+

घट्दै घट्दैन तौल !

२०७९ भदौ  २० गते १३:५९ २०७९ भदौ २० गते १३:५९
घट्दै घट्दैन तौल !

काठमाडौं । बिहान-बिहान दौडिएकै छ, दिनदिनै जिम धाएकै छ, छाकैपिच्छे गाँस घटाएकै छ । तैपनि मोटोपन घट्दैन । किन ?

मोटोपन अहिले धेरैका लागि टाउको दुखाइको विषय बनेको छ । अनियमित खानपान र ऐश-आरामको जीवनशैलीले गर्दा धेरैको पेट पुट्ट निस्कन थालेको छ । यस्तो ज्यान असुहाउँदिलो हुने मात्र होइन, रोगको भण्डार पनि हुने जोखिम छ ।

मोटोपनले उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोगदेखि हृदयघातसम्मको भय बढाइदिएको छ । त्यसैले मान्छेहरु मोटोपन घटाउन आफ्नो खानामा कटौती गरिरहेका छन्, बिहान दौडिरहेका छन् । यद्यपि कतिपयको मोटोपन घटेको छैन, जस्ताको तस्तै छ । किन यस्तो हुन्छ ?

‘खाना नखाँदैमा, जिम धाउँदैमा मोटोपन नियन्त्रण हुन्छ भन्ने छैन,’ पोषणविद् डा. प्रणिती शाह भन्छिन्, ‘किनभने मोटोपन हुनुमा अरु थुप्रै कारण हुन सक्छन् ।’

कतिपयमा वंशाणुगत कारणले मोटोपन भएको हुन्छ । बुवाआमा मोटा छन् भने उनीहरुको सन्तान पनि मोटो हुन सक्छन् । यसैगरी कतिपयमा हाइपोथारायडिज्मको कारणले अचानक मोटोपन बढेको हुनसक्छ । यसैगरी हर्मोनको असन्तुलन पनि मोटोपन बढ्न सक्छ ।

‘मोटोपन के कारणले भएको हो भनेर जान्नु जरुरी छ,’ उनी भन्छिन्, ‘सोही अनुसार सही विधि अपनाएर मोटोपन नियन्त्रण गर्न सकिन्छ ।’

केही व्यक्तिहरूले स्टेरोइड जस्ता औषधिको सेवन गरिरहेका छन् भने त्यसको कारण पनि तौल बढ्छ । ‘तपाईंले व्यायाम पनि गरिरहनुभएको छ, खाना पनि सन्तुलित खानुभएको, तर तौल घटेको छैन भने केही स्वास्थ्य समस्या पो छ कि भनेर जाँच गर्नुपर्छ,’ शाह भन्छिन् ।

शाहका अनुसार व्यायाम गरिरहेको छु, डाइट पनि गरिरहेकै छु तै पनि तौल घटेन भन्ने समस्या दिएर अस्पतालमा थुप्रै व्यक्ति आइरहेका हुन्छन् । ‘यस्तोमा तौल घटेन भनेर धेरै चिन्ता लिनुपर्दैन, किनकि कसै-कसैको तौल नघटेर शरीरको आकार घटिरहेको हुन सक्छ,’ शाह भन्छिन्, ‘व्यायाम गरेको कारण उसको शरीरको बोसो घटेर मांसपेशी बढिरहेको हुन्छ ।  जसले गर्दा तौल भने नघटेको हुन सक्छ ।’

उनीकहाँ थुप्रै त्यस्ता व्यक्ति पनि पुग्छन्, जो इन्टरमिटेन्ट फास्टिङ गरिरहेका छन्, तर तौल घटेको छैन । यस फास्टिङ अन्र्तगत २४ घण्टामा १८ घण्टा केही खान हुँदैन । ‘यो फास्टिङको बारेमा मान्छेलाई राम्ररी थाहा छैन,’ उनी भन्छिन्, ‘१६ घण्टा नखाई त बस्छन् तर बाँकी आठ घण्टा जथाभावी खाइदिन्छन् । यस्तो अवस्थामा उनीहरुको शरीरमा बढी क्यालोरी जम्मा हुनपुग्छ ।’ तौल घटाउनका लागि खासमा कम क्यालोरीको सन्तुलित खाना खानुपर्ने उनको सुझाव छ ।

खाना छाड्ने कि व्यायाम गर्ने ?

जानकारहरुका अनुसार तौल घटाउन ७० प्रतिशत खानाको भूमिका हुन्छ भने ३० प्रतिशत व्यायामको । कोही व्यक्तिले फास्टिङ गरिरहेका छन्, डाइटिङ गरिरहेका छन्, खाना थोरै खाइरहेका छन्, तर तौल घटेको छैन भने खानाको सन्तुलन नमिलेको हुन सक्ने बताइन्छ । किनभने मान्छेको शरीरको अवस्था अनुसार कति खाने भन्ने कुरा तय गर्न सकिन्छ ।

महिला र पुरुषको हकमा नै कति क्यालोरी खाने भन्ने कुरा फरक हुन्छ । पुरुषले दैनिक २५ सय क्यालोरी खानुपर्छ भने महिलाले दुई हजार क्यालोरी खाए पुग्छ । तौल घटाउनु छ भने त दैनिक १५ सय क्यालोरी खानुपर्छ । यसरी दैनिक खानामा थोरै क्यालोरीको सेवन र पोषण मिलाएर खान सकियो भने स्वस्थ तरिकाले महिनामा आधा केजी तौल घटाउन सकिने ‘द व्यायामशाला’ फिटनेस ट्रेनर ममता प्रसाईं बताउँछिन् ।

‘जसरी हाम्रो दैनिक क्रियाकलापमा खाना खाने, ब्रस गर्ने कुरा समावेश हुन्छ, त्यसरी नै व्यायामलाई पनि हामीले हाम्रो दैनिक क्रियाकलापमा समावेश गर्नुपर्छ,’ उनी भन्छिन्, ‘सक्रिय दिनचर्या अपनाउन सकियो भने पनि तौल नियन्त्रण हुन्छ ।’

तौल घटाउन ध्यान दिनुपर्ने कुरा

तौल नियन्त्रण गर्न सबैभन्दा ध्यान दिनुपर्ने खानपानमा हो । स्वास्थ्य र सन्तुलित खाना खायो भने तौल विस्तारै नियन्त्रण हुँदै जान्छ । मोटोपन नियन्त्रणका लागि सक्रिय दिनचर्या आवश्यक हुन्छ । व्यायाम गर्ने, पैदल हिंड्ने लगायत शारीरिक गतिविधिलाई बढाएर तौल नियन्त्रण गर्न सकिने प्रसाईंको सुझाव छ ।

तौल नघट्नुमा अर्को कारक राम्ररी निद्रा नपुग्नु पनि हो । त्यसैले निद्रा पुर्‍याउने र शरीरलाई चाहिने जति आराम गर्दा तौल नियन्त्रण हुन्छ । धेरै तनाव लिने व्यक्तिमा मोटोपनको समस्या हुन्छ । त्यसैले कम तनाव लिंदा पनि तौल नियन्त्रण गर्न सकिने शाह बताउँछिन् ।

तौल मोटोपन
प्रणिती सिंह
लेखक
प्रणिती सिंह
क्लिनिकल बेरियाट्रिक तथा पोषणविद्

पोषण विशेषज्ञको रुपमा काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मिर्गौलालाई स्वस्थ राख्न अपनाउनैपर्ने कुरा

मिर्गौलालाई स्वस्थ राख्न अपनाउनैपर्ने कुरा

यसरी कम गर्न सकिन्छ अनुहारको चाउरीपन

यसरी कम गर्न सकिन्छ अनुहारको चाउरीपन

पिसाबमा रगत आउँछ, कारण के हुनसक्छ ?

पिसाबमा रगत आउँछ, कारण के हुनसक्छ ?

वैदेशिक रोजगारीमा रहेका श्रमिकमा के-कस्ता स्वास्थ्य समस्या देखिन्छन् ?

वैदेशिक रोजगारीमा रहेका श्रमिकमा के-कस्ता स्वास्थ्य समस्या देखिन्छन् ?

रुघाखोकीले सतायो ? फ्लुभिड हुनसक्छ

रुघाखोकीले सतायो ? फ्लुभिड हुनसक्छ

घुँडा दुखाइको उपचारमा पीआरपी थेरापी कति उपयोगी ? (भिडियो)

घुँडा दुखाइको उपचारमा पीआरपी थेरापी कति उपयोगी ? (भिडियो)