Comments Add Comment

चर्चा एनआरएनए अस्ट्रेलियाको अधिवेशन: यी हुन् अध्यक्षका दाबेदार

कसले जित्ला तटस्थ मतदाताको मन ?

८ जून, सिड्नी । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको अधिवेशन आउन एक महिना बाँकि रहँदा आगामी दुई वर्षका लागि नेतृत्व गर्ने आकांक्षिहरु मैदानमा उत्रिएका छन् ।

यसपटक बिधान अनुसार अध्यक्षको नेतृत्व न्यू साउथ वेल्स राज्य बाहेकबाट चयन गर्नुपर्ने भएकोले नेपालीहरुको दोस्रो संख्या रहेको भिक्टोरिया र तेस्रो संख्या रहेको कुइन्ल्याण्डबाट सिंगो अस्ट्रेलियाको नेतृत्व गर्ने रुचि राख्ने उम्मेदवारहरु अगाडि आएका छन् ।

खासगरी आगामी अधिवेशनका लागि भिक्टोरिया निवासी कानून ब्यबसायी, आप्रवासन परामर्शदाता तथा वर्तमान कार्यसमितिका सचिव टोनु घोताने, कुइन्स्ल्याण्ड निवासी कलाकार तथा शैशिक र आप्रवासन परामर्श दाता स्वतन्त्र प्रताप शाह, कुइन्स्ल्याण्ड निवासी अर्का आप्रवासन र शैक्षिक परामर्शदाता तथा हाल कुइन्स्ल्याण्ड राज्यका एनआरएनएका संयोजक अभिमान सिंह बस्नेत मैदानमा उत्रिसकेका छन् ।

रोचक प्रसङ्ग यो छ कि टोनु घोताने र स्वतन्त्र प्रताप शाह अघिल्लो कार्यकालका लागि सचिव पदका प्रतिस्पर्धी थिए ।

स्वतन्त्र छविका यी दुवै युवा नेपालको राजनीतिक ध्रुविकरणको सिको यहाँ पनि हुन थालेपछि वाम तथा गैरवाम ध्रुवको उम्मेदारका रुपमा उनीहरु चुनावमा भिडे ।

नेपालको राजनीतिको अस्ट्रेलियाली परिवेशमा विश्लेषण गर्ने हो भने यहाँ क्रियाशील र गैरआवासीय नेपालीहरुको राजनीतिक आस्थाको समेत नेतृत्व गरिरहेकाहरु सबै वाम कित्ता मै पर्दछन ।

किनकि सयौ वर्षको संघर्षको इतिहास भएका नेपालका राजनीतिक दलहरु कन्जरभेटिभ कित्ताका हुन सक्दैनन् । र विश्वभर छरिएका तिनका समर्थकहरु पनि गैरवाम होइनन् ।

राजनीतिक ध्रुविकरणको छायाँ

त्यसैले हुनसक्छ अस्ट्रेलियामा स्थायी बसोबास तथा नागरिकता लिइसकेका नेपालीहरुको बहुमत राजनीतिक रुपमा यहाँको लेबर पार्टीमा क्रियाशील छन् । तर, गैरआवासीय अभियानका खास समर्थक प्रवासी नेपालीहरुवीचको ध्रुविकरणको छायाँ प्रवासी नेपालीहरु सामाजिक संस्थाहरुमा पर्दा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । यसले गर्दा आत्मविश्वाशी तथा क्षमतावान नेतृत्व निर्माण हुन नसकेको गुनासो पनि सुनिन्छ ।

आगामी दुई बर्षे कार्यकालको लागि पनि यहाँ ध्रुविकरण सुरु भैसकेको छ । मतदाताहरुका लागि नेपालको राजनीतिक छायाँबाट तटस्थ नेतृत्व प्राप्त गर्न यो पटक पनि मुस्किल नै छ ।

स्वतन्त्र प्रताप शाह र टोनु घोताने दुवैले आफ्नो बिजयको आधार अघिल्लो कार्यकालको एलाइन्सलाई नै मानेका छन् । यद्यपी दुवै उम्मेदवारले तटस्थ मतदाताहरुको मन जित्न र मत प्राप्त गर्न कोसिश भने गरिरहेको देखिन्छ ।

तटस्थ मतदाताको मन कसले जित्न सक्छ ?

अस्ट्रेलियाको नेपाली समाजमा परिचित यी अनुहारहरुले आफ्ना के कस्ता अजेण्डाहरु अगाडि ल्याउछन् र तटस्थ मतदाताको मन जित्छन त्यो भने आगामी एक महिनाको उनीहरुको पहलले बताउने छ ।

अस्ट्रेलियाको गैरआवासीय नेपाली संघ विश्वभरिका नेपालीहरुको बलियो संस्था मानिन्छ । नेपालमा सामान्य अवस्थामा नियमित समाजसेवा तथा रास्टि्रय विपत्तहरुमा ठूलो सहयोग र स्वयमसेवा गर्नेमा चर्चित छ ।

हाल विश्वभरिका गैरआवासीय नेपालीहरुको नेतृत्व अस्ट्रेलियाका शेष घलेले गरिरहेका छन् भने गैरआवासीय नेपाली संघ अन्तर्गतको विश्वभरिका युवाहरुको संयोजक विजय पोखरेल पनि अस्ट्रेलिया कै हुन् ।

नेपालमा दुई वर्ष अघि गएको भुकम्पको केन्ऽबिन्दु गोर्खाको लाप्राकमा विश्वभरिका नेपालीहरुको माया र सद्भावको चिनोका रुपमा निर्माण हुँदै गरेको नमूना बस्तीको लागि ककसले के कस्तो सहयोग तथा स्वयमसेवा गरिरहेका छन् त्यो पनि मतदाताहरुले निगरानी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment