नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमालको आज जन्मदिन हो । उनी आजबाट ५३ वर्ष लागेको चर्चा चलेपनि उनको उमेर यही नै हो भन्न सकिदैन । पाल्पाको तानसेनमा जन्मिएका हमाल सबैभन्दा धेरै चलचित्रमा अभिनय गर्ने नायकको रुपमा चिनिन्छन् ।
दुई दशक भन्दा बढी समय चलचित्र क्षेत्रमा बिताएका हमालले १७० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । अध्ययनशील नायकको रुपमा चिनिने हमाल सम्पन्न परिवारका सदस्य हुन् ।
स्व. दीपक रायमाझी निर्देशित चलचित्र ‘युगदेखि युगसम्म’बाट अभिनयमा प्रवेश गरेका हमालले ‘कसम, गोरेटो, अपराध, परिभाषा, देउता, भाउजु, बसन्ती, अल्लारे’ लगायत १७० बढी चलचित्रमा काम गरेका छन् । हमालकै भनाईमा उनी जम्मा दुई चलचित्रवाट सन्तुष्ट छन् । आफुले काम गरेको मध्ये ‘देउता र बसन्ती’ उनलाई मन परेको चलचित्र हो ।
३ वर्षअघि मोडल मधु भट्टराइसँग विवाह गरेका हमाललाई चलचित्र प्राविधिक संघले महानायकको उपाधि दिएको थियो । उनले दर्जनौ सम्मान एवं पुरस्कार पाएका छन् ।
हमाल अभिनयमा नआएको भए के हुन्थ्यो ?
चलचित्र क्षेत्रमा नायक हमालको वारेमा बेला बेलामा बहस हुन्छ । यदि हमाल नेपाली चलचित्र क्षेत्रमा नआएको भए के हुन्थ्यो होला ? चलचित्र उद्योग उभो लग्थ्यो वा ध्वस्त हुन्थ्यो । दुबै थरि मत ब्यक्त हुन्छन् । एक समय हमालले ‘भकारीमा नाम्लो लाएर बोके’ भन्नेहरु समेत छन् ।
राजेश हमालकै कारण नेपाली चलचित्र ब्यबसायिक गतिमा अघि बढ्यो भन्ने भनाइमा एकथरि निर्माताहरु असहमत छन् । हमाल भएपछि जस्तोसुकै चलचित्रले पनि लगानी उठाउँछ भन्ने मान्यता राख्नेहरुका कारण नेपाली चलचित्र सापेक्षिक प्रगती गर्न सकेन भन्नेहरु पनि छन् ।
हमाल अभिनित दर्जनौ चलचित्र असफल भए पनि हमालको फोटो पोष्टरमा भएकै कारण बितरकले चलचित्र किन्नेक्रम दशकसम्म चल्यो ।
पछिल्लो समय हमाल अभिनयमा त्यति सक्रिय छैनन् । उनले अभिनय गरेको ‘बागमती, शकुन्तला’ जस्ता चलचित्र ब्यवसायिक रुपमा असफल भएपछि पछिल्लो समयका निर्देशकका रोजाइमा उनी पर्न छाडेका छन् ।
विभिन्न स्क्यान्डलमा समेत जोडिएका हमाल अभिनयमा आउनु अघि र्याम्प मोडलिङमा सक्रिय थिए । केही विज्ञापनमा अभिनय गरेका हमालले तीजको गीतमा समेत अभिनय गरेका छन् ।
नायक हमालको नाम राजनीति, कुटिनितिक नियोगदेखि विदेशमा समेत उचो रुपमा लिइन्छ । तर, हमालले पछिल्ला केही बर्षमा चलचित्र छानेर खेल्न नजान्दा उनको करिअर अहिले छायाँमा छ ।
तर, पनि नेपाली चलचित्रका चर्चित नायकको नाम हरेक क्षेत्रमा सम्मानका साथ लिइन्छ । नायक राजेश हमाललाई जन्मदिनको अवसरमा, हाम्रो तर्फबाट शुभकामना ।
प्रतिक्रिया 4