Comments Add Comment

‘सदस्य सचिवज्यू, पहिले खेल्ने ठाउँ बनाउनुस्’

सातौं राष्ट्रिय खेलकुदका स्वर्ण पदकधारीलाई मात्रै पुरस्कार

२५ जेठ, काठमाडौं । गत पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलका विभिन्न शहरमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको ५ महिना १० दिनपछि बिहीबार राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय कीर्तिमानधारी र स्वर्ण पदक विजेता खेलाडीहरुलाई पूर्वघोषित नगद पुरस्कारले सम्मानित गर्‍यो ।

सातौं राष्ट्रिय खेलकुदका लागि छुट्याइएको मध्ये ३ करोड बजेट अझै निकासा नभएको कारणसहित राखेपले स्वर्ण जित्ने र राष्ट्रिय कीर्तिमान राख्ने खेलाडीलाई मात्र पुरस्कार वितरण गरेको हो । रजत र काश्य बिजेताले पनि छिट्टै पुरस्कार पाउने उसले बताएको छ ।

सातौं राष्ट्रिय खेलकुदमा समावेश २९ खेलका स्वर्ण पदकधारी खेलाडीहरु एकल खेलतर्फ २६० जनालाई १५ हजार र समुहिक खेलतर्फ ४२८ जनालाई ७ हजारका दरले पुरस्कार दिइयो ।

त्यस्तै राष्ट्रिय कीर्तिमान बनाएका भारत्तोलनका ५, पौडीका २ र एथ्लेटिक्स तथा आर्चरीका एक एक गरी नौ खेलाडीले २५ हजारका दरले पुरस्कार पाए ।

पुरस्कार वितरण समारोहमा स्वर्ण र कीर्तिमानधारी खेलाडीहरुसामू राखेप सदस्यसचिवले निक्कै महत्वाकांक्षी अभिव्यक्ति दिए ।

एउटै प्रतियोगिताको पदक बिजेता खेलाडीहरुलाई एकै समारोहमा पूर्व घोषित पुरस्कार दिन नसकेको राखेपका सदस्यसचिव विष्टले अर्को राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगिताको पदक बिजेतालाई पुरस्कार रकम बढाउने घोषणा गरे ।

करिव आधा घण्टाको भाषणमा राजनीति र आन्तरिक विवादले ग्रसित नेपाली खेलकुदको नीतिगत र पूर्वाधार सुधारका कुरा छाडेर सदस्यसचिव विष्टले खेलाडीलाई क्षणिक खुसी तुल्याउन समय खर्चिए ।

राष्ट्रिय खेलकुदमा स्वर्ण, रजत र काश्य जित्ने खेलाडीको पुरस्कार रकम बढाएर क्रमसः २५, १५ र १० पुर्‍याउने घोषणा गरेका सदस्यसचिवले आठौं राष्ट्रिय खेलकुद २०७५ साल मंसिरभित्रै हुने दावी गरे ।

सदस्यसचिवले यसो बताइरहँदा अगाडि रहेका खेलाडीहरु कानेखुसी गर्दै थिए, ‘सातौं त तीन चार पटक सरेको थियो, आठौंको के आशा ?’

उनले नेपालमै हुने १३औं साग गेम्सका लागि तयारी सुरु गर्न खेलाडीलाई निर्देशन दिए । उनले अबदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा कीर्तिमान बनाउने खेलाडीलाई ५० हजार पुरस्कारको घोषणा गरे । सागमा स्वर्ण जित्नेलाई क्रमसः १० हजार माषिक भत्ता दिने घोषणा गरे । यो आगामी आर्थिक वर्षदेखि सुरु गरिने पनि उनले बताए ।

त्यस्तै एशियन गेम्समा स्वर्ण, रजत र काश्य बिजेता खेलाडीलाई क्रमसः ३०, २० र १० हजार भत्ता प्रदान गर्ने घोषणा गरे । सदस्य सचिव विष्टले ओलम्पिकमा पदक बिजेता खेलाडीलाई माषिक १ लाख भत्ता उपलब्ध गराउनेसमेत भन्न भ्याए ।

मञ्चमा रहेर सदस्यसचिवले भत्ता र सुविधाको ‘ठूला’ कुरा गरिरहँदा पुरस्कार ग्रहणका लागि उपस्थित मध्यामाञ्चलकी खेलाडीले भन्दै थिइन्, ‘यो सबै त पछिको कुरा हो, पहिला खेल्ने ठाउँ त हुनुपर्‍यो नि !’

विभागीय खेलाडीहरु नियमित प्रशिक्षण र सुविधासम्पन्न पूर्वाधारमा रहे पनि बिभागबाहेकका खेलाडीहरु भूकम्पप्रभावित रंगशालामा अभ्यास गर्न बाध्य छन् ।

आगामी दुई वर्ष खेलकुदको स्वर्ण युग

एकमात्र अन्तर्राष्ट्रिय रंगशाला भूकम्पले क्षति पुगेको दुई वर्ष बितिसक्दापनि पुनर्निमाण नभएर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजन ागर्न नसक्ने अवस्थामा रहेको नेपाली खेलकुदका लागि आगामी दुई वर्ष स्वर्ण युग हुने उद्घोष सदस्यसचिव विष्टको छ ।

अन्तर्राष्ट्रिय कवर्डहल, पौडी पोखरी, फुटबल रंगशाला लगायत आवश्यक पूर्वाधार जीर्ण रहेको नेपाली खेलकुदले आगामी वर्ष दक्षिण एशियाली खेलकुदको आयोजना गर्दैछ । त्यतिमात्रै होइन सदस्यसचिव विष्टका अनुसार फुटबल, तेक्वान्दो, कराते, बास्केटबल लगायतका खेलहरुको अन्तर्राष्ट्रिय प्रतियोगिता राखेपले आयोजना गर्नेसमेत बताए ।

नेपालको सबैभन्दा आकषिर्त पेसा खेलकुद हुने सदस्यसचिवले उद्घोष गरेका छन् । ‘डाक्टर, इञ्जिनियरजस्तै हरेक नेपालीका अबिभावकले अब आफ्ना सन्तान खेलाडी बनाउन चाहन्छन्, यसका लागि खेलाडीलाई खेलेर बाँच्ने आधार हामी बनाउँछौं ।’ सदस्यसचिवले भने ।

उनले खेलकुद विश्वबिद्यालय र खेलकुद अस्पताल स्थापना गरी खेलाडीलाई मात्र होइन उनका परिवारलाई पनि निशुल्क शिक्षा र स्वास्थ्यको सुविधा उपलब्ध गराउने निक्कै महत्वाकांक्षी योजना सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment