत्र किन पर्छ ?’

यहाँ आएर थाहा पाइयो, तपाईंले संकेत गरेकै उम्मेदवार छविलाल विश्वकर्मा; जो एमाले, जसपा र राप्रपाको गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ– मैले यहाँ आउँदा अनुभव गरें, तपाईंहरूले स्थानीय कार्यक्रमहरूमा एकअर्काको नाम उच्चारण गर्नुहुने रहेनछ । तपाईंले आज पनि गर्नुभएन । उहाँका लागि यस पटक पनि छोड्ने परिस्थिति भएन, होइन ?

एक त म त्यो पार्टी नै छाडेर निस्किएको थिएँ, दोस्रो २०७४ सालमा पनि ५३ जनाको क्षेत्रीय कमिटीमा ५१ जनाले मेरो प्रस्ताव गरेका थिए । अहिले पनि मेरो नाम प्रस्ताव भएको थियो । यस हिसाबले यदि यो संसदीय निर्वाचनमा प्रतिस्पर्धामा जाने कुरा हो भने त्यतिखेर पनि म उम्मेदवार थिएँ, अहिले पनि थिएँ । त्यस अर्थमा हिजो पनि यो मेरो क्षेत्र हो, राजनीतिक रूपमा काम गरेको हिसाबले पनि र आज पनि यो भयो । आज त यस अर्थमा भयो कि म नेकपा एमालेमा बस्न नसक्ने भएर हिंडिसकेको थिएँ । त्यसपछि त्यसलगत्तै गठबन्धनका साथीहरू, खासगरी माओवादीका साथीहरूले तपाईं उठ्नुहोस् भनेर प्रस्ताव गर्नुभयो । मैले उहाँहरूलाई भनें, म तपाईंहरूको पार्टीको उम्मेदवारी लिएर जान्नँ ।’

मैले प्रचण्डजीलाई भनेको थिएँ, तपाईंले मलाई स्वतन्त्रतापूर्वक, तपाईंको पनि कुरा बेठिक लाग्यो भने आलोचना गर्ने स्वतन्त्रता दिनुहुन्छ भने त्यस अर्थमा स्वतन्त्र उठ्न दिनुहुन्छ भने, त्यस अर्थमा समर्थन गर्नुहुन्छ भने म व्यावहारिक राजनीतिक गर्ने मान्छे, संसदमा जाने कुरा स्वाभाविक हुन्छ, म जान चाहन्छु भनें ।

त्यसपछि उहाँले भन्नुभयो, ‘म मेरोतर्फबाट त्यसका लागि पनि सहमत छु, तर, म एक पटक शेरबहादुरजी, माधवजीसँग छलफल गर्छु र निर्णय गर्छु ।’ त्यसपछि उहाँले हामीले छलफल गर्यौं, तपाईं अगाडि बढ्नुहोस्, हामी समर्थन गर्छौंं भन्नुभयो । नेकपा एमाले छाडिसकेको अवस्थामा राजनीतिक हिसाबले त्यो मेरा लागि अवसर थियो, त्यसरी म उठेको हुँ ।

ओलीजीकै पक्षको भनिएका सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाऔं र पार्टी एक राखौं भनेको थिएँ । त्यसपछि उहाँले जे कुरा भन्नुभयो, त्यो कुरालाई जसरी लिनुभयो, त्यसपछि विवादहरू भए, त्यो मेरा लागि एकदमै अपमानपूर्ण थियो ।

तपाईंले कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित गठबन्धन र नयाँ परिस्थिति बनाउनुभएको छ । मतदाताले यो गठबन्धनलाई जस्ताको तस्तै अनुमोदन गर्लान् ?

मैले यो कुरा सार्वजनिक रूपमा पनि भनिरहेको छु, कि मैले सोचे भन्दा राम्रो स्थिति आजसम्म मेरो उम्मेदवारीको सन्दर्भमा नेपाली कांग्रेसभित्र देखिरहेको छु । माओवादी केन्द्रको कुरै भएन, किनकि उहाँहरूले मेरा लागि आफ्नो सिट छोड्नुभएको छ । गठबन्धनमा यो उहाँहरूको सिट थियो । समाजवादी पार्टी, जनमोर्चासमेत यसपटक मेरो उम्मेदवारीलाई लिएर एकताबद्ध देख्छु । नेकपा एमालेको साथीहरूलाई मैले पार्टी छोडेकोमा जुन चोट परेको छ, यो चोट आक्रोशका रूपमा अभिव्यक्त हुनेछ भन्ने मैले सोचेको थिएँ, यो आक्रोशभन्दा आम रूपमा सहानुभूतिका रूपमा पाएको छु ।

आजसम्म मलाई एक जना साथीले मात्र तपाईंलाई सहयोग गर्न सकिन्न भन्नुभएको छ, नत्र जति पनि साथीहरूसँग कुराकानी गरें, ५/७ प्रतिशत साथीहरूले छलफल गर्नुपर्छ भन्नुभएको छ, अरु सबै साथीहरूले तपाईं लखेटिनुभयो, हामी तपाईंको साथमा छौं भन्नुभएको छ । चुनावी हिसाबले म स्वतन्त्र छु, म एक्लो छु । त्यस हिसाबले अप्ठ्यारो छ । तर, आम रूपमा मतदाताको सदभाव, सहानुभूति, मैले सोचेभन्दा राम्रो छ ।

सत्ता गठबन्धनको उम्मेदवार भइकन तपाईंले आफ्नो चुनाव चिह्न चिनाउँदै हिंड्नुपर्ने अवस्था छ । म सत्ता गठबन्धन मात्र नभनेर अतिरिक्त चिनाउनुपर्ने अवस्था के कारणले आएको हो ?

यसको लामो राजनीतिक अन्तर्द्वन्द्वको फेहरिस्त हुनेभयो । अन्ततः मेरा लागि सबैभन्दा अपमानपूर्ण लागेको पछिल्लो स्थायी कमिटीमा मैले ५/७ मिनेट बोल्न तीन पटकसम्म अनुरोध गर्नुपर्यो । चुनावको मुखमा, आफ्नो कुरा राख्न तीन पटक मैले अनुरोध गर्नुपर्यो ।

तपाईंले समय पाउनुभएन ?

दुई पटकसम्म समय नपाएपछि तेस्रो पटक मेरो केही कुरा छन् भनें । यो मैले पहिलो पटक आफ्नो मुखबाट सार्वजनिक गर्दैछु । मेरो प्रस्ताव, हिजो जतिबेला संसद विघटन भयो, त्यसलगत्तै धेरै साथीहरूसँग मैले प्रस्ताव गरें कि, ‘सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्री बनाएर जाने, पार्टी एकीकृत राखौं ।’

ओलीजीले जे गर्नुभयो, यो राम्रो भएन, पार्टी पनि एक राखौं, नेकपा एकताबद्ध राखौं, केवल प्रधानमन्त्री फेरौं, पार्टीभित्रको गुटबन्दी जे भने पनि ओलीजीकै पक्षको भनिएका सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाऔं र पार्टी एक राखौं भनेको थिएँ ।

त्यत्रो पार्टीको विघटन, विखण्डनपछि पनि अब यो चुनावको लिडर सुवास नेम्वाङलाई बनाएर जाऔं, किनकि कमरेड ओली तपाईंको बारेमा आम रुपमा जनतामा सत्ताका लागि तपाईं जे पनि गर्नुहुन्छ, मैले शब्द नै यही भनेको थिएँ । यसर्थ यो पार्टीका लागि पनि अवसर हो, कि यो अवगाल पनि धुन सकिन्छ, पार्टीका लागि पनि राम्रो हुन्छ, हामी धेरै राम्रो गर्न सक्छौं भनेको थिएँ । त्यसपछि उहाँले जे कुरा भन्नुभयो, त्यो कुरालाई जसरी लिनुभयो, त्यसपछि विवादहरू भए, त्यो मेरा लागि एकदमै अपमानपूर्ण थियो ।

त्यो चुनावका बेला प्रकट भयो ?

त्यो त मुद्दा अनुसार हुनेभयो, चुनावको मुखमा चुनावको मुद्दामा कुरा गरेका थिएँ । त्यो चुनाव र सिटको लेनदेनको विषय थिएन । म त पार्टीलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर गएको थिएँ । संसद विघटन, दुई–दुई पटकका विघटन, सौराहको असफलतापछि, संगठन भुत्ते हुँदै गएपछि, यसको प्राण मर्दै गएपछि यो सबै ओली प्रयोग असफल भएपछि त्यसलाई धुनुपर्छ भनेर म गएको थिएँ । पार्टीको नेता हुनुहुन्थ्यो, प्रयोग गर्नुभयो असफल हुनुभयो तर यो असफलताबाट त सिकौं ? अन्ततः चुनावको मुखमा, संसदीय पद्धतिको ठूलो घटना चुनावको मुखमा पार्टी जोगाऔं भन्ने मेरो प्रस्ताव थियो । मेरो स्वभावैले नेकपा एमालेको प्रस्तावमा वाम मोर्चा बनाएर जाउँ भन्ने थियो । यी राजनीतिक कुरा थिए । कुनै व्यक्तिगत कुरा थिएनन् । तर उहाँले यसलाई व्यक्तिगत रिसइबी साध्ने माध्यमको रूपमा लिनुभयो ।

तपाईंको कुराले ओलीलाई सहयोग पुग्ने कुरै भएन । तपाईंले भनेको असफलता उहाँ त मान्नै तयार हुनुहुन्न । जहाँसम्म तपाईंले पार्टी छाडेको कुरामा पनि उहाँले तपाईंलाई बखेडा झिक्ने र छलफल मात्रै गरौं नेता भूसाल हो भन्ने ओलीको आरोप छ । एक पटक अवसर पाएन भनेर पार्टी छोडेर जानु पार्टीका लागि ठिक हो त भन्ने उहाँको अहिलेको प्रश्न छ ?

यो कुरा युवराज ज्ञवालीले भनेको भए पत्याइन्थ्यो । उहाँ जस्तो त्यागी मान्छे पार्टीमा हजारौं छन् । तर, जसले आफ्नो कुर्सीका लागि सत्ता र पार्टीलाई दुई–दुई पटक ध्वस्त बनायो त्यो मान्छेले यस्ता कुरा गरेको सुहाउन्न । त्यसो भए ओलीजीले चैं किन टिकट पाउने ?

हुन त उहाँले यो कुरा भीम रावलजीका लागि भन्नुभएको हो । तर, त्यो पार्टीमा म छँदा म र रावलजी वा ओलीजी वा अरू कुनै सदस्य एकै होइनौं र ? यत्ति पनि सेन्स छैन, यत्ति पनि मूल्य बनाउन सकिन्न भने हामी २१औं शताब्दीको लोकतान्त्रिक पार्टी कसरी हुन सक्छौं ! उहाँलाई पद पनि चाहिने पदका लागि पार्टी ध्वस्त पार्ने, संसद विघटन र सत्यानाश गरिदिने अनि यस्तो कुरा गर्दै हिंड्ने ?

मैले भन्दैछु पार्टीमा गुटबन्दी र विवाद छन् तर उहाँकै टीमका अर्को साथीलाई जिम्मेवारी दिए पार्टी जोगिन्छ । उहाँकै टीमको साथी प्रधानमन्त्री बन्दा मुलुक जोगिन्थ्यो, संविधान र लेफ्ट मुभमेन्टको यो दुर्गतिबाट त बच्थ्यो नि ! तर, उहाँ त्यसका लागि समेत तयार हुनुभएन । अनि त्यो व्यक्तिले अरूलाई पदलोलुप भनेको, टिकटका लागि यो या त्यो कुरा गरेको पटक्कै सुहाउँदैन । पार्टीलाई सधैं सहयोग गरेको, कुनै लाभको पद नलिएको पार्टीका कुनै साथीले यो कुरा गर्न अवश्य सुहाउँछ ।

आफू मन्त्री भएको सरकार ढाल्ने, संसदमा ह्वीप उल्लंघन गर्ने, पार्टीको न्यूनतम अनुशासन समेत नमान्नेलाई टिकट किन दिने भन्ने उहाँको भनाइ तपाईंले सुन्नुभएकै होला !

यसको आधार नै गलत छ । पार्टी भनेको के हो ? मैले पार्टीको निर्णय मान्दिनँ भनेको होइन । फेरि पनि त्यो पार्टी, पार्टी जस्तो हुनुपर्‍यो । पार्टीको स्थायी कमिटी, कमिटी जस्तो हुनुपर्‍यो । जुन कमिटीमा ५/७ मिनेट बोल्नका लागि एक स्थायी समिति सदस्यले तीन–चार पटक अर्जी हाल्नुपर्छ त्यो पार्टी हुन्छ ? त्यो पार्टी रहेन । जो केन्द्रीय कमिटीमा अल्पमतमा परेपछि संसद विघटन गर्छ ऊ आफूलाई पार्टी बताउँछ, पार्टी त उसले विघटन गरिसक्यो । संसारभर पार्टीमा व्यक्ति शक्तिशाली भयो भने पार्टी कमजोर हुन्छ । त्यो दुब्लाउँछ, कमजोर हुन्छ । यसर्थ हाम्रोमा विधि पद्धतिको कुरा होइन पार्टीको निर्णय नै होइन भन्ने मेरो भनाइ हो । यसमा छलफल गरौं न त यो पार्टीकै कुरा हो ! मैले उठाएको मुद्दाहरूमा अरू कसैले आपत्ति जनाउँदैन । सबै पार्टी बहुमत चुप छ तर उहाँ मात्रै व्यक्तिगत गालीगलौजमा उत्रिनुहुन्छ । उहाँको मात्रै व्यक्तित्व छ, उहाँको मात्रै इज्जत छ ! उहाँको मात्रै पहिचान छ !

अब तपाईं एमालेमा फर्कने सबै ढोका बन्द गरेर हिंड्नुभएको हो ? कि चुनावपछि फर्कने सम्भावना छ ?

मैले धेरै हेरें, सुनेको के थियो भने सर्पले काँचुली फेर्दा भयंकर यातना हुन्छ भन्छन् । त्यो स्थायी कमिटीको बैठक पछि म वास्तवमै त्यस्तै यातनाबाट गुज्रिएँ । मैले धेरै पटक सोचें, ओलीजीको निजी कब्जाबाट त्यो पार्टी मुक्त हुन्छ ? हुँदैन । ओलीजीमा सुधार आउँछ ? आउँदैन । हामीले १० बुँदे गर्यौं, त्यसलाई भाँड्न बार्दलीबाट भाषण गरिदिनुभयो । आफूले बनाएको टास्क फोर्सले गरेको समझदारीमा यस्तो हुन्छ, माधव नेपाल यस्तो भनेर भनिदिनुभयो । ठिक छ माधव नेपालसँग उहाँको केके दुश्मनीहरू थिए ।

यो सबैबाट हेर्दा उहाँले एकपछि अर्को संस्था सकिदिनुभयो, बर्बाद पारिदिनुभयो । मुलुकको सबैभन्दा अब्बलमध्येको पार्टी यो हालतमा पुग्यो यसको उहाँले जिम्मा लिनु भएन ।

पार्टीमा यस्ता धक्कामुक्की धेरै नै चलिरह्यो । सधैंभरि ओली यस्तै अवस्थामा पनि नरहलान्, हिजो तपाईंले माधव नेपालसँग पनि यस्तै भोगेकै हो !

यसो भन्नुको अर्थ परिस्थिति बदलिन्छ भन्नुको अर्थ हरेक मान्छे आफ्नै जीवनकालमा सुध्रिन्छ भन्ने पनि नहुँदोरहेछ, सिक्छ भन्ने पनि नहुँदो रहेछ । तर त्यो देखेर अर्को पुस्ताले सिक्ला । यस्तो इतिहासमा हुन्छ । एउटै मान्छे सुध्रिन्छ भनौं भने निरंकुश भन्ने हुँदैनथ्यो होला । एकै खालको दिन रहँदैन भन्नुको अर्थ के हो भने कोही आफ्नै जिन्दगीमा सिक्छन् कोही अर्को पुस्ताले सिक्छ । तिनको जिम्मेवारी समेत, ऋण समेत बोकेर अर्को पुस्ताले सिक्छ ।

तर, मैले देखेको ओलीजीबाट त्यो एमाले पार्टीभित्र अर्को पुस्ताले सिक्छ । यो गल्ती पनि हुनसक्छ इतिहासले देख्छ । ओलीजीको नियन्त्रणबाट एमाले मुक्त हुँदैन । त्यस्तो लाग्थ्यो र हुन्थ्यो भने म बस्थें । गएको १० वर्ष त म ओलीजीबाट यस्तै अवस्थाबाट गुज्रिएको छु । त्यो धैर्यपूर्वक प्रतीक्षा गर्ने अवस्था रहेन ।

शंकर पोख्रेलले तपाईंले पार्टी नछाड्दै र छोडिसकेपछि अनलाइनखबरसँगको कुराकानीमा घनश्यामजीले ओलीसँगको अन्तरसंघर्षमा जति खर्च गर्नुभयो, त्यो पार्टी निर्माणमा खर्च गरेको भए पार्टी निकै माथि पुग्थ्यो भन्नुभयो । दोस्रो कुरा चाहिँ उहाँ पुरानै क्षेत्रबाट लडेको भए पनि हुनेथियो । तर, पार्टीले स्थान दिएको पुरानै उम्मेदवार, समाजमा उत्पीडन भोगेको व्यक्ति भएको ठाउँमा गएर उम्मेदवारी दिनु भनेको सामाजिक न्याय र अन्यायका सन्दर्भमा उहाँले गरेका दाबी स्वतः खारेज भयो भन्नुभयो । शंकरजीको यो भनाइलाई कसरी जवाफ दिनुहुन्छ ?

शंकरजीलाई व्यक्तिगत रूपमा मैले केही जवाफ दिनु छैन । तर, ओलीजीको अध्यक्षतामा भएको महासचिवको हिसाबले शंकरजीले यस्तै बोल्नुपर्थ्यो होला । तर उहाँ आफैं रेखा शर्मा नामक अब्बल दर्जाका महिला सांसदका विरुद्धमा चुनाव लड्नुभएको छ । अब आफूले महिलाका लागि छाडेर मलाई अर्को दलित वा जनजातिसँग उठ्यो भनेर भन्नुभएको भए जायज हुन्थ्यो होला तर आफू त्यो अवस्थामा रहेको मान्छेले यस्तो बोल्नु कति जायज हो ? उहाँले जे भन्नुभयो त्यो एमालेको अहिलेको महासचिवको आधारमा बोल्नुभयो । उहाँले आफंैले सिकेको शिक्षादीक्षा, आफूले बनाएको स्वस्थ मूल्य र मान्यताको विरुद्धमा बोल्नुभयो ।

त्यो पार्टीभित्र ऊर्जा खर्चिएको भए भन्ने विषय ?

अझै छिटो बिग्रिन्थ्यो, मेरो ऊर्जा भनेको ओलीजीलाई गलत दिशामा जानबाट रोक्ने हो । मैले पार्टीमा कुुनै पद मागिनँ, पदका लागि कुनै नेतालाई भेटिनँ । मेरा मुद्दा त ओलीजीलाई गलतबाट रोक्न राजनीतिक मुद्दा थिए । म पनि ओली जस्तै भइदिएको भए त्यसलाई नै प्रोत्साहन गरेको भए झनै छिटो बिग्रिन्थ्यो ।

तपाईं त सौन्दर्यशास्त्रको अध्ययन गर्ने साहित्यको मान्छे, एउटा बिम्वमा प्रश्न गर्छु, तपाईंलाई अहिले चिन्नु पर्यो त्रिभूजले । यो त्रिभूजको एउटा कोणमा प्रचण्ड, अर्को कोणमा माधव नेपाल र एउटा कोणमा तपाईं हुनुहुन्छ ! यो चुनावपछि तपाईं कुन भुजासँग मिल्नुहुन्छ ?

कतिपय कुरा अझै भन्ने बेला भइसकेको छैन । यसपछिको कम्युनिस्ट आन्दोलन, त्यसमा प्रचण्ड र माधव कमरेडको भूमिका के हुन्छ भन्ने अहिले भन्ने अवस्था भएन । तर, समग्रतामा कम्युनिस्ट आन्दोलनमा अर्को कुनै पार्टीमा म अहिले जान्न भनेरै स्वतन्त्र भएको हुँ । तर, कथम् कदाचित त्यस्तो नभए म दुनियाँसँग त्यही भनुँला मैले यस्तो सोचेको थिएँ तर त्यसो भएन भनुँला । त्यसैले म एउटा व्यक्तिका हिसाबले उहाँहरूको ठिक वा बेठिकमा स्वतन्त्र दृष्टिकोण राखेरै अघि बढ्छु ।

अहिलेको अवस्थामा तपाईं स्वतन्त्र वामपन्थी हो ?

हो ।

तपाईं माओवादी हुने सम्भावना छैन ?

म अहिलेका पार्टीहरू माओवादी केन्द्र, नेकपा समाजवादी केन्द्र वा नेकपा एमाले, पार्टीहरू नभएर हामीले दुःख पाएको हैन । कम्युनिस्ट पार्टी त कति छन् कति ! पार्टीभित्रै पार्टी छन् । म यी पार्टीका कस्ता समस्याले मुलुक र समग्र आन्दोलनले दुःख पायो भन्ने कुरा मेरो मुद्दा हुनेछ ।

ठेकेदारलाई कारबाही नहुने प्रणाली तोडेर मैले ठेकेदारको धरौटी जफत गरेर १० अर्ब रुपैयाँ सरकारको ढुकुटीमा हालें । मलको अर्थ राजनीति बुझ्ने मूलधारको जिम्मेवार मिडियालाई राम्ररी थाहा छ । दुर्भाग्य के भयो भने प्रधानमन्त्री ओली र उनका मान्छेले मलाई खेद्न सुरु गरे ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा गएर त्यस संगठनलाई पुनः परिभाषित गर्ने सम्भावना कत्तिको छ ?

ती समस्त नेकपा एमालेमा रहेका र नेपालको वामपन्थी आन्दोलनमा ठूलो योगदान गरेको नेकपा एमालेको निर्माणमा सहभागी भएका त्यसको मर्म र त्यसको प्राणप्रति संवेदनशील, जागरुक, प्रतिबद्ध र अरू वामपन्थी कम्युनिस्ट पार्टीमा रहेका इमानदार समस्त साथीहरूको समस्यासँगै हुने छु । ती पार्टीहरू नसुध्रिंदासम्म वाम आन्दोलन बन्दैन भन्नेछु । सँगसँगै नेपालको सन्दर्भमा वामपन्थी पार्टी मात्रै सध्रिएर हुँदैन । स्वयं लोकतान्त्रिक भन्ने कांग्रेस पार्टी पनि त्यत्तिकै सुध्रिंदै जानुपर्छ ।

यसको लामो सहकार्य हाम्रा (नेपाल)को भाग्यमा लेखिएको छ । यसर्थ यी दुवै क्षेत्रमा पार्टीहरूमा शुद्धीकरण हुनुपर्छ भनेर मैले आवाज उठाउनेछु । यद्यपि स्वतन्त्र व्यक्तिको हिसाबले उठाउने कुराका सीमा पनि हुनेछन् । किनकि मेरो त्यस्तो प्रचारक कुनै टीम हुने छैन । तर, स्वतन्त्रतापूर्वक बोल्दा सुन्ने मान्छे धेरै हुनेछन् । यो मलाई सजिलो पक्ष हुनेछ ।

अब तपाईंको निर्वाचन क्षेत्रबारे जाऔं । तपाईंको क्षेत्रमा घुम्दा, मन्त्री हुँदा मल ल्याउन नसकेको कुरा आम रूपमै स्थापित भयो, मान्छे र सिद्धान्त राम्रो विवादास्पद मान्छे होइन पनि भन्छन् । तर उहाँले जितेर यस क्षेत्रले के पाउँछ ?

तपाईंले अघि नै पनि मन्त्री हुँदा छाडेर हिंड्यौ भन्ने कुरा मान्छेहरूले भने भन्नुभयो । म कृषि मन्त्री हुँदा मैले कृषिका बारेमा हाम्रो विकासका बारेमा जुन सोच बनाएँ र त्यसको व्याख्य गरें मेरो जीवनमा ओलीजीले मेरो प्रशंसा गरेको त्यही नै पहिलो पटक थियो । कृषिको बारेमा उहाँले मन्त्री हुने वित्तिकै भएको एउटा सम्झौतामा सचिव, सहसचिवले गर्ने बजेटमा बनेका कुरा गर्ने विषय थिए ।

मैले तत्कालीन प्रधानमन्त्री ओलीलाई भनें यो त दैनिक गर्ने कार्य हो मलाई केही समय अध्ययन गर्न दिनुस् नयाँ केही गर्ने हो भनें । सारमा भन्ने हो भने नेपालको कृषि क्षेत्र संरक्षित क्षेत्र हो । यो राज्यले नै संरक्षण गर्नुपर्छ । कृषिमा काम गर्नेले ३० देखि ३५ हजार रुपैयाँ प्रति महिना घरमा पस्दैन भने त्यो मान्छे कृषिमा टिक्न सक्दैन भन्ने देखियो । यसलाई ५ वर्षभित्र सुधार गरेर कृषिमा लागेको मान्छे उखेलिन्न, ऊ टिक्छ भन्ने बनाउन ५ वर्ष लाग्छ काम गर्नुपर्छ भनेको थिएँ । ओलीले यसलाई मन पराउनुभयो । त्यसपछि उहाँको अप्रेसन भयो त्यसबाट फर्किएपछि समस्याहरू सुरु भयो ।

मैले बनाएका नीति कार्यक्रममा ब्रेक लाग्यो, बजेटमा ब्रेक लाग्यो । त्यो कुरा मैले मन्त्रीको हैसियतमा संसदको रोस्ट्रमबाट सबै कुरा भनेको छु । जहाँसम्म मलको कुरा छ, संसार सबै ठप्प भएको, तलको कोठाबाट माथिल्लो कोठामा जान नसक्ने संसार भरको समस्या थियो, हाम्रो कलकत्ताको पोर्ट, खरिदको कानुन जस्ता कारणबाट मल कहिल्यै नेपालले पाउँदैन । मैले त बरु ३२ हजार मेट्रिक टन मल ल्याएको थिएँ बरु अहिल्यै त्यति मल छैन । हामीले मल ल्याउने कलकत्ता पोर्ट, हामीले किन्ने मलको आकार, ठेक्का प्रणालीले मल पर्याप्त आउने अवस्था छैन । दोस्रो त्यो कोरोनाको अवस्था थियो तर ठेकेदारहरूले मलाई ढाँटिरहे । दिनमा तीन पटक समेत मैले मल खोइ भनिरहें तर उनीहरूले पानीजहाज ट्रयाकिङ गरेको भन्दै भन्दै मलाई झुट बोले ।

ठेकेदारलाई कारबाही नहुने प्रणाली तोडेर मैले ठेकेदारको धरौटी जफत गरेर १० अर्ब रुपैयाँ सरकारको ढुकुटीमा हालें । मलको अर्थ राजनीति बुझ्ने मूलधारको जिम्मेवार मिडियालाई राम्ररी थाहा छ । दुर्भाग्य के भयो भने प्रधानमन्त्री ओली र उनका मान्छेले मलाई खेद्न सुरु गरे ।

अर्को कुरा बंगलादेशबाट मल ल्याउने नयाँ क्षेत्र मैले खोलेको थिएँ । प्रधानमन्त्रीले यसलाई सहज रुपमा लिनुपर्ने थियो, तर उनका मान्छेलाई मल ल्याउन प्रधानमन्त्री चाहिने भन्दै प्रचार गरे, खेदे । बंगलादेशले मल दिन्छु भनेको थियो, तर एक पटक तपाईंको प्रधानमन्त्रीलाई कुरा गराउनुपर्छ भनेपछि मेरो आग्रहको १० दिनपछि उहाँले फोन मात्रै गरेको हो । मल ल्याउने कुरामा मन्त्रीको हिसाबले मैले कुनै दायित्व पूरा गर्ने कुरामा मेरो कमजोरी थियो भने म सजायको भागिदार हुन अहिले पनि तयार छु ।

नयाँ निर्वाचन क्षेत्रमा आउँदा कस्तो समस्या भोग्नु परेको छ ?

जो किसानलाई मलको कु्रा छ त्यो प्रचार गरिए जस्तो छैन । मलको समस्या हिजो पनि थियो, अहिले पनि छ किसान सारै पीडित छन् । यहाँका स्थानीयले भनेको मुख्य कुरा यहाँको दक्षिणतर्फ पूर्वाधारहरू निकै कमजोर छन् । उत्तरतर्फ अव्यवस्थित बसोबासीहरू धेरै छन् । यातायात पूर्वाधार कम छ ।

दक्षिणतर्फ शिक्षा, स्वास्थ्यका पूर्वाधार कमजोर छन् भन्ने कुरा उठ्ने गरेको छ । बौद्ध विश्व विद्यालयको कुरा, बुद्धको मावली देवदह हो भन्ने कुरा विश्व सम्पदा सूचीमा दर्ता गर्ने कुरामा मुद्दाका रूपमा उठेको छ । यी समस्या समाधान गर्नका लागि घनश्याम अनुपयुक्त हो भन्ने सामान्यतः यस्तो छैन । यो सिद्धान्तको कुरा गर्छ भन्ने कुरा छ त्यो त सम्मानकै कुरा हो भन्ने बुझ्छु । तर, सिद्धान्त विकासको सिद्धान्त हुन्छ । रोजगारी सृजना नगरी हाम्रो जहाजले प्रशान्त महासागरमा झण्डा फर्फराएर हिंड्दैन ।

यदि गालीको भाषा छ भने त्यसलाई फिर्ता लिन्छु तर, सत्य यही हो । जुन घटनाले यो पुष्टि गर्छ भने ओलीजीको बारेमा हामीले पुस्तौं पुस्ता पढाउनुपर्छ ।

विकास रोजगारीबाटै सृजना हुन्छ । रोजगारीले उत्पादन बढ्छ, उत्पादनले वैभव सृजना हुन्छ त्यो वैभवको समान वितरण गर्दै समाजवादको समृद्धिको तयारी गर्दै जान्छौं । यसर्थ मैले भनेको सिद्धान्त तपाईंले भनेकै धारापानीको, बच्चाबच्चीको शिक्षा र स्वास्थ्य, बाटो र मानिस बाँच्ने रोजगारीको सिद्धान्त हो ।

तपाईं रूपन्देहीमा चुनाव लड्नुभएको छ । तर, खासमा लडाईं स्थानीय प्रतिद्वन्द्वीसँग नभएर केपी ओलीसँगै रहेछ भन्ने तपाईंको घरदैलो र भाषण सुनेपछि लख काट्न सकिन्छ । विकासको कुरा होस् वा अन्य विचार, अहिले एमालेले जारी गरेको घोषणापत्र अथवा केपी ओलीले गरेको दाबीहरू लाइन–लाइन खण्डित हुने गरी तपाईंले राजनीतिक विचार राख्नुभयो । उहाँप्रतिको असन्तुष्टि चुनावमा झनै बढी व्यक्त भएको हो ?

यो अहिले बाहिर आएको मात्रै हो । आठौं महाधिवेशनपछि नेपालको जनवादी क्रान्तिको चरण सकियो अब समाजवादी सुरु भयो । अबको बाटो वामपन्थी आन्दोलनबाट राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादमा जाने हो भनेर बहस गरेको थिएँ । ओलीजी मैले अगाडि सारेको उक्त सिद्धान्तको विरुद्धमा हुनुहुन्थ्यो । खण्डन गर्न सक्नुभएन । अहिलेसम्म पनि कसैले खण्डित गरेन । तर, उहाँलाई त्यो मन परेको थिएन ।

यत्रो फुच्चेहरूले सिद्धान्तको कुरा गरेर पार्टीको सिद्धान्त बनाउने ? भन्ने कुरामा उहाँलाई ठूलो असहजता भइरहेको थियो । त्यसपछि उहाँ पार्टीको अध्यक्ष हुनुभयो । उहाँ अध्यक्ष भएपछि मैले पार्टीको महाधिवेशनको निर्णय कार्यकर्ता पंक्तिमा लिएर जाऔं, नेकपा एमालेलाई राष्ट्रिय पूँजीको विकास गर्ने अथवा रोजगारी सिर्जना गर्ने पूँजीको विकास गर्दै समाजवादमा जाने पार्टीको रुपमा विकास गरौं भनेको थिएँ । त्यसको बाटो यो हो र यसलाई पार्टीमा लैजाऔं भनेको थिएँ । उहाँले त्यसमा इच्छा देखाउनु भएन । त्यसैमा अलि बढी विवाद सुरु भयो । त्यो कुरा म स्वयं पार्टीबाट बाहिर निस्किएपछि अलि बढी बाहिर आएको मात्रै हो ।

मैले व्यक्तिगत आक्रोशमा बोलेको हो भनेर प्रमाणित भएछ भने पनि त्यसको मैले जिम्मा लिनुपर्छ । कतिले तैंले ओलीको बढी विरोध गरिस् भन्नुहुन्छ । तर, ओलीजीले वामपन्थी आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा जे गर्नुभयो त्यसले यस्तो लोकतान्त्रिक पार्टी समेत एउटा व्यक्तिको कारणले ध्वस्त हुन सक्छ र त्यसले मुलुकको राजनीतिलाई बर्बाद पार्न सक्छ भन्ने कुरा धेरै बच्चालाई पढाउनुपर्छ । दशकौंसम्म पढाउनुपर्छ । जसले हाम्रो लोकतन्त्रमा यस्तो दुर्घटना नहोस् ।

यदि गालीको भाषा छ भने त्यसलाई फिर्ता लिन्छु तर, सत्य यही हो । जुन घटनाले यो पुष्टि गर्छ भने ओलीजीको बारेमा हामीले पुस्तौं पुस्ता पढाउनुपर्छ । लोकतन्त्र, लोकतान्त्रिक गणतन्त्रमा यो स्वेच्छाचारिता डरलाग्दो घटना हो । यसमा आक्रोश मिसिएको र भाषामा कहीं त्यस्तो छ भने मैले आत्मालोचना गर्नुपर्छ ।

आफ्नै विगतको पार्टीविरुद्ध कांग्रेसका नेताहरुसँग मिलेर चुनावमा एउटै पोडियमबाट भोट माग्दै हिंडिएला भनेर कल्पना गर्नुभएको थियो ?

ओलीजीको विरुद्धमा हामी अदालतमा जाँदा नै एक हिसाबले त्यो गर्नुपर्ने दिन आउने रहेछ भनेर अहिले विगतलाई फर्केर हेर्दा महसुस भएको छ । जुन दिन म मेरो पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट बर्खास्त गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर लोकतन्त्र बचाउँ, यसको लागि परमादेश होस् भनेर अदालत गएँ । परमादेश सांसदहरूले मागेको हो । ओलीजीले जुन परमादेश भन्नुहुन्छ त्यो हामीले मागेको हो । त्यस दिन म जहाँ जानुपर्ने अवस्था आयो र गएँ, त्यतिखेर मेरो पार्टी र पार्टीको सीमा मैले उल्लंघन गरेको हो ।

तपाईंहरूसँगको कुरामा पनि मैले संसदीय दल र पार्टीको अनुशासन उल्लंघन गरें भनेर भनेको छु । यसका लागि म आलोचित हुन र यसको दण्ड भोग्न तयार छु । तर, जसले लोकतन्त्र र संविधान, लोकतान्त्रिक स्थिरता माथि हान्यो, त्यसको हिसाबकिताब हुन्छ कि हुँदैन भन्ने मेरो प्रश्न थियो । यो मेरो लागि पनि राम्रो निर्णय होइन ।

मलाई त्यो स्ट्यान्डिङ कमिटीको बैंठकपछि धेरै रात र दिनहरू असहज भयो । म एकखालको असाधारण अन्तरविरोधबाट गुज्रिएँ । फेरि तथ्यहरूले भने ओलीजीको नियन्त्रणबाट पार्टी मुक्त हुन्छ ? हुँदैन ।

चुनावदेखि चुनावसम्मको गोलचक्करमा कहिलेसम्म फस्ने, यसले जनतालाई के फाइदा हुन्छ भनेर तपाईंले प्रश्न उठाउनुहुन्छ । तर, अब तपाईंले आफूलाई स्वतन्त्र वामपन्थी भनेर चिनारी गराउँदै हुनुहुन्छ । आगामी दिनमा कहिलेसम्म स्वतन्त्र वामपन्थी भनेर चुनावदेखि चुनावसम्म जानुहोला ?

एउटा व्यक्तिको रूपमा आजको वामपन्थी आन्दोलनको समस्याहरूको बारेमा बोल्दै आएकोले वामपन्थी आन्दोलनको बारेमा बोलिने र सुनिने मान्छेहरूको मध्ये छ पर्छु होला भन्ने लाग्छ । हाम्रो लोकतान्त्रिक व्यवस्था, लोकतान्त्रिक पार्टी, वामपन्थ, कसरी चुनावदेखि चुनावसम्म गएर जनता ढाँट्ने व्यवस्थाबाट मुक्त हुन्छ । समाजको रूपान्तरणको लागि चुनाव एउटा माध्यम हुन्छ । चुनाव समाजको लागि योगदान र समाजको गतिमा वृद्धि अथवा जनताको जीवनमा केही परिवर्तन त्यसपछि चुनाव । त्यो चुनावले जनताको जीवनमा परिवर्तन । यो चक्र कहिले चल्ला र चल्नुपर्छ भन्दै मैले चुनावदेखि चुनावसम्म मात्रै जाने कुराको समस्याको उत्खनन् गर्ने र त्यसलाई फेर्नको लागि लोकतान्त्रिक भनिने र वामपन्थी भनिने पार्टीहरूलाई प्रेरित गर्ने र उनीहरूलाई यी खतरातर्फ बताउन प्रयत्न गरिरहेको छु ।

सिंगो जीवन एउटा पार्टीको छाताभित्र बसेर बाहिर निस्किएपछि तपाईंलाई एक प्रकारको रियलाइजेसन पनि भइरहेको छ, स्वतन्त्र हुनुको सीमा त बुझ्नुभएकै छ, सामथ्र्य पनि थाहा पाइराख्नुभएको होला ?

त्यो त हो, जस्तै निर्वाचनमा छु, आफ्नो च्यानल पनि छैन, आफ्नो संरचना पनि छैन नि त तलसम्म । त्यस हिसाबले म एक्लो देखिन्छु । फेरि यो निर्वाचन हो, राजनीतिक रूपमा एउटा सहमति भएको छ, गठबन्धनका पार्टीहरू त्यसमा इमानदार देख्छु । त्यसअर्थमा मैले आफूलाई ‘टू इन वान’ भन्छु । एकातिरबाट हेर्दा म स्वतन्त्र हुँ, तर अर्कोतिर चुनावको सन्दर्भमा पाँच वटा पार्टीले समर्थन गरेका छन् । त्यसकारण यसका सप्ठ्यारा पनि छन्, अप्ठ्यारा पनि छन् ।

हिजोको दिनमा सूर्य चिह्नबाट जितेको उम्मेदवार त्रिभूज चिह्नबाट लड्दै हुनुहुन्छ, तपाईंको मुख्य प्रतिस्पर्धा सूर्य चिह्नसँगै हुँदैछ । प्रतिस्पर्धालाई कत्तिको सजिलो ठान्नुभएको छ वा कुन स्तरसम्मको आमनेसामने हुने अवस्था होला ?

चुनाव हो, मानिसहरू माहोल कस्तो बन्दै जान्छ पनि भन्छन् । आजको हिसाबले भन्ने हो भने दोस्रो/तेस्रोमा को–को प्रतिस्पर्धी हुन्, त्यो तपाईंहरू नै हेर्नुहोस्, आम रूपमा भन्ने हो भने मेरो प्रतिस्पर्धामा कोही पनि छैन । पहिलोमा प्रतिस्पर्धा नै देख्दिनँ । दोस्रो, तेस्रोमा को–को प्रतिस्पर्धी छन्, व्यस्त पनि छु, खोज्न पनि भ्याएको छैन ।

तैपनि चुनाव हो !

आजका मतदाताहरूको जुन सद्भाव छ, जसरी मैले बोलेको कुरालाई उहाँहरूले लिनुभएको छ, नेकपा एमालेकै एउटा ठूलो पंक्ति, जसले पार्टी निर्माण गरेको थियो, त्यो पूरै प्रक्रियामा साक्षी बसेको थियो, त्यसमा योगदान गरेको थियो, त्यो पंक्तिले मसँग अपेक्षा गरेको छ ।

तपाईंले यो विद्रोह गर्नुभएको छ, यसमा तपाईंलाई नै साथ देलान् भन्ने छ ?

मेरो एजेण्डाको पक्षमा छन्, मलाई साथ दिने भनेर मैले तपाईंहरू सबै छाडेर आउनुहोस् कसैलाई पनि भनेको छैन । तर, मेरो एजेण्डाको पक्षमा भने छन् ।

तपाईंलाई अन्तिम प्रश्न निर्वाचन खर्चसँग जोडेर गर्न चाहन्छु, दुई जना पूर्वप्रम (झलनाथ खनाल र प्रचण्ड)ले बोलेको सुनियो, अब त चुनाव लड्नै नसकिने भयो । एउटा वडा/पालिकामा १०औं करोड खर्च गर्नुपर्ने रहेछ, यस्तोमा कसरी लड्नु भनेको सुनियो, यस्तोमा एक जनालाई निर्वाचन आयोगले स्पष्टीकरण पनि सोध्यो, नरहरि आचार्य सक्रिय राजनीतिमा रहँदा पनि उहाँले यस्तै सन्दर्भ निकाल्नुभएको थियो । तपाईंले पटक पटक चुनाव लड्नुभएको छ, हार्नु पनि भएको छ, अहिले २०७९ सालमा चुनाव लड्न कति पैसा चाहिन्छ ?

मैले आफैंले पनि भन्दै आएको हुँ, तराईका, पहाडका पनि कतिपय, एउटा क्षेत्रमा १० करोडसम्म खर्च भएको सुन्यौं । चुनाव धेरै खर्चिलो भएको छ । असाधारण खर्चिलो भएको छ । यस्तो हुनुहुँदैनथ्यो । हिजो महिलाहरूले भनेको सुनें, ‘यो चुनाव खर्च कम भइदिने हो भने हामी पनि चुनाव लड्ने हुन्थ्यौं नि !’ यो मर्म त हामीले बुझेकै रहेनछौं । गरिबगुरुवाले कसरी चुनाव लड्न सक्यो होला भन्ने पार्टी भित्र भएको मान्छेलाई पनि पैसावाला खोज्न नपरे हुन्थ्यो होला । चुनावको खर्च कम हुने हो भने उनीहरूको पनि पालो आउँथ्यो होला । यो धेरै महत्वपूर्ण प्रश्न हो । आज चुनाव धेरै महँगो भएको छ । यति भन्दै गर्दा तपाईंले प्रश्न गर्नुहुन्छ, तँ के गरी खर्च गर्दैछस् ।

प्रदेश र संघमा हामी उम्मेदवारले खर्चको साझेदारी गरेका छौं । त्यो हाम्रो लिमिट भित्रै छ । त्यही हिसाबले जाँदा हामी लिमिट भित्रै राख्छौं । त्यो भनेको खर्च गर्न सकिने, पाइने सीमा भित्र । त्यसको स्रोत, म हिजो पनि खर्च धेरै भएको देखेको छु । प्रचारमा मेरा साथीहरू हिंडेका छन्, यसको अत्यधिक खर्च साथीहरूबाटै उठेको छ । कोही साथी आयो, मलाई २५ हजार/५० हजार दियो, यसरी पनि खर्च चलाउन सजिलो भयो, बाहिर जसले गाडी, घोडा लगेर प्रचारमा हिंडे, उनीहरूले आफ्नै खर्च गरे । तर, यही सुविधा सबैलाई प्राप्त हुँदैन, छैन ।

त्यस हिसाबले मेरो पनि ठूलो खर्च हुन्छ । हिजो पनि बढी खर्च भएको हो । तर, मैले उठाएर, एक ठाउँमा राखेर, योजना बनाएर, आफैंले व्यवस्था गरेर चलाएको गाडी–घोडा वा अरु खर्च होइनन् । अहिले त झन् म एक्लो छु, बन्द व्यापार अप्ठ्यारोमा छ । उद्योग संकटमा छ । बिजनेस चौपटमा छ । संकटमै गुज्रिएको छ । हिजो जोसँग मागिन्थ्यो, उनीहरूसँग माग्न पनि अप्ठ्यारो छ । माग्न, भन्न, प्रस्ताव नै राख्न पनि धेरै गाह्रो छ । यसले गर्दा पहिलेको भन्दा अहिले खर्च कम हुन्छ । हिजो जो–जो साथीहरूले आफैं घोडा/गाडी गुडाएर हिंड्न सक्थे, आज सक्दैनन् । त्यसकारण मेरो चुनाव खर्च पहिले भन्दा धेरै घट्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?